कारोबार


अन्ततः ईयू र बेलायतले गरे ब्रेक्जिटपछिको व्यापार सम्झौता

अन्ततः ईयू र बेलायतले गरे ब्रेक्जिटपछिको व्यापार सम्झौता

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ८:११,

बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का सन्दर्भमा बेलायत र युरोपेली युनियन (इयू)बीच दश महिनादेखि जारी वार्ता सहमतिमा टुङ्गिएको हो।

नयाँ वर्षको आगमनसँगै बेलायत औपचारिक रुपमा इयूबाट अलग हुनेछ। झण्डै आधा शताब्दीदेखि इयूमा आबद्ध बेलायतले पछिल्लो सम्झौता बमोजिम इयूबाट अलग भएसँगै इयूसँगको व्यापारमा करका प्रावधानहरु सामना गर्नु पर्नेछ।

सम्झौतापछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भने, “हामीले हाम्रा कानुन र हाम्रो भविष्यलाई पुनः फिर्ता ल्याएका छौं ।”

उता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन लियेन भने निकै सचेत देखिएकी थिइन्।

अंग्रेजी नाट्यकार विलियम शेक्सपियरको ‘विभाजन एक मीठो दुःख हो’ भन्ने उक्ति उद्धृत गर्दै उर्सुलाले भनिन्, ‘मध्यस्थताको सफल यात्राको अन्त्यमा मैले पनि खुशी अनुभव गरेको छु। तर आज, म शान्त छु, अझ खुलेर भन्नुपर्दा मैले सन्तोषको श्वास फेर्न पाएकी छु।’

उनले अझै पनि २७ मुलुक युरोपेली युनियनमा आबद्ध रहेका र झण्डै ४ करोड ४० लाख युरोपेलीले युनियनलाई नै विश्वास गरेकामा आभार व्यक्त गरिन्।

उनले भनिन्, ‘अब हामीले ब्रेक्जिटका कुरा छाड्ने दिन आइसक्यो। हाम्रो भविष्य युरोपमै छ।’

बेलायतले सन् २०१६ को जनमतसंग्रह पछि नै युरोपेली युनियन छाडेको थियो। दोस्रो विश्वयुद्धबाट थिलथिलो भएको युरोपको पुनर्निर्माण र राजनीतिक तथा आर्थिक परियोजनालाई सफल तुल्याउन इयू बनेको थियो।

तर लन्डन अझै पनि डिसेम्बर ३१ को मध्यरातसम्म इयूका नियमहरुभित्रै रहनेछ। तर त्यसपछि बेलायत युरोपेली युनियनको एकल बजार र भन्सार युनियनबाट विदा हुनेछ।

करिब दुई हजार पृष्ठको ब्रेक्जिट सम्झौतामा माछा मार्ने विषय निकै पेचिलो मुद्दा बनेको थियो। बेलायतको समुद्री जलक्षेत्रमा युरोपेली युनियनका मुलुकका नागरिकलाई माछा मार्न पहुँच दिने वा नदिने भन्नेमा निकै लामो बहस भएको थियो।

बेलायती प्रधानमन्त्री जोन्सनले इयूसँगको सम्झौता पूरै युरोप र हाम्रा साझेदार सबै मुलुकका लागि निकै सकारात्मक रहेको बताए।

ब्रेक्जिटमा सम्झौता भएलगत्तै आइरिस प्रधानमन्त्री माइकल मार्टिनले सम्झौता त्यति खराब नरहेको प्रतिक्रिया दिए।

जर्मन चान्सलर एन्जेला मर्केलले सम्झौताले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले युरोपेली मुलुकहरुको एकता र दृढता विजयी भएको बताए।

सम्झौताको दस्तावेजलाई अब युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकमा पठाइने युरोपेली आयोगकी अध्यक्ष लियेनले जानकारी दिए।

यस सम्झौतालाई युरोपेली राष्ट्रले अध्ययन गर्नेछन् भने बेलायतमा डिसेम्बर ३० का दिन सम्झौतामा मतदान हुनेछ। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad