ठूला महानगरजस्तै सुरुदेखि नै चर्चामा रहेको गोर्खाको पालुङटार नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
२०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको जसपा अध्यक्ष डा.बाबुराम भट्टराईको गृहनगरमा मेयर र उपमेयर दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।
मतगणनाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तन ६ हजार ७२ मतका साथ विजयी भएका छन् । उनले जसपा–एमाले गठबन्धनबाट मेयरका उम्मेदवार प्रेम गुरुङ्गलाई ३ सय ५५ मतान्तरले पराजित गरेका हुन्।
चिन्तनले ६ हजार ७२ मत प्राप्त गरेका छन् भने जसपाका गुरुङ्गले ५ हजार ७ सय १७ मतमात्र प्राप्त गरेका छन् । नेपाली कांग्रसका दीपकबाबु कँडेल ४ हजार ९ सय ९७ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।
कांग्रेस उम्मेदवार कँडेल २०७४ को निर्वाचनमा पालुङको मेयरमा विजयी भएका थिए। उनले त्यो बेला ६ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । निटकतम प्रतिद्वन्द्वी चिन्तनले विजयी कँडेल भन्दा २ सय ७ कम अर्थात् ४ हजार ९ सय ९१ मत प्राप्त गरेका थिए।
यसपटकको निर्वाचनमा पालुङ्गटारमा नेपाली कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै प्रतिस्पर्धामा थिए भने जसपा–एमालेबीच गठबन्धन भएको थियो । गठबन्धनमा जसपाले मेयर र एमालेले उपमेयर पाएको थियो । तर, गठबन्धनका बाबजुद माओवादी केन्द्रले यहाँको मेयर–उपमेयर दुबैमा विजय हासिल गर्यो।
२०७४ को निर्वाचनमा मेयरमा तेस्रो स्थानमा रहेको जसपा (तत्कालिन नयाँशक्ति) का उम्मेदवार अशोक देवकोटाले ३ हजार ९ सय ७६ र एमाले उम्मेदवार जुद्धविलाश भण्डारीले २ हजार ४ सय १० मत प्राप्त गरेका थिए । तर, त्यो बेला प्राप्त मतका आधारमा गरिएको गठबन्धनले यसपटक जसपा–एमालेलाई परिणाम दिन सकेन।
आफ्नो गृहनगर भएकाले पालुङ्टार नगरपालिकाको परिणाम जसरीपनि आफ्नो पोल्टामा पनर्न जसपा अध्यक्ष डा.भट्टराई प्रयासरत थिए । २०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेपनि सत्तागठबन्धनमा डा भट्टराईले यो नगरपालिकामा जसपाको नेतृत्वका लागि अन्तिमसम्म अडान लिइरहे।
भट्टराईको जोडबलपछि उम्मेदवारी दर्ता गरिसकेका कांग्रेस उम्मेदवार कँडेलले उम्मेदवारी फिर्ताको घोषणा त गरे । तर, मनोनयन फिर्ताको समय समाप्त भइसकेकाले उनको उम्मेदवारी कायम रहिरह्यो।
त्यसैबीच जसपाले गोर्खा नगरपालिकामा माओवादी केन्द्रसँग गठबन्धन गर्यो । यसको असर पालुङ्गटारमा कांग्रेस–जसपा गठबन्धनमा पर्यो । उम्मेदवारी कायमै रहेको अवस्थामा गोर्खा नगरपालिकामा जसपाले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि बिच्किएको कांग्रेसले पालुङ्टार जसपालाई नछाड्ने बतायो।
त्यसपछि डा.भट्टराईले एमालेसँग गठबन्धनको प्रयास सुरु गरे । मौन अवधि सुरु हुनु अघिल्लो दिन जसपा–एमालेबीच गठबन्धन गराए पनि । तर, एमालेसँगको गठबन्धनबाट पनि डा.भट्टराईले पालुङ्टारमा जसपाको पक्षमा परिणाम निकाल्न सकेनन्।
पालुङ्गटारको प्रमुखमा मात्र होइन, उपप्रमुखमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डे विजयी भएकी छन् । पाण्डेले ५ हजार ५ सय ७९ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ प्राप्त गरेकी छन्।
जसपासँग गठबन्धन गरेको एमाले उम्मेदवार पार्वतीदेवी पाठक ४ हजार २ सय ८१ मतका साथ तेस्रो स्थानमा छिन्।
गोर्खाका ११ स्थानीय तहमध्ये अब चुननुब्री गाउँपालिकाको परिणाम आउनमात्र बाँकी छ । यहाँपनि माओवादी केन्द्रका उम्मेदवार दुबै पदमा अग्रस्थानमा छन् । गणना सम्पन्न भएका १० मध्ये ८ पालिकामा माओवादी केन्द्रले प्रमुखमा विजय हासिल गरेको छ।
Shares

प्रतिक्रिया