कारोबार


राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमा कसको सम्भावना बलियो?

राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमा कसको सम्भावना बलियो?

दीपक भट्ट
फागुन २०, २०७७ बिहिबार ६:३,

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको दुवै पद रिक्त भएको छ। चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ मंगलबारदेखि आफ्नो कार्यकाल पूरा भएर बाहिरिएपछि दुवै डेपुटी गभर्नरको पद रिक्त बनेको हो।

रिक्त पदमा मन्त्रिपरिषद् बैठकले नयाँ नियुक्ति गर्ने व्यवस्था छ। तर त्यसको प्रक्रियाको लागि भने गभर्नरले ४ जना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने हुन्छ।

सो सिफारिसलाई अर्थमन्त्रीले मन्त्रिपरिषद्मा पुर्याउने र मन्त्रिपरिषद्ले दुई जनालाई नियुक्त गर्ने प्रावधान छ।

सोहीअनुसार आगामी मन्त्रिपरिषद्को बैठकमा सो प्रावधान पठाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठका अनुसार सरकारले छिट्टै डेपुटी गभर्नरको नियुक्ति गर्दै छ।

उनले भने, ‘डेपुटी गभर्नर नहुँदा राष्ट्र बैंकमा धेरै काम समेत रोकिने भएकोले सरकारले यसलाई धेरै समय अड्काउने देखिँदैन।’

हरेक हप्ता मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। डेपुटी गभर्नर नियुक्तिको विषय गम्भीर भएकोले आउँदो साता सरकारले निर्णय लिने आकलन रहेको राष्ट्र बैंककै अधिकारी बताउँछन्।

नेपाल राष्ट्र बैंकमा हाल १७ जना कार्यकारी निर्देशक छन्। सोही कार्यकारी निर्देशकहरुबाट ४ जनाको नाम सिफारिस हुनेछ। तीमध्ये २ जना नियुक्त हुनेछन्।

तर अहिले कसलाई नियुक्ति दिइएला भन्ने विषय भने अलि रोचक मोडमा पुगेको छ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलको सल्लाहमा ४ जनाको नाम तयार पारिसकेको स्रोतको दाबी छ। स्रोतका अनुसार ४ जनामा सरकारले नियुक्ति दिनसक्ने दुई जना वरिष्ठ कार्यकारी निर्देशक रहेका छन्।

स्रोतले भन्यो, ‘अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ, देवकुमार ढकाल, गुणाकार भट्ट, निलम ढुंगाना तिमिल्सिनाको नाम गभर्नर अधिकारीले तयार गरेका छन्।’

अर्थमन्त्री निकट रहेकोले र राष्ट्र बैंकबाट काजमा तानेर अर्थमन्त्रीले आफ्नो सल्लाहकार समेत बनाएकोले श्रेष्ठलाई डेपुटी गभर्नरको प्रमुख आकांक्षी व्यक्तिको रुपमा लिइएको छ।

त्यस्तै राष्ट्र बैंकका अर्को कार्यकारी निर्देशक देवकुमार ढकाल प्रधानमन्त्रीको गृहजिल्लाको भएको र वरिष्ठ समेत रहेकोले पनि उनलाई दाबेदारको रुपमा हेरिएको हो।

तर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रुपमा समेत अप्ठ्यारोमा छन्। उनीविरुद्ध नै संसदमा अविश्वासको प्रस्ताव समेत जाने तयारी भइरहेको समयमा प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ आवश्यक देखिएको छ।

त्यसलाई ‘म्यानेज’ गर्नको लागि उनले सरकारले गर्ने नियुक्तिमा नेपाली कांग्रेस निकट समेतलाई हेर्नुपर्ने देखिएको छ।

सोही कारण अहिले अनुसन्धान विभागको नेतृत्व गरिरहेका गुणाकर भट्ट पनि डेपुटी गभर्नरको प्रतिस्पर्धामा देखिएका छन्।

त्यसैगरी अहिले राष्ट्र बैंककी कार्यकारी निर्देशक निलम ढुंगाना तिमिल्सिना पनि प्रतिस्पर्धामा जोडिएकी छिन्। उनी महिला भएको र सरकारले महिलालाई अघि बढाएर लोकप्रियता देखाउन पनि उनलाई डेपुटी गभर्नर बनाउने सम्भावना रहेको छ। त्यसो त निलम ढुंगाना तिमिल्सिना आफैँमा सक्षम व्यक्ति हुन्।

डेपटी गभर्नर नेपाल राष्ट्र बैंकभित्रबाटै हुनुपर्ने प्रावधान छ। त्यसमा पनि कार्यकारी निर्देशक नै हुनुपर्ने व्यवस्था छ। तर अन्य कुनै योग्यता नभएको अर्थमन्त्रीका सल्लाहकार प्रकाश कुमार श्रेष्ठ बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .