एशियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले नेपाल भ्रमणका उपलब्धिलाई ३ बुँदामा संक्षेपीकरण गरेका छन्। नेपाल भ्रमणका उपलब्धिबारे एक भिडियो सन्देश जारी गर्दै उनले बहुवर्षीय र आर्थिक वर्षिय आयोजना गरी दुई फरक मोडलमा नेपालसँग गर्ने प्रस्ट्याएका छन्।
भिडियोमा उनले नेपाल अहिले ऐतिहासिक परिर्वतन र विकासको एउटा निर्णायक मोडमा रहेको उल्लेख गरेका छन्। ‘देश विकासको यो ऐतिहासिक परिवर्तनका लागि एडीबी सहकार्य गर्न इच्छुक छ’, उनले भनेका छन्।
भ्रमण क्रममा एडीबी अध्यक्ष मासातोले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। नेपालको आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र लगानीप्रवद्र्धनका विषयमा छलफल भएको उनले जनाएका छन्। ‘प्रधानमन्त्री शाहको महत्वकांक्षी सुधारलाई सहयोग गर्न एडीबी प्रतिबद्ध छ’, उनले दोहोर्याएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेको वित्तिय रणनीतिमा आफ्नो समर्थन रहेको उनले जनाएका छन्।
(१) पहिलो बुँदामा करिब ८ लाख ५० हजार जनतालाई भरपर्दो र सुरक्षित खानेपानी तथा सरसफाई सेवा पुर्याउने कामलाई जोड दिएका छन्। यसका लागि एडीबीले सरकारसँग काम गर्छ।
(२) दोस्रो बुँदामा उनले नेपालको विकासमा सार्वजनिक लगानी र सुधार मात्र पर्याप्त हुँदैन भन्दै निजी क्षेत्रको भूमिकामा जोड दिएका छन्। नेपालको सीमापार व्यापार (आयात–निर्यात) र रोजगारीसँग सम्बन्धित छ। एडीबीले भन्सार प्रणाली, भन्सार प्रशासनको आधुनिकीकरण गर्ने परियोजनामा सहयोग गर्नेछ। उनले काठमाडौं छँदा निजी क्षेत्रका उद्योगी व्यवसायीसँगको भेट गरेका थिए। उनले भनेका छन्, 'ठूलो मात्रामा निजी लगानी आकर्षित गर्न र गुणस्तरीय रोजगारी सिर्जना गर्नका लागि नीतिगत निश्चितता, वित्तिय पहुँच र लगानीयोग्य आयोजनाहरुको तयारी आवश्यक पर्नेछ।'
(३) तेस्रो बुँदा स्वच्छ उर्जासँग सम्बन्धित छ। एडीबी अध्यक्ष मासातो कान्दाले नेपालको भावी सम्वृद्धिको आधारशीला धरातलबाटै साकार हुन थालेको पनि बताएका छन्। ‘नेपाल विद्युत् प्राधिकरणलाई आधुनिक र डिजिटल प्रणालीले विद्युत् सञ्जाललाई सुदृढ बनाउँदै नेपालको स्वच्छ उर्जालाई विस्तार गरिरहेछ’, उनले भनेका छन्। काठमाडौं, त्रिपुरेश्वको विश्व निकेतन विद्यालयका विद्यार्थी र शिक्षकहरु भविष्यका लागि आवश्यक विज्ञान, प्रविधि र डिजिटल सीप विकासमा लागेको देख्दा आफूलाई खुशी लागेको बताएका छन्।
उनी काठमाडौंमा रहँदा एडीबीले नेपाललाई सन् २०२९ सम्म करिब ३ खर्ब रुपैयाँ (२.४ अर्ब अमेरिकी डलर) सहयोग थप्ने सहमति भएको छ।
Shares

प्रतिक्रिया