संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मस्जिदहरु धार्मिक सहिष्णुता र सदभावको नमूना भएको बताएका छन्।
शनिबार काठमाडौँको घण्टाघरस्थित पञ्च काश्मिरी तकिया निरीक्षण गदै मन्त्री भट्टराईले राजधानीको सेन्टरमा नारायणहिटी दरवारको दुई सय मिटर नजिक रहेको मस्जिदलाई नेपालको धार्मिक सहिष्णुता तथा सद्भावको नमूनाको रुपमा लिनुपर्ने बताएका हुन्।
मन्त्री भट्टराईले अन्य देशमा धेरै धार्मिक युद्ध भएको तर नेपालमा अरु राजनीतिक आन्दोलन भए पनि धार्मिक आन्दोलन नभएको बताए। ‘बहुल संस्कृति भएकाले हिन्दुको संस्कृति बौद्धले, बौद्धको संस्कृति हिन्दुले तथा एकले अर्काको धर्म संस्कृति मनाउने विश्वमा नेपाल एक छुट्टै पहिचान भएको देश हो’, उनले भने।
मन्त्री भट्टराईले जनसंख्या थोरै धेरै भए पनि सरकार सबैको भएको बताउँदै संविधानमा नै नेपालमा प्रचलित रहेको धमर्, संस्कृतिको संरक्षण र सम्बद्धन गर्ने दायित्व राज्य भएको उल्लेख गरे।
मन्त्री भट्टराईले पहिलो पटक मस्जिदका लागि बजेट विनियोजन गरेको बताउँदै पाँच सय बर्ष पुरानो पञ्च काश्मिरी तकिया संरक्षण सम्बद्धन गर्ने काम सरकारको भएको बताए। ‘यो मस्जिद भारतको बाबरी मस्जिदभन्दा पुरानो हो’, उनले भने, ‘सरकार तपाईंहरुको पनि हो भन्ने अनुभूति दिलाउन पर्यटन मन्त्रालयले ४० लाख रकम विनियोजन गरेर काम सुरुवात गरेको छ।’
उनले मदरसा शिक्षालाई औपचारिक शिक्षाको रुपमा मान्यता दिई सकेको बताउँदै मदरसामा शिक्षा लिने बालबच्चाहरुलाई अहिलेका आधुनिक प्रविधि मैत्री बनाउदै प्रतिस्पर्र्धी बनाउनुपर्नेमा जोड दिए।
मन्त्री भट्टराईले काठमाडौका कुनै पनि स्थानमा सय वर्षसम्म हुने गरी स्थायी खालको कब्रस्थान बनाउन जग्गा खोजी गर्न आग्रह गर्दै निर्माणका लागि सरकारले सहयोग गर्ने समेत बताए।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थान र विकासको सरकारले रकम विनियोजन गरेपछि मुस्लिम समुदायमा खुसियाली छाएको बताउँदै सवै समुदायलाई समेटेर अगाडि बढेमा सरकारको समृद्ध नेपाल शुखी नेपालीको नारा साकार हुने बताए।
त्यस्तै पुरातत्व विभागमा महानिर्देशक दामोदर गौतमले १५ आँै शताब्दीमा निर्माण भएको सो मस्जिद नेपालको पुरानो मस्जिद भएको उल्लेख गदै राजा रत्न मल्लले ब्यापारको सिलसिलामा भारतको काश्मिरी मुसलमान नेपाल भित्रिएको र पछि प्रताप मल्लको पालादेखि सो मस्जिद अस्तित्वमा आएको बताए।

प्रतिक्रिया