कारोबार


ज्योति दाजुभाइको झगडा : ग्रान्डी सिटी हस्पिटलले अग्रिम १० वर्षकै भाडा बुझाएको दाबी

घर कब्जा गरेको आरोपमा रूप भन्छन्- १० वर्षको अग्रिम भाडा बुझाएका छौँ
ज्योति दाजुभाइको झगडा : ग्रान्डी सिटी हस्पिटलले अग्रिम १० वर्षकै भाडा बुझाएको दाबी

ज्योति समूहका दाजुभाइ पद्म र रूप ज्योति


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १७:१४, काठमाडौँ

पुरानो औद्योगिक घराना ज्योति समूहका दुई दाजुभाइबीच झगडा हुँदा व्यवसायमा नै असर पुगेको छ।

दाजु पद्म ज्योतिले भाडा नतिरी आफ्नो घर कब्जा गरेको आरोपपछि भाइ रूप ज्योतिले पनि करिब १० वर्षको अग्रिम भाडा बुझाएको दाबी गरेका हुन्। 

मासिक १ लाख ८० हजार बहाल बुझाउने गरी २०७१ देखि पद्म ज्योतिको घर ज्योति समूहकै ग्रान्डी सिटी हस्पिटलले बहालमा लिइरहेको छ।

हस्पिटललाई खाली गराउन ज्योति समूह पद्म ज्योति (दाइ)को तर्फबाट कात्तिक ११ मा सूचना प्रकाशन गर्दै भाडा नतिरी घर कब्जा गरेको आरोप लगाएको छ। 

पद्म ज्योतिले जारी गरेको विज्ञप्तिमा घर फ्ल्याट आफैँलाई आवश्यक परेको हुँदा २०७६ देखि पटक–पटक बहाल रकम बुझाई खाली गरिदिन भनी लिखित तथा मौखिकभन्दा समेत खाली गर्न नमानेको कारण बाध्य भई २ तल्ला खाली गराउन १ करोड ५४ हजार बुझाउन भनिएको छ। 

तर रूप ज्योति अध्यक्ष रहेको ग्रान्डी सिटी हस्पिटलले आगामी १० वर्षलाई पुग्ने गरी अग्रिम पेस्की बुझाएको दाबी गरेको छ। 

‘उहाँहरुले नै उपलब्ध गराएको बैंक खातामा पटक–पटक गरी ४ करोड ३६ लाख २३ हजार बहाल अग्रिम पेस्की भुक्तानी गरेको छ’, ग्रान्डी सिटी हस्पिटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त रकम थप करिब १० वर्षलाई पुग्ने बहाल हो।’ 

पद्म ज्योतिको बहालमा लिइएको घरको क्षेत्रमा ज्योति समूहको यस हस्पिटलको एकदमै महत्त्वपूर्ण तथा संवेदनशील विभागहरुजस्तो आईसीयू, एनआईसीयु, सीसीयू, एचसीयूलगायतका विभागहरु राखिएको हस्पिटलले जनाएको छ। 

‘बहालमा बसेकालाई घरधनीले हटाउन सक्ने कानुनी अधिकार भए पनि आफ्नै ज्योति समूहअन्तर्गतको अस्पताल बहालकै कारण बन्द गराउने नियतले गतिविधि गर्नु अमानवीय तथा अनैतिक कार्य हो’, हस्पिटलले भनेको छ, ‘जम्मा गरिएको बहाल पनि प्राप्त नभएको भन्दै झूठा व्यहोरा खडा गरी अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको आफ्नै समूहको हस्पिटल बन्द गराउन खोज्नु एकदमै अनुचित कार्य हो।’

विवाद तन्केको तन्कियै, अझै भएन समाधान 
ज्योति दाजुभाइबीच २०३९ सालमै अंशबण्डा भएको थियो। तर कतिपय सेयरमा दुई भाइबीच कुरा नमिल्दा विवाद बल्झिएको छ। पद्म ज्योतिले काठमाडौं महानगरको सहायतामा हस्पिटल खाली गराउन खोजेपछि सार्वजनिक वक्तव्यबाजीमा उत्रिएका छन्। 

हस्पिटललाई हटाउनुपर्ने अन्य कुनै कारण भए सोको समाधान गर्न सकिने भए पनि त्यस्तो कुनै कारण उल्लेख नगरिएको हस्पिटलको दाबी छ। 

जबर्जस्ती अस्पताल खाली गराउने कार्य गरेको खण्डमा बिरामीहरुको स्वास्थ्य उपचारमा गम्भीर नकारात्मक असर पर्ने भएकाले महानगरपालिकालाई पेस गरेको कार्यतालिकाअनुसार बहाल क्षेत्र स्थानान्तरण गर्न आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ। 

काठमाडौं महानगरको न्यायिक समितिबाट २०७८ असोज २४ गते वादीको घरजग्गा सम्पत्तिमा हक नै नभएका प्रतिवादी भाडा नतिरी बसिरहन नमिल्ने निर्णय भएको थियो। सोही कारण ‘बहाल रकम वार्षिक २५ लाखभित्रै भएको देखिँदा १ करोड ५४ लाख प्रतिवादीबाट भराई घर खाली गरिदिने ठहर्ने’ फैसला भएको थियो। 

सोसँगै ग्रान्डी सिटी पुनरावेदनमा काठमाडौं जिल्ला अदालतमा पुगेकोमा २०७९ फागुन २९ गते पुरानो फैसला सदर भएको थियो। त्यसपछि रूप ज्योति उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा पुगे। उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै जिल्लाको आदेश रोकेको थियो। तर फेरि २०८१ असारमा पूर्ण सुनुवाइ हुँदा उच्च अदालत पाटनले अन्तरिम आदेश खारेज गर्ने फैसला गर्‍यो।

त्यसयता झण्डै २ महिनाअगाडि काठमाडौं महानगरपालिकाले दुवै पक्षलाई छलफल गरी खाली गराउन समयसीमासहितको कार्ययोजना माग गरेको थियो। 

महानगरसँगको छलफलमा ग्राण्डी सिटीले २ वर्षको समय माग गरेको थियो। तर पद्म ज्योतिले २ वर्षको समय माग्नु घर हडपिराख्ने नियत भएको भन्दै असहमति जनाए। 

विवादकै बीच काठमाडौं महानगरपालिकाले गत असोज १३ गते सूचना जारी गर्दै कात्तिक ६ गतेसम्म खाली नगरे डोर पठाउने पत्राचार गरी कात्तिक ७ गते घर फ्ल्याट खाली गराउन भनेको पद्म ज्योतिले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

‘हामीले अस्पताल बन्द गराउन खोजेका होइनौँ, सम्पूर्ण अस्पतालको जम्मा १०/१५ प्रतिशत भाग मात्रै पद्म ज्योतिको घर÷फ्ल्याट रहेको छ’, पद्म ज्योतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘८५/९० प्रतिशत अस्पताल रूप ज्योतिकै घरमा छ।’

पद्म ज्योतिले घर खाली गराउनुपर्छ भन्ने जानकारी थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अनन्तकालसम्म गैरकानुनी ढंगले कब्जा गर्न खोजिएको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad