ad ad

निर्वाचन विशेष


बालेनलाई जिताउला त काठमाडौंको भित्री बस्तीले? यस्तो छ ३२ वडाको शक्ति सन्तुलन

बालेनलाई जिताउला त काठमाडौंको भित्री बस्तीले? यस्तो छ ३२ वडाको शक्ति सन्तुलन

अरुण बराल र केशव सावद
जेठ ३, २०७९ मंगलबार २२:४३, काठमाडौँ

काठमाडौं महानगरमा मतान्तर फराकिलो पार्दै लगेका बालेन शाहले मेयर पदमा जित हात पार्लान् ? कुल ३२ वडा रहेको महानगरमा अहिलेसम्म १० वटा वडामा मात्रै मतगणना भइरहेको छ। १ लाख ८९ हजार ४२० मत खसेको महानगरमा मंगलबार साँझसम्म ५० हजार पनि गणना भइसकेको छैन। झण्डै डेढलाख मत गन्नै बाँकी छ।

अर्को पनि तथ्य के छ भने महानगरका बाहिरी वडाहरुबाट मतगणना सुरु भएको छ। भित्री वस्तीमा रहेको नेवार बाहुल्य भोट बालेन, केशव र सिर्जनामध्ये कसलाई बढी जान्छ, उसैले चुनाव जित्ने देखिन्छ। 

खासगरी काँग्रेस र एमालेका नेताहरु कोर बस्तीको भोट आफूलाई आउने आशमा देखिन्छन्। तर, १० वटा वडाको भोटको ‘प्याट्रन’ हेर्दा  एमाले र कांग्रेसकै भोट बाटेर बालेनले अग्रता लिइरहेको देखिन्छ। 

पार्टीगत भोट काट्न बालेन सफल भइसकेका छन्। अब उनले कोर नेवार वस्तीको भोट काट्छन्, काट्दैनन्, हेर्न बाँकी छ। पुराना दलका नेताहरु काठमाडौंको चुनावमा नेवार समुदायको भोट निर्णायक हुने दाबी गर्छन्। कांग्रेस र एमाले दुबैले नेवार समुदायबाटै उम्मेदवार उठाएको अवस्थामा गैर नेवार समुदायका उम्मेदवार बालेनले नेवार वस्तीबाट कस्तो भोट पाउलान्, यसले नै हारजितलाई निश्चित गर्ने देखिन्छ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, २९, ३०, ३१ र ३२ नम्बर वडाहरुमा भएको मतगणनामा बालेन शाहले फराकिलो अग्रता लिइरहेका छन्। तर, ३२ वटा वडाहरु रहेको महानगरका भित्री नेवार बस्तीहरुको मत गणना हुनै बाँकी छ। बालेनले चुनाव जित्नका लागि ती बस्तीहरुमा पनि अग्रता लिनुपर्ने हुन्छ।

हालसम्म मतगणना भएका वडाहरुमध्ये १ र २ नम्बर वडामा एमालेले जितेको छ। तर, एमालेले जितेकै ती वडामा मेयरको मतचाहिँ केशव स्थापितको भन्दा बालेनको बढी देखिएको छ। 

यो सामग्री तयार पार्दै गर्दा  मंगलबार राति १२ बजेसम्म ३३ हजार २२२ मत गणना हुँदा बालेनले १२ हजार ८७७ मत प्राप्त गरेका छन्। त्यस्तै केशव स्थापितले ६ हजार ८७८ मत पाएका छन् भने सिर्जनाले  ६ हजार १०१ मत पाएकी छिन्। 

 

वडा नम्बर १ भनेको नक्साल क्षेत्र हो भने वडा नम्बर २ लाजिम्पाट क्षेत्र हो। त्यस्तै मतगणना भइरहेको र बालेनले अग्रता लिएको वडा नम्बर ३ महाराजगञ्ज एरिया हो भने वडानम्बर ४ बालुवाटार क्षेत्र हो। अहिलेसम्म वडा नम्बर ६ मा पर्ने हाँडीगाउँ, ७ मा पर्ने बौद्ध र ८ मा पर्ने मित्रपार्क एरियामा पनि मतगणना सुरु भैसकेको छ। यी सबै वडामा बालेनले नै अग्रता लिएका छन्।

वडा नम्बर ३०, ३१ र ३२ मा पनि मतगणना भइरहेको छ। यी वडाहरूमा पनि बालेनले नै अग्रता लिएका छन्। वडा नम्बर ३० भनेको ज्ञानेश्वर एरिया हो भने वडा नम्बर ३१ भीमसेन गोला एरिया हो। वडा नम्बर ३२ कोटेश्वर एरिया हो। 

काठमाडौंको डिल्लीबजार एरियालाई समेटेर बनेको वडानम्बर २९ मा पनि मंगगलबार अपराह्नदेखि मतगणना सुरु भएको छ। यहाँ एक साँझ ५ बजेसम्म सय मत गन्दा सिर्जनाले अग्रता लिएकी छिन्। बालेनले ३२ मत पाउँदा सिर्जनाले ३३ मत पाएकी छिन् भने केशव स्थापितले १० मत मात्र पाएका छन्। 

वडा नम्बर २९ को प्रारम्भिक रुझानले कतिपय वडाहरुमा कांग्रेसले समेत अग्रता लिने संकेत देखिन्छ। यसैगरी कोर नेवार बस्तीले नेवार समुदायकै उम्मेदवारलाई अग्रता दिलाउँछ या बालेन शाहलाई नै जिताउँछ, त्यो भने ती वडाहरुमा मतगणना हुन थालेपछि मात्र थाहा हुनेछ। 

अब ३२ वटै वडाको सामान्य विश्लेषण गरौं–

वडा नम्बर १ : नक्साल
नक्साल क्षेत्रमा पर्ने वडा नम्बर १ मा मतगणना भइसकेको छ।  यहाँको वडाध्यक्ष एमालेका भरतलाल श्रेष्ठले जिते पनि मेयरमा भने एमालेका केशव स्थापित बालेन शाहभन्दा पछाडि परे। यो तथ्यले के बताउँछन भने ०७४ सालमा एमालेले जितेको यस वडाका एमाले समर्थकले मेयरमा केशव स्थापितलाई रुचाएनन्, बालेन शाहलाई रुचाए। 

०७४ सालमा यस वडामा एमालेले जितेको थियो। यसपटक २३१८ मतमध्ये बालेनको लौरोमा ७८२ मत खस्यो। जबकि अहिले पनि एमालेले नै वडाध्यक्ष जितेको यस वडामा केशव स्थापितलाई सिर्जनाको भन्दा कम अर्थात, ३६५ मत मात्रै खस्यो। यस वडामा सिर्जना सिंहले ४५१ मत ल्याएर स्थापितलाई तेस्रोमा धकेलिन्। यो तथ्यले के बताउँछ भने वडाध्यक्ष जिताउने एमाले समर्थकले लौरोमा क्रस भोटिङ गरे, जसले गर्दा बालेन मालामाल बने।

वडा नम्बर १ एमालेको गढ हो। ०७४ को चुनावमा एमालेका वडाध्यक्ष भरतलाल श्रेष्ठले १०३५ मत ल्याउँदा काँग्रेसले ६३९ मत मात्र पाएको थियो। यस्तो गढबाटै यसपालि केशव स्थापितले बालेनको भन्दा कम भोट पाए।  

वडा नम्बर २ : लाजिम्पाट
काठमाडौंको वडा नम्बर २ मा लाजिम्पाट क्षेत्र पर्दछ। यो वडामा पनि मतगणना भइसकेको छ। यहाँ पनि वडाध्यक्ष पद एमालेले नै जितेको छ। तर, एमालेको गढ भइकन पनि मेयरमा बालेनले नै अग्रता लिएका छन्। मतगणनामा सहभागीले दिएको जानकारीअनुसार यो वडामा एमालेको मात्रै होइन, काँग्रेसको पनि भोट क्रस भएको छ।

वडाध्यक्ष एमालेले नै जितेको यस वडामा बालेन शाहले १२१५ मत पाउँदा केशव स्थापितले ७२८ मतमा चित्त बुझाउनुपर्यो। यो वडामा सिर्जना सिंह ४५१ मतका साथ तेस्रो बनिन्। 

०७४ को तथ्यांक हेर्दा वडा नम्बर २ नेकपा एमालेको अझै बलियो गढ हो। त्यसबेला एमालेका वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले १८४० मत पाउँदा कांग्रेसले ६८४ मत मात्रै पाएका थिए। एमालेले यसपालि यो वडाबाट समेत बालेनलाई जित्न सकेन। 

वडा नम्बर ३ : महाराजगञ्ज
काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ भन्नाले महाराजगञ्ज क्षेत्रलाई बुझिन्छ। यहाँ पनि बालेन शाहले नै अग्रता लिएका छन्। 

मंगलबार अपराह्नको तथ्यांक अनुसार यस वडामा ४८३१ मत गन्दा बालेनले १७५६ मत हात पारे भने केशव स्थापितले १००४ र सिर्जना सिंहले ८८७ मत पाइन्।

०७४ सालको तथ्यांक हेर्दा यस वडामा एमालेका वडाध्यक्ष दीपक केसीले ३०६२ मत ल्याउँदा कांग्रेसले १५४१ मत मात्र पाएको थियो। यसपालि एमालेले यो वडाबाट पनि बालेनलाई जितेन। 

वडा नम्बर ४ : बालुवाटार
काठमाडौंको बालुवाटार क्षेत्र वडा नम्बर ४ अन्तरगत पर्छ। बालुवाटार क्षेत्रमा पनि बालेन शाहले नै अग्रता लिएका छन्। पछिल्लो तथ्यांक अनुसार ५४३३ मत गनेका ठाउँमा २२७९ मत बालेनको बाक्सामा खस्यो। यहाँ स्थापितले १११९ र सिर्जनाले ९११ मत पाइन्।  

यो वडा पनि विगतमा एमालेकै गढ थियो। ०७४ सालमा एमालेका वडाध्यक्ष मोहनबहादुर विष्टले ३८१३ मत ल्याएर जितेको यो वडामा समेत केशव स्थापितले बालेनलाई उछिन्न सकेनन्। 

वडा नम्बर ५ : हाँडीगाउँ
काठमाडौंको वडा नम्बर ५ अन्तरगत हाँडीगाउँ क्षेत्रमा पर्छ। यहाँ पनि मतगणना सुरु भइसकेको छ र यहाँ पनि बालेन शाहले नै अग्रता लिएका छन्। 

हाँडीगाउँ क्षेत्रमा ३३२७ मत खस्दा बालेनले ११३० मत पाए। स्थापितले  यस वडामा ८७५ र सिर्जनाले ५९५ मत पाइन्। 

हाँडीगाउँ क्षेत्र ०७४ मा नेपाली कांग्रेसले जितेको वडा हो। त्यसबेला कांग्रेसका रमेश डंगोलले १६८० मत ल्याएर जितेको यस वडामा एमालेको भोट कांग्रेसकै हाराहारीमा १६७५ थियो। यो वडामा पनि कांग्रेस र एमाले दुबैको भोट काटेर बालेन पहिलो बनेका छन्। 

वडा नम्बर ६ : बौद्ध
काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ बौद्ध एरिया हो। महानगरको बाहिरी वस्तीका रुपमा रहेको यो वडामा पनि बालेन शाहले नै अग्रता लिए। 

यस वडामा केशव स्थापितलाई सिर्जनाले जितेकी छिन्। कुल २१८४ मत खस्दा स्थापितले ४२७ मत पाए भने सिर्जनाले ५८२ मत पाएकी छिन्। बौद्ध एरियाबाट बालेनले ७०७ मत जोडेका छन्। 

०७४ को चुनावमा यस वडामा कांग्रेसका दीपेन्द्र लामाले ३६१५ मत ल्याएर जितेका थिए। एमालेले यहाँ ३००६ भोट पाएको थियो। यसपटक यो वडामा दुबै पार्टीको भोट काटेर बालेन पहिलो बने।

वडा नम्बर ७ : मित्रपार्क
पशुपति छेउको मित्रपार्क एरिया वडा नम्बर ७ मा पर्छ। यो वडामा पनि मतगणना शुरु भइसकेको छ। यहाँ पनि बालेन शाह नै अगाडि छन्। 

विगतको मत हेर्दा यो वडा पनि एमालेको गढ हो। ०७४ को चुनावमा यो वडामा एमालेका शुद्धकुमार डंगोलले ३७२४ मत ल्याएर जितेका थिए। कांग्रेसको मत यहाँ ३२२२ थियो। तर, यसपालिको चुनावमा यो वडाबाट बालेनले अग्रता लिएका छन्।

वडा नम्बर ८ : पशुपति क्षेत्र
काठमाडौंको पशुपति क्षेत्र वडा नम्बर ८ मा पर्छ। यो वडामा पनि मतगणना शुरु भइसकेको छ। यहाँ पनि बालेन शाहले कांग्रेस र एमालेका उम्मदेवारलाई पछि पारेका छन्।

०७४ को चुनावमा यो वडा कांग्रेसले जितेको थियो। कांग्रेसका दिनेशकुमार डंगोलले १६३६ मत ल्याएर जित्दा यस वडामा एमालेले ११९५ मत पाएमको थियो। यसपालि दुबै पार्टीले आफ्नो भोट बचाउन सकेका छैनन्। 

वडा नम्बर २९ : डिल्लीबजार
काठमाडौंको डिल्लीबजार क्षेत्रमा मंगलबार बेलुकादेखि मतगणना सुरु भएको छ। यहाँ १०० मत गन्दा काँग्रेसकी सिर्जना सिंहले बालेनलाई १ मतले पछि पारेकी छिन्। सिर्जनाले ३३ मत ल्याउँदा बालेनको ३२ र स्थापितको १० मत छ।

मंगलबारसम्म गणना भएका ९ वटा वडामध्ये कांग्रेस र एमालेका उम्मेदवारले कहिँ पनि अग्रता लिन सकेका छैनन्। २९ नम्बर वडाचाहिँ एकै मतले भए पनि अपवाद बन्न पुगेको छ। 
यस वडामा ०७४ सालमा कांग्रेसका कुश ढकालले १५४५ ले वडाध्यक्ष जितेका थिए। स्वतन्त्र उम्मेदवार शिवराम राजबंशी १४९१ मतका साथ दोस्रो बनेको यस वडामा एमाले १०४२ मतका साथ तेस्रो बनेको थियो। 

वडा नम्बर ३० :  ज्ञानेश्वर–मैतीदेवी
काठमाडौंको वडा नम्बर ३० अन्तरगत ज्ञानेश्वर, रातोपुल मैतीदेवी एरिया पर्छ। कांग्रेस महामन्त्री गगन थापाको घर पनि यही वडामा पर्छ। यो वडामा पनि मतगणना सुरु भइसकेको छ र यहाँ पनि बालेन शाहले नै अग्रता लिएका छन्।

यस वडामा मंगलबार साँझ ५०० मत गणना हुँदा बालेनले १९२ मत पाए भने सिर्जनाले ८८ र केशवले ६५ मत पाएका छन्। 

०७४ को चुनावमा यस वडामा कांग्रेसका दलबहादुर कार्कीले २२३१ मतका साथ  वडाध्यक्ष जितेका थिए। एमालेले यहाँ १३६७ मत पाएको थियो। 

वडा नम्बर ३१ :  भीमसेनगोला
महानगरको वडा नम्बर ३१ ले भीमसेनगोलादेखि शान्तिनगरसम्मको  क्षेत्रलाई समेटेको छ। यहाँ पनि मतगणना शुरु भइसकेको छ र यहाँ पनि बालेन शाहले नै अग्रता लिएका छन्। 

यस वडामा ३१६९ मत खस्दा बालेन्द्रले ११८१ मत पाए भने केशवले ७०८ र सिर्जनाले ६७६ मत पाएकी छिन्। 

०७४ को चुनावमा यो वडामा एमालेका नारायणप्रसाद भण्डारी ४२९७ मतका साथ वडाध्यक्ष चुनिएका थिए। यहाँ कांग्रेसले ३४१६ मत पाएको थियो। 

वडा नम्बर ३२ :  कोटेश्वर
काठमाडौंको अन्तिम वडा कोटेश्वर एवं नरेफाँट क्षेत्र हो।  माधव नेपालको घर रहेको यस क्षेत्रमा पनि मेयरमा एमालेले बालेन शाहलाई जित्न सकेन। यो वडामा मतगणना शुरु भइसकेको छ र यहाँ पनि बालेनले नै अग्रता लिएका छन्। 

कोटेश्वर क्षेत्रमा ५७५८ मत गणना हुँदा बालेनले २५२१ मत बटुलेका छन्। यहाँ केशवको पक्षमा ११७५ मत खसेको छ भने सिर्जनाले ९५५ मत पाएकी छिन्। 
कोटेश्वर क्षेत्र पनि विगतमा एमालेकै गढ हो। ०७४ को चुनावमा यहाँबाट एमालेका नवराज पराजुली ५८७९ मतका साथ वडाध्यक्ष चुनिएका थिए। काँग्रेसले ४०१९ मत पाएको थियो। 


अब मतगणना शुरु हुन बाँकी रहेका वडाहरुको चर्चा गरौं–

वडा नम्बर ९ :  गौशाला
काठमाडौंको गौशाला, बत्तीसपुतली क्षेत्रमा पर्ने यो वडामा गणना हुन बाँकी छ। अघिल्लो चुनावको तथ्यांक हेर्दा यो वडा एमालेले जितेको ठाउँ हो। ०७४ को चुनावमा यहाँ एमालेका रामकृष्ण जयखु श्रेष्ठ २५१७ मतका साथ वडाध्यक्ष चुनिएका थिए। यहाँ काँग्रेसको मत २१५६ थियो।

वडा नम्बर १० :  बानेश्वर
काठमाडौंको मुटु मानिने बानेश्वर एरिया यसअघि नेपाली कांग्रेसको गढ थियो। यहाँ ०७४ को चुनावमा कांग्रेसका रामकुमार केसीले २७०१ मतका साथ वडाध्यक्षमा विजयी भएका थिए। एमालेले यहाँ २५०२ मत पाएको थियो। यसपालिको चुनावमा यो वडाबाट बालेनले कति मत काट्लान्, हेर्न बाँकी छ।   

वडा नम्बर ११ :  त्रिपुरेश्वर
त्रिपुरेश्वर एरियामा रहेको वडा नम्बर ११ पनि कांग्रेसकै गढ हो। यहाँ ०७४ को चुनावमा कांग्रेसका वडाध्यक्ष हिरालाल तण्डुकारले ११८० मत ल्याएर वडाध्यक्ष जित्दा एमालेले ८७२ मत पाएको थियो। यहाँ स्वतन्त्रले ४१७ मत पाएको थियो। यो वडाबाट यसपालि बालेनले कति मत काट्लान्, यो पनि प्रतिक्षाको विषय हो।

वडा नम्बर १२ : टेकु
टेकु क्षेत्रलाई समेटेर बनेको वडा नम्बर १२ मा अघिल्लाे निर्वाचन एमालेले जितेको थियो। एमालेका विकास डंगोलले ०७४ सालमा यहाँ १६७० मत ल्याउँदा कांग्रेसले १५९० मत पाएको थियो। यसपालि यस वडाबाट बालेनले कति मत पाउलान्, हेर्न बाँकी छ।

वडा नम्बर १३ :  कालीमाटी
कालीमाटी क्षेत्रलाई समेटेर बनेको वडा नम्बर १३ नेकपा एमालेको गढ हो। ०७४ को चुनावमा यहाँबाट एमालेका ध्रुवनारायण मानान्धरले ३०६४ मत पाएर वडाध्यक्ष जित्दा कांग्रेसको मत १५९० थियो। यसपालि एमालेले आफ्नो मत जोगाउँछ कि लौरोले क्रस गर्छ, गणनापछि नै थाहा हुनेछ। 

वडा नम्बर १४ :  कलंकी
कलंकी क्षेत्रलाई समेटेर बनेको वडा नम्बर १४ पनि एमालेकै भोट बैंक हो। ०७४ को चुनावमा यो वडाबाट एमालेकी शोभा सापकोटाले ३८०७ मतका साथ वडाध्यक्ष जितेकी थिइन्। कांग्रेसले यहाँ ३२९७ मत पाएको थियो। अब एमाले र कांग्रेसले यहाँबाट आफ्नो मत सुरक्षित गर्छन् या लौरोको प्रहार सामना गर्छन्, त्यसले मेयरको हारजितमा भूूमिका खेल्ने छ।    

वडा नम्बर १५ : डल्लु
काठमाडौंको डल्लु क्षेत्रको वडा नम्बर १५ नेवार समुदायको बाक्लै बसोबास रहेको क्षेत्र मात्रै होइन, एमालेको बलियो गढ समेत हो। ०७४ को चुनावमा यो वडाबाट एमालेका ईश्वरमान डंगोलले ४९०५ मत पाएर वडाध्यक्ष जितेका थिए। कांग्रेसको मत २२०२ मात्र झरेको थियो। मतदाताको संख्याका हिसाबले पनि ठूलो मानिने यो वडाबाट बालेनले एमालेको भोट कति काट्लान् ? सबैका लागि चासोको विषय हो। 

वडा नम्बर १६ :  सोह्रखुट्टे
काठमाडाँैको सोह्रखुट्टे एरियामा पर्ने यस वडामा अघिल्लो चुनावमा प्रमुख पार्टीहरुले खस आर्य समुदायका उम्मेदवार उठाएका थिए। यो वडाबाट गत चुनावमा कांग्रेसका मुकुन्द रिजालले एमालेका विश्वराम सापकोटालाई हराएका थिए। कांग्रेसले ४३९९ मत पाउँदा एमालेले ४३३० मत बटुलेको थियो। 
यसपटक बालेनले यहाँबाट दुबै पार्टीको भोट काट्ने सम्भावना प्रवल देखिन्छ।  

वडा नम्बर १७ :  क्षेत्रपाटी
यो चाहिँ काठमाडौंका रैथानेहरुको कोर बस्ती हो। गत चुनावमा यहाँबाट कांग्रेसका नवीन मानन्धरले २२१७ मत पाएर जितेका थिए भने एमालेका गोपालप्रसाद मालीले १७७७ मत पाएका थिए। यो वडाको भोट केशव र सिर्जनालाई खस्छ या बालेनले काट्छन् ? हेर्न लायक छ।  

वडा नम्बर १८ : नरदेवी
नरदेवी एरियामा पर्ने वडा नम्बर १८ मा खासै धेरै भोट छैन। जनसंख्याको हिसाबले सानो रहेको यस वडाबाट ०७४ मा एमालेका न्हुछे काजी महर्जनले १०५६ मत पाएर वडाध्यक्ष जितेका थिए भने कांग्रेसले ७५८ मत पाएका थिए। काठमाडौंको रैथाने बाहुल्य वडा भएकाले यहाँको मत पनि बालेनतिर जान्छ जाँदैन, चासोकै विषय छ।   

वडा नम्बर १९ :  दमाईटोल
काठमाडौंको दमाईटोलका रुपमा चिनिने यो वडा घना नेवार बस्ती हो। यसअघि कांग्रेसका शशिलाल श्रेष्ठले १८९९ मतका साथ वडाध्यक्ष जितेको यो वडामा एमालेको मत ८२१ थियो।  यसपालि कांग्रेसले लौरोबाट आफ्नो मत जोगाउनुपर्ने चुनौती देखिन्छ। 

वडा नम्बर २० :  भीमसेनथान
काठमाडौंको भीमसेनथान नेवार समुदायको धना बसोबास भएको क्षेत्र हो। यसवडामा कांग्रेस, एमाले र राप्रपाको प्रतिस्पर्धी भोट छ। गत चुनावमा कांग्रेसका राजेन्द्र मानान्धरले ८६७ मत ल्याएर वडाध्यक्ष जित्दा एमालेले ८४९ र राप्रपाले ५३१ मत पाएका थिए। 

वडा नम्बर २१ : ज्याबहाल
ज्याबहाल नामै काफी छ, यो पनि काठमाडौंको नेवाः सभ्याता अन्तरगतको पुरानो बस्ती हो। रोचक के छ भने अघिल्लो चुनावमा यस वडामा एमाले र कांग्रेसको मतान्तर अत्यन्त भारी थियो। यहाँ एमालेका वडाध्यक्ष उदय चूडामणि बज्राचार्यले २६५७ मत ल्याएर जित्दा कांग्रेसले ८३० मत बटुलेको थियो। यसपालि एमालेको त्यो भारी मत सूर्यमै खस्छ या लौरोमा, हेर्न लायक पक्ष हो।  यस वडाको मत एमालेले जोगायो भने त्यसले समग्र नतिजामा उसलाई मद्दत पुग्ने छ। 

वडा नम्बर २२ : टेबहाल
टेबहाल क्षेत्रलाई समेटेर बनेको वडा नम्बर २२ पनि कोर नेवार बस्ती हो। यो वडामा एमाले र कांग्रेसको लगभग बराबरी मत छ। ०७४ को चुनावमा यहाँबाट एमालेका चिनीकाजी महर्जन १६५७ मतका साथ वडाध्यक्षमा विजयी बनेका थिए। कांग्रेसले यहाँ १६५९ मत पाएको थियो। यो वडाबाट दुबै दलको भोट काटेर लौरोमा प्राप्त गर्नुपर्ने बालेनलाई चुनौती छ।  

वडा नम्बर २३ :  ओमबहाल
घना नेवाः बस्ती रहेको ओमबहाल क्षेत्रबाट ०७४ को चुनावमा एमालेले जित हात पारेको थियो। एमालेका मचा राजा महर्जनले ११९८ मत ल्याएर जित्दा यस वडामा कांग्रेसले ८८० मत पाएको थियो। 

वडा नम्बर २४ : मखन
वडा नम्बर २४ मा पर्ने मखन टोल गत चुनावमा एमालेका मेयर विद्यासुन्दरको गढ मानिन्थ्यो। ०७४ मा यस वडाबाट एमालेका बालकृष्ण श्रेष्ठले १४५२ मत पाएर वडाध्यक्ष जित्दा कांग्रेसले ९१४ मत पाएको थियो।

वडा नम्बर २५ : जनबहाल
घना नेवा वस्ती मानिने जनबहालमा कांग्रेस र एमालेको लगभग बराबरी भोट छ। ०७४ को चुनावमा यस वडाबाट कांग्रेसका नील काजी शाक्य १५२५ मतका साथ विजयी भएका थिए। एमालेले यस वडामा १४९० मत पाएको थियो।  

वडा नम्बर २६ :  लैनचौर
अघिल्लो चुनावको तथ्यांकका आधारमा हेर्दा लैनचौर क्षेत्र नेपाली कांग्रेसको प्रभाव रहेको वडा हो। यस वडाबाट ०७४ को चुनावमा कांग्रेसका ख्याम राज तिवारी २०९७ मतका साथ विजयी बनेका थिए। एमालेले यहाँ १८७३ मत पाएको थियो। 

वडा नम्बर २७ :  महावौद्ध
नेवार समुदायको बाक्लो बसोबास रहेको महावौद्ध क्षेत्रमा ०७४ को चुनाव एमालेका चिनिया मान बज्राचार्य १५६६ मतका साथ विजयी बनेका थिए। यहाँबाट कांग्रेसले १३५८ मत पाएको थियो। दुबै दलले पाएको यो मत बालेनले कति खोस्छन्, प्रतीक्षाकै विषय हो।  

वडा नम्बर २८ : पुरानो बसपार्क
केशव स्थापितको घर बागबजारमा छ। तथापि पुरानो बसपार्क एरियासमेत समेटेर बनेको वडा नम्बर २८ मा गत चुनावमा कांग्रेसका भाइराम खड्गी १२०६ मतका साथ विजयी भएका थिए। 
कांग्रेसबाट उपमेयर जितेकी हरिमाया खड्गीको घर पनि बागबजार एरियामै पर्छ। यस वडामा एमालेले पाएको ०७४ सालको मत ११२३ थियो। एमाले–कांग्रेसवीच तीव्र प्रतिस्पर्धा रहेको यस वडामा बालेनले कति मत काट्लान् ? हेर्न बाँकी छ। 

वडा बाहेकको बालेन ‘फ्याक्टर’
हामीले यहाँ ०७४ को चुनावमा कुन वडामा कुन दलको पकड थियो भन्ने चर्चा गर्यौं। तर, यहाँ ध्यान दिनुपर्ने विषय के छ भने वडामा एमाले वा कांग्रेस जुनसुकै दलको प्रभाव रहेता पनि बालेन शाहले कांग्रेस र एमाले दुबै पार्टीको भोट काटेर अग्रता लिइरहेका छन्। 

जस्तै–वडा नम्बर ६ को मत गणनाको रिपोर्ट हेरौं।
यहाँ एमालेका वडाध्यक्षले ६३४ मत पाउँदा मेयरका उम्मेदवार केशव स्थापितले ४१३ मत मात्र पाएका छन्।

त्यसैगरी कांग्रेसका वडाध्यक्षले ८९४ मत पाउँदा मेयरमा सिर्जना सिंहले ५५१ मत मात्र पाएकी छिन्। कांग्रेस र एमाले दुबैको बलियो संगठन रहेको यो वडाबाट बालेनको पक्षमा ६६७ मत परेको छ।

यहाँ एमालेको २०३ र कांग्रेसको ३४३  मत क्रस भएको देखिन्छ। दुबै दलको क्रस भोट ५४६ रहेको छ। यसमा १२१ मत जोड्दा बालेनले पाएको ६६७ मतसँग समान हुन आउँछ।   

यहाँ एमालेका वडाध्यक्षले ६३४ मत पाउँदा मेयरका उम्मेदवार केशव स्थापितले ४१३ मत मात्र पाएका छन्। त्यसैगरी कांग्रेसका वडाध्यक्षले ८९४ मत पाउँदा मेयरमा सिर्जना सिंहले ५५१ मत मात्र पाएकी छिन्। कांग्रेस र एमाले दुबैको बलियो संगठन रहेको यो वडाबाट बालेनको पक्षमा ६६७ मत परेको छ।

यहाँ एमालेको २०३ र कांग्रेसको ३४३  मत क्रस भएको देखिन्छ। दुबै दलको क्रस भोट ५४६ रहेको छ। यसमा १२१ मत जोड्दा बालेनले पाएको ६६७ मतसँग समान हुन आउँछ।

   

एमाले र कांग्रेसले वडाध्यक्ष जितेका ठाउँमा समेत बालेन नै अग्रता लिएका कारण वडा तहको दलीय भोटले बालेनको मत अनुमान गर्न सकिँदैन। यत्ति हो, अब हुने कोर नेवार बस्तीको भोटको ‘प्याटर्न’ नेवारी समुदायका उम्मदेवारलाई झर्छ या विद्रोही युवा बालेनलाई ? यसैबाट थाहा हुनेछ काठमाडौंका कोर बस्तीको रोजाइ। 

एकातर्फ बालेन युवा हुन्। उनी गायक पनि हुन्। यी दुबै कारणले उनमा युवापुस्ताको आकर्षण देखिन्छ। काठमाडौंको रैथाने समुदायका युवाहरुमा पनि बालेनप्रति आकर्षण छ। 

दोस्रो पक्ष, कांग्रेस र एमालेको व्यवहारप्रति काठमाडौंको आदिवासी समुदाय पनि रिसाएको छ। यो आक्रोशको प्रतिक्रियात्मक अभिव्यक्ति लौरोमार्फत व्यक्त हुने सम्भावना छ। 
तेस्रो पक्ष, एमाले सरकारका पालामा जुन गुठी विधेयक ल्याइएको थियो र त्यसविरुद्ध स्थानीयबासी माइतीघरमा उत्रिएका थिए। यो घटनाले गर्दा गुठीवाला मत एमालेले गुमाएको अनुमान गर्न सकिन्छ। 

चौथो पक्ष, नेपाली कांग्रेसले जसरी उम्मेदवार छनोट गर्यो, त्यसलाई युवा पुस्ताले रुचाएको देखिएन। मिस नेवाः सुनिता डंगोललाई जसरी काठमाडौंले रुचायो, सिर्जना र केशवलाई रुचाएको देखिएन।

अब यो कुरा घना नेवार बस्तीबाट कसरी प्रकट हुन्छ, त्यहाँको मतपत्र खोलिएपछि थाहा होला।      

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .