ad ad

निर्वाचन विशेष


झापामा ओलीलाई ‘हिँड्न नजान्ने बाच्छो’ को जोरलात्ती

झापामा ओलीलाई ‘हिँड्न नजान्ने बाच्छो’ को जोरलात्ती

सीताराम बराल
जेठ ६, २०७९ शुक्रबार १८:५२, काठमाडौँ

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएपछि शीतल निवासमा सुरक्षा सल्लाहकारको जिम्मेवारी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भूतपूर्व सैनिक दाजु नेत्रबहादुर थापाले पाएदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओली र ‘राप्रपा नेपाल’ का अध्यक्ष कमल थापाबीच राजनीतिक ‘प्रेम’ बढेको चर्चा चल्दै आएको हो। 

यसको पुष्टि स्थानीय तह निर्वाचन– २०७९ मा भयो। राप्रपा अध्यक्षमा पराजित भएपछि ‘राप्रपा नेपाल’ लाई पुनर्जीवित गरेका अध्यक्ष थापाले यो निर्वाचनमा एमालेलाई एकपक्षीय रुपमा सघाउने घोषणा गरे। थापा यति धेरै उदार बन्दा एमालेले राप्रपा नेपाललाई चाहिँ कुन स्थानीय तहको प्रमुखका लागि उदारता अपनायो, त्यो चाहिँ कत्ति खोज्दा पनि सञ्चारकर्मीहरूले अझै जानकारी पाउन सकेका छैनन्।

सायद त्यसैले होला, हेटौडा उपमहानगर पालिकामा एमाले उम्मेदवारहरूले थापाको साथ पाउन पाउन सकेनन्। थापाको साथ एमालेलाई हुँदो हो त, सधैँ एमालेले जित्दै आएको यो उपमहानगर एमालेले यसपटक गुमाउनुपर्ने थिएन। राप्रपाबाट मेयरका उम्मेदवार दीपकबहादुर सिंहले झण्डै १७ हजार मत प्राप्त गर्ने थिएनन्।  

थापाप्रति ओलीको लगावकै संकेत थियो– गत पुषमा सम्पन्न नेपाली कांग्रेसको दशौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘भर्खर जन्मेको हिँड्न नजान्ने बाच्छो’ भन्दै कटाक्ष गरेका थिए। 

राप्रपा महाधिवेशनमा लिङदेनले थापालाई पराजित गरेको रिस ओलीले कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा पोखेका थिए। ओलीको कटाक्षको अर्थ ‘भर्खर राप्रपा अध्यक्ष भएका लिङदेन राजनीतिक अनुभवका दृष्टिले काँचै छन् र उनी कमल थापाका अघिल्तिर केही पनि होइनन्’ भन्ने थियो। 

तर, ओलीले आलोकाँचो ठानेका तिनै लिङदेन नेतृत्वको राप्रपाले ओलीको गृहनगर झापाको दमकको स्थानीय तह निर्वाचनमा एमालेलाई नमिठो झड्का दिएको छ। २०४९ देखि एमालेले विजय हासिल गर्दै आएको ओलीको गृहनगरको मेयरमा राप्रपा उम्मेदवार राम थापालाई विजय गराएर लिङदेनले ओलीले खिस्याएजस्तो आफू ‘भर्खर जन्मेको हिँड्न नजान्ने राजनीतिक बाच्छो’ होइन भन्ने प्रमाणित गरेका छन्। 

गृहनगर दमकमा पराजय ओलीका लागि विजुली घोडाको जोरलात्ती जस्तो झड्का भएको छ। ओलीले नै मेयरमा ‘ग्रुम’ गर्दै लगेकी उम्मेदवारलाई पराजित गर्दै राप्रपा उम्मेदवार राम थापा ओलीकै घर–आँगन दमकमा १७ हजार ५ सय २५ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९ सय ६६ मत प्राप्त गरेकी छन्। 

०५४ देखि नै दमकको मेयर रहेका एमाले नेता रोमनाथ ओली बुढ्यौलीतर्फ लाग्दै गएपछि ओलीले निवर्तमान मेयर गीतालाई योजनावद्ध अघि सार्न थाले थिए। उनको व्यक्तित्व विकासका लागि सक्दो अवसर दिए। 

यसबाट ओलीले दमक नगरपालिकाको नेतृत्वलाई कति महत्व दिएका थिए भन्ने बुझ्न सकिन्छ। 

ओली दोस्रो पटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २०७५ भदौमा न्यूयोर्क (अमेरिका) जाँदा नेपाली प्रतिनिधिमण्डलको सदस्यको जिम्मेवारी गीताले पाउनुको कारण व्यक्तित्व विकासका लागि ओलीले दिएको अवसर नै थियो। 

गीताले राष्ट्रसंघीय महासभाका लागि मात्र प्रतिनिधिमण्डलको सदस्यको जिम्मेवारी प्राप्त गरिनन्, कोष्टारिका भ्रमणमा समेत सहभागी भइन्।

‘दमकको आगामी नेतृत्व गीताले लिन्छिन्, त्यसका लागि उनी सक्षम छिन्’ भन्ने सन्देश दिन ओलीले दमकमा उपमेयरको जिम्मेवारीमा रहेकी गीतालाई अमेरिका–कोष्टारिका भ्रमणको दलमा सहभागी गराएका थिए। 

प्रधानमन्त्री, त्यसमाथि दुई तिहाईका– त्यतिधेरै शक्तिशाली प्रधानमन्त्रीको विश्वास हासिल गरेपछि दमकका मतदातालाई ‘गीता चानचुने मेयरका उम्मेदवार होइनन् है !’ भन्ने पर्ने नै भयो। 

तर, ओलीले तीन वर्षअघिदेखि योजनावद्ध रुपमा अघि बढाएकी गीताजस्ता शक्तिशाली उम्मेदवारलाई राप्रपा उम्मेदवार थापाले पराजित गरे। 

जसरी गीताको पराजयले झापामा ओलीलाई ‘धक्का लाग्यो’ भन्न मिल्छ, त्यसैगरी राप्रपा उम्मेदवार थापाको विजयमा राप्रपा अध्यक्ष लिङदेनलाई क्रेडिट (जस) दिन मिल्छ। 

आफ्नो निर्वाचन क्षेत्र झापा– ३ मा पर्ने, २०७४ मा राप्रपाले अध्यक्ष–उपाध्यक्ष दुबैमा विजय हासिल गरेको झापाको कचनकबल गाउँपालिकामा राप्रपालाई पराजित गर्न कांग्रेसले एमालेसँग गठबन्धन गरेकाले झापाका कांग्रेसीसँग पक्कैपनि लिङदेनलाई झोँक चलेको होला। 

तर, यो झोँकका बाबजुद कांग्रेससँग गठबन्धनका लागि लिङदेनले ‘हरियो झण्डा’ नउठाएको भए दमकमा राप्रपा–कांग्रेस–माओवादी–एकीकृत समाजवादी सहितको गठबन्धन निर्माण हुने थिएन। 

र, गठबन्धन निर्माण नभएको भए दमकको मेयरमा राप्रपा उम्मेदवार थापाले विजय हासिल गर्ने थिएनन्। 

ओलीले ‘भर्खर जन्मेको बाच्छो’ जस्तो ठाने पनि झापाको स्थानीय राजनीतिमा पार्टी प्रभाव विस्तारका लागि ओली भन्दा लिङदेन बढी सफल देखिएका छन्। त्यही सफलताको सिढी उक्लँदै लिङदेनले कमल थापाजस्ता ‘हेबिवेट’ नेतालाई समेत पराजित गर्दै राप्रपा अध्यक्षसमेत बनेका छन्। 

‘झापा विद्रोह’ स्थल झापा एक समय एमालेको लालकिल्ला मानिन्थ्यो। तर, त्यहाँ एमालेको प्रभाव घट्दो छ। लिङदेनले भने पार्टीको प्रभाव बढाउँदै लगेका छन्। कचनकबलमा राप्रपाविरुद्ध कांग्रेस–एमालेबीचको गठबन्धनबाट झापामा लिङदेनको प्रभाव विस्तारको संकेत मिल्छ। 

कतिसम्म भने, वामगठबन्धनका बाबजुद २०७४ मा झापा–५ मा आफ्नो विजय सुरक्षित बनाउन ओलीले झापा– ३ लिङदेनलाई छाडिदिएका थिए। 

देशभर कतै नरहेको वाम–राप्रपा गठबन्धनका कारण झापा– ३ बाट लिङदेन सहजै प्रतिनिधि सभामा निर्वाचित भए। 

विगतले भन्छ, ‘ओली’, ‘सरकार’ र ‘अवसर’ भनेपछि ‘बरबझियाको उही पुरानो बाजेको पसल’ को पेडाले जसरी कमल थापाको मुख रसाइहाल्छ। 

सत्ता टिकाउन ओलीले गतसाल जसरी सानातिना पार्टी र एक्लादुक्ला सांसदहरुलाई समेत मन्त्री पदको अफर गरिरहेका थिए, लिङदेनलाई पनि अफर गरेनन् होला भन्न सकिन्न। 

‘राजनीतिक प्रेमी’ थापासँगपनि राप्रपाको एक सांसद (लिङदेन) को सहयोगका लागि अनुनय गरे होलान्। तर, लिङदेन भने चुकेनन्।  

त्यही कारण होला– ‘भोटचाहिँ एमालेको पाएर जित्ने, ओलीलाई अप्ठेरो परेका बेला चाहिँ विपक्षीलाई दिने !’ भन्दै ओलीका ‘साइवर सेना’ बाट सामाजिक सञ्जालमा लिङदेनले भक्कुमार गोदाई खाइरहेका थिए। 

चुनावमा जीत–हार बाक्सामा खसेका भोटका आधारमा हुने हो। दमकका बाक्सामा खसेका भोटमध्ये राप्रपाको तुलनामा पक्कै पनि एमालेकै मत बढी होलान्। 

तर, मत धेरै हुँदैमा चुनावमा जीत भइहाल्दैन। ‘भोट’ र ‘कला’ दुबै मिसियो भनेमात्र जीतको परिणाम आउने हो। यसको अनुभव ओलीलाई २०७४ को चुनावबाट भएकै हो।  

लिङदेनको पार्टीको तुलनामा दमकमा ओलीको पार्टीको भोट धेरै थियो। तर, लिङदेनसँग भोटका अलावा ‘कला’ पनि रहेछ।

त्यो ‘कला’ प्रयोग गरी लिङदेनले दमकमा शक्तिशाली गठबन्धन निर्माणको बाटो खुला गरे। कांग्रेस–माओवादी–एकीकृत समाजवादीलाई राप्रपा नेतृत्वको गठबन्धनमा सामेल गर्नु लिङदेनको चानचुने सफलता थिएन। 

परिणाम– त्यो ‘भर्खर जन्मेको, हिँड्न नजान्ने बाच्छो’ को लात्तीबाट ओली दमकका ढलेका छन्। 

ओलीको गृहनगर दमकमा कांग्रेस र माओवादीसँग मिलेर लिङदेनले एमालेलाई पल्टा खुवाउँदा लिङदेनले आफ्नै पालिकामा भने राप्रपा उम्मेदवारलाई ठूलो मतान्तरका साथ विजयी गराएका छन्। 

हल्दीबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्रप्रसाद लिङदेन ६ हजार ८ सय ५६ मतसहित अध्यक्षमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरकुमार गिरीले ६ हजार ६ सय ६६ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन्। ५ हजार ७८ मतसहित राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तिदेवी गौतमले ४ हजार १ सय ६ मत ल्याएकी छन्। 

अर्थात्, दमक र हल्दीबारीको चुनावी परिणामबाट लिङ्देन नेतृत्वको राप्रपाले झापामा ओलीलाई जोरलात्ती दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .