कारोबार


पद्म ज्योति ग्रुप : घरायसी कलहपछि मोडिएको पद्मको फरक बाटो

पद्म ज्योति ग्रुप : घरायसी कलहपछि मोडिएको पद्मको फरक बाटो

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १८:५, काठमाडौँ

शताब्दी पुरानो ज्योति ग्रुप फुटेको छ। दुई दाजुभाइ रूप ज्योति र पद्म ज्योतिको विवादपछि नयाँ ब्रान्डिङसहित ‘पद्म ज्योति ग्रुप’ सुरु भएको छ।

मणिहर्षले सुरु गरेको व्यवसायमा रूप र पद्मबीच झगडा हुँदा पारिवारिक व्यवसायमै नकारात्मक असर परिरहेको थियो। यहीबीच ‘पद्म ज्योति ग्रुप’ सुरु भएको हो। 

पद्म ज्योति र छोरा सौरभ ज्योतिले यसलाई नयाँ अध्यायको सुरुवात भनेका छन्। ज्योति ग्रुप मात्रै छाडेर पद्म ज्योति ग्रुपबाटै ब्रान्डिङ गर्ने उनीहरुले आइतबार घोषणा नै गरे।  

ग्रुप अध्यक्ष पद्म ज्योति नै छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। नाडा अटोमोबाइल्स एसोसिएसन, नेपाल बिजनेस इनिसियटिभमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। सिक्किमको कालिमपोङमा विद्यालय शिक्षा लिएका उनले आईआईटी कानपुरमा इन्जिनियरिङ र एमआईटीबाट एमबीए गरेका छन्। 

‘केही समयदेखि पारिवारिक विभाजनमा पुगेको छ’, अध्यक्ष पद्म ज्योतिले भने, ‘पारिवारिक विवाद नेपालमा मात्रै नभई विश्वभर छुट्टिने हुन्छ। राजनीतिक दल, संघ÷संस्था केही उन्नतिका लागि अलग नै हुन्छन्।’

सन् १९२० बाट व्यवसाय सुरु गरेको यो व्यावसायिक समूह पुनः नामकरण गरी अघि बढेको छ। ग्रुपले सन् १९६१ मा पहिलो स्टिल उद्योग हिमाल आइरन स्थापना गरेको थियो। त्यसपछि यही ग्रुपबाट सन् १९६८ मा नेपालको पहिलो सिमेन्ट उद्योग खुलेको थियो। 

‘पद्म ज्योति ग्रुप एक ढिक्का छौँ। हामीले हाम्रो बाटो स्पष्ट छानेका छौँ’, उनले भने, ‘अब हामी भविष्यको योजनामा समय खर्चिन चाहन्छौँ।’

नवब्रान्डिङ ग्रुपमा मिरा ज्योति कम्पनीको निर्देशित तथा व्यावसायिक सामाजिक उत्तरदायित्वको प्रमुख छिन्। उनी महिला सशक्तीकरणमा बढी ध्यान दिने गरेकी छन्। उनी पद्म ज्योतिको श्रीमती हुन्। 

पद्मका छोरा सौरभ ज्योति ग्रुपको निर्देशक छन्। उनी ग्रुप अफ कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी (सीईओ) हुन्। सिर्जना शाक्य ज्योति ग्रुपको निर्देशक तथा स्याकार ट्रेडिङको प्रबन्धनिर्देशक हुन्। उनी सौरभकी श्रीमती हुन्। ग्रुपकै निर्देशक सुहृद् ज्योति कम्पनीको निर्देशक छन्। आरती ज्योति कम्पनीको निर्देशक तथा भाजुरत्न ट्रेडिङ कम्पनीको प्रबन्धनिर्देशक छन्। 

पद्मका छोरा सौरभले झगडाबाट बाहिरिएर नयाँ ब्रान्डिङ सुरू गरेको बताए। उनले भने, ‘ज्योति समूहमा ४ पुस्ताले काम गरिसकेको छ। अब पाँचौँ पुस्ता तयार भइसकेको छ। त्यसैले परिवर्तन हामीले महशुस गरेका छौँ।’

उनले आफ्ना हजुरबुबा मणिहर्ष ज्योतिसँग सजिलोभन्दा अप्ठ्यारोमा हिँड्न सिकाएको स्मरण गरे। 

‘हजुरबुबाले आफ्नो परवानीपुरको फार्ममा पुग्ने पिच बाटो हुँदा पनि कच्ची र अप्ठ्यारो बाटो हुँदै पुर्‍याउनुहुन्थ्यो’, उनलाई हजुरबाले भन्थे, ‘राम्रो बाटोमा हिँड्दा फूलहरु भेटिँदैनन्। खाल्डाखुल्डीमा हिँड्दा चुनौती हुन्छन्, त्यसलाई अवसरको रूपमा लिनुपर्छ।’

आफूहरुको सफलतासँगै देश र समाजमा पनि सकारात्मक प्रभाव पार्नुपर्ने सोच रहेको उनले सुनाए। देशको राष्ट्रपति होस् वा आफ्नो श्रमिक सबैलाई समान व्यवहार गर्न सिकाएको उनको भनाइ छ। 

पद्म ज्योति समूह विकासको गतिमा हिँडेको भन्दै उत्पादनमूलक उद्योगमा लगानी गर्दै रोजगारी सिर्जना गर्ने बताए।

‘काकासँग केही समस्या छन्, त्यो सत्य हो। किताबमा अनेकौँ अध्याय हुन्छन्’, सौरभले थपे, ‘अँध्यारो अध्यायलाई छोडेर नयाँ सुरु गर्दै छौँ। जो परिवर्तन हुन सक्दैनन्, उनीहरु सकिन्छन्।’

केही वर्षअघि चर्चित कोडाकजस्ता कम्पनीहरु बन्द भएको उदाहरण दिँदै उनले भने, ‘प्रविधिमा पनि फ्याक्स मेसिन, टेलिग्राम अब छैनन्। यहीबाट सिकेर समयसापेक्ष परिवर्तन हुन खोजेका हौँ।’

यो ग्रुपभित्र भजुरञ्था टे«डिङबाट फिलिप्स, टाफे ब्रान्ड बिक्री वितरण हुन्छ भने होन्डाको आधिकारिक बिक्रेता रहेको स्याकार ट्रेडिङ यसैमा छ। उत्पादनमूलक उद्योगमा हिमाल आइरन एन्ड स्टिल, हिमाल अक्सिजन, हिमाल वायर, ज्योति यार्न, जय स्पिनिङ उद्योगहरु छन्। 

यसबाहेक ग्रान्डी इन्टरनेशनल हस्पिटल, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी विकास बैंकमा समेत ज्योति नै संस्थापक लगानीकर्ता छन्।

हाइड्रोपावर कम्पनीमा बुटवल पावर कम्पनी तथा ह्वाइट ह्याट लजिस्टिक, सुरी ट्राभेल्स एन्ड टुर, एमएमसीजीमा बास्किन रोबिन्स समेत यही ग्रुपको कम्पनी रहेको छ। फिटनेस कम्पनी द फिजिक वर्कसप र हस्पिटालिटीमा अलफ्ट होटलमा लगानी गरेको ग्रुपमा करिब ३ हजार कर्मचारी छन्। 

हिमाल स्टिलदेखि अटोमा होन्डा र बैंक तथा वित्तीय संस्थाहरूमा ग्रुपले लगानी गरेको छ। 

यसअन्तर्गतको हिमाल मोटर कम्पनीले होन्डाका दुईपांग्रे एसेम्बल उद्योग गत मार्चबाट रूपन्देहीमा सुरू भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad