सुनसरीस्थित धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी हुने पक्का भएको छ।
लौरो चुनाव चिह्न लिएर उठेका साम्पाङले एकातिर नेपाली कांग्रेस र माओवादीको गठबन्धन र तथा अर्कातिर नेकपा एमालेको चुनौती छिचोल्दै मेयरमा जित पक्का गरेका हुन्।
आइतवार बिहान साढे १० बजेसम्म ४६ सय मत गन्न बाँकी रहँदा साम्पाङले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४१ सय ५९ मतले पछि पारेका छन्।
साम्पाङले १८ हजार ४७६ मत पाएका छन्। गठबन्धनका राईले १४ हजार ९९६ मत प्राप्त गरेका छन्। एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत ल्याएका छन्।
बाँकी ४१ सय मत गन्दा यो अन्तर अझै बढ्ने अवस्था छ। बाँकी सबै मत कांग्रेसका किशोर राईलाई मात्रै जाने सम्भावना नहुँदा साम्पाङको जित पक्का भएको हो। साम्पाङले एमाले उम्मेदवार मञ्जु भण्डारीलाई ६ हजार ३३३ मतले पछि पारेका छन्।
धरानमा यो स्थानीय तह निर्वाचनमा ६२ हजार ८९७ मत खसेको थियो। अहिलेसम्म ५८ हजार २७७ मत गनिसकिएको छ।
पछिल्लो समय धरानको वडा नं. १६ र १७ को मात्रै मत गन्न बाँकी छ। तर दुवै वडामा साम्पाङले बलियो पकड बनाएका छन्।
उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा जितजनिक छन्। बेघाले १८ हजार ८६४ मत ल्याएका छन्। एमालेका उम्मेदवार पदम इस्बोले १६ हजार ५८१ मत ल्याएका छन्।
Shares

प्रतिक्रिया