चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणमा बैंकहरूको बिग्रिएको वासलात सार्वजनिक भएको छ।
बैंकहरूले सार्वजनिक गरेको साउन, भदौ र असोज महिनाको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश बैंकहरूको नाफा घटेको तथ्यांक देखिएको हो ।
गएको तीन वर्षदेखि बैंकहरूले अधिक तरलताका भार बोक्दै आएका छन्। यसले उनीहरूको ब्याज आम्दानीलाई खुम्च्याउँदै लगेको छ भने कर्जा असुलीको भार थपिँदै गएको छ। सोही कारण त्यसको असर समग्र नाफामा देखिन थालेको हो।
चालू आवमा नाफामा गिरावट आउनुको प्रमुख कारण पनि असुली दबाब, खस्किँदो ब्याज आम्दानी, अधिक तरलता, बढ्दो खराब कर्जा र त्यसमा छुट्याउनुपर्ने रकम बढ्नु हो। यिनै कारण चालू आवको पहिलो तीन महिना बैंकहरूका लागि सुखद बन्न सकेन।
२० वाणिज्य बैंकमध्ये जम्मा ५ वटा बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। बाँकी १५ वटाको भने यो वर्ष गत वर्षको तुलनामा नाफा थप घटेको छ।
अंकका हिसाबले पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा गर्ने ग्लोबल आईएमई बैंकको नाफा गत वर्षको तुलनामा २२.९१ प्रतिशतले बढेको छ।
गत वर्ष बैंकले १ अर्ब ५१ करोड नाफा गरेकोमा यो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड बराबरको नाफा गरेको छ।
योबाहेक चालू आवको पहिलो त्रैमासिकमा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले नाफामा सुधार गरेका छन्।
अन्य १५ वटा वाणिज्य बैंकले भने गत वर्षको पहिलो त्रैमासिकको तुलनामा यो वर्षको पहिलो त्रैमासिकमा कम नाफा कमाएका हुन्।
नबिल पछि पर्दा ग्लोबल उक्लियो
गत वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको नबिल बैंक यस पटक नाफा घटेर दोस्रो नम्बरमा ओर्लिएको छ।
चालू आवमा ग्लोबल आईएमई बैंक पहिलो र नबिल दोस्रो नम्बरमा देखिएका हुन्। १ अर्ब ८५ करोड नाफा कमाउँदै ग्लोबल आईएमई पहिलो नम्बरमा देखियो भने दोस्रोमा पुगेको नबिलको १ अर्ब ७५ करोड नाफा छ।
चालू आवको पहिलो त्रैमासिकमा नबिलको नाफामा १४.५६ प्रतिशतले गिरावट आएको हो। गत वर्षको पहिलो त्रैमासिकमा २ अर्ब ५ करोड नाफा कमाउँदै सर्वाधिक नाफा कमाउने बनेको थियो।
समग्रमा चालू आवको पहिलो त्रैमासिकमा नाफमा अर्बको क्लबभित्र ५ वटा बैंक पर्न सफल बनेका छन्। गत वर्ष अर्बको क्लबमा ६ बैंक परेका थिए। चालू आवमा भने नाफा खस्किएर एनएमबी बैंक अर्बको क्लबबाट बाहिरिन पुगेको छ।

कुन बैंकको नाफा कति प्रतिशतले घट्यो?
पहिलो त्रैमासिकमा सबैभन्दा धेरै सिटिजन्स बैंकको नाफा घटेको छ। यो बैंकको नाफा गत वर्षको तुलनामा २११ प्रशितले घटेर २२ करोडले ऋणात्मक बन्न पुगेको छ।
यस्तै कृषि विकास बैंकको नाफा ९७ प्रतिशत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९६.९२ प्रतिशत, प्रभु बैंकको ४६.३३ प्रतिशत, नेपाल एसबीआई बैंकको ३८.३१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ३८.०३ प्रतिशत, एनएमबी बैंकको २०.०५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.७२ प्रतिशत, माछापुच्छ्रे बैंकको १६.९५ प्रतिशत, सिद्धार्थ बैंकको १५.१८ प्रतिशत, नबिल बैंकको १४.५६ प्रतिशत, हिमालयन बैंकको ३.२४ प्रतिशत, नेपाल बैंकको २.३ प्रतिशत, कुमारी बैंकको २ प्रतिशत र प्राइम बैंकको २.१९ प्रतिशतले नाफा घटेको छ।
Shares

प्रतिक्रिया