औषधि निर्यात रोक्ने भारतको निर्णयका विषयमा नेपालले दक्षिणी छिमेकीसँग छलफल गर्ने तयारी गरेको छ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई कारण देखाउँदै भारतले २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ। यसबाट नेपालीलाई प्रत्यक्ष असर पर्ने भन्दै चिन्ता व्यक्त भइरहँदा भारतसँग सम्वादको तयारी भइरहेको सरकार प्रवक्ता सञ्चार एवं अर्थमन्त्री डा.युवराज खतिवडाको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘भारतले निर्यात रोक लगाएका औषधि फुकुवा गर्न अनुरोध गर्ने निर्णय भएको छ’ जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमा भने, ‘कोरोना भाइरससँग जोगिन मन्त्रालयले यो बाहेक अन्य ३ तहका रणनीतिक निर्णय गरेको छ।’
भारतले गत मंगलबार औषधि र औषधिमा प्रयोग हुने जैविक कण एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडियन्ट (एपीआई)को निर्यात रोक्ने निर्णय गरेको हो। निर्यात रोकेका २६ मध्ये १३ किसिमका औषधि नेपाल आयात हुने गर्थे। नेपालीको उपचारमा प्रयोग हुँदै आएका छन्।
भारतले एमोक्सिलिन, मोक्सि फ्लोक्सेसिन, डक्सी सिलिन एन्टिबायोटिक्सदेखि पारासिटामोल र टीबीका औषधिसम्म निर्यात नगर्ने निर्णय गरेको छ। औषधि उत्पादनमा आवश्यक एपीआईका लागि नेपालका कम्पनीहरु समेत चीन र भारतसँग निर्भर छन्।
नेपालमा ७८ फर्मासेट्युकल्स कम्पनीले औषधि उत्पादन गर्दै आएका छन्। पछिल्लो अवस्थाबारे औषधि व्यवस्था विभागले निजी क्षेत्रका औषधि उत्पादकसँग समेत छलफल गरिरहेको छ।
Shares

प्रतिक्रिया