कारोबार


बाढीले मध्यभोटेकोशी हाइड्रोमा अर्बौंको क्षति, चिनियाँ प्राविधिक बेपत्ता

बाढीले मध्यभोटेकोशी हाइड्रोमा अर्बौंको क्षति, चिनियाँ प्राविधिक बेपत्ता

नेपालखबर
असार २५, २०७७ बिहिबार १०:२४,

बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ। निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ। एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए।

आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ।

उनले भने, ‘आयोजनाका लागि तीन वटा टर्बाइन रनर, जीआइएस र जिटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो। ती सबै बाढीले बगाएको अनुमान छ।’

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताए।

‘ड्याममा क्षति भएको छ। पावर हाउसमा पहिरो गएको छ। आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ’, उनले भने।

मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उनले जानकारी दिए।

सभामुख प्रभावित क्षेत्रमा
सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसेको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। यसैगरी वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

चार घाइतेलाई काठमाडौं लगियो
बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौं लगिएको छ। बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad