अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौं महासभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने बताएका हुन्।
सरकारले घोषणा गरेका यस्ता प्रबन्धहरु पर्याप्त नभएमा निजी क्षेत्रसँग छलफल गर्न आफू तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए।
‘कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सरकारले के कस्ता निर्णय गर्नुपर्छ सुझाव दिनुहोस्’, मन्त्री पौडेलले निजी क्षेत्रसँग आग्रह गर्दै भने, ‘निजी क्षेत्र उत्साह र आत्मविश्वासको साथ अगाडि बढेमा सरकार हात र साथ दिन तयार छ।’
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायिक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए।
कोभिडकोबिचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको दावी गभर्नर अधिकारीको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडबाट प्रभावित अर्थतन्त्रको सुधारका लागि सरकारले स्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिए। उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीतिनियम ल्याउनुपर्ने माग गर।े
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको कारण व्यवसाय बन्द हुने वा क्षमता अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको बताए।
‘त्यसैले बन्द उद्योग व्यवसाय पुनस्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, सरकारी राजश्व बढाउने सम्बन्धमा सरकारको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको छ’, ढकालले भने।

प्रतिक्रिया