धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।
नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका हुन्।
निर्वाचित महतोले ७ हजार ३१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन्।
त्यसैगरी उपमेयरमा पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन्।
उपमेयरमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन्।
२०७४ सालको चुनावमा मिथिला नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष नेकपा एमालेले जितेको थियो। यसपटक पार्टीभित्रबाटै अन्तरघात भएपछि नेतृत्वमा पार्टीले हार ब्यहोर्नु परेको मेयरका प्रत्यासी राजाराम पक्षको आरोप छ।
११ वटा वडा रहेको मिथिला नगरपालिकामा यसपटक पाँचवटा वडामा नेकपा एमाले, चारवटामा नेपाली कांग्रेस र दुईवटा वडामा नेकपा एकीकृत समाजवादीले जितेको छ।
Shares

प्रतिक्रिया