कारोबार


जनता एग्रोमा ५ करोड संस्थागत लगानी थपिने, पुँजी पुनः निर्धारण गरिँदै

जनता एग्रोमा ५ करोड संस्थागत लगानी थपिने, पुँजी पुनः निर्धारण गरिँदै

नेपालखबर
असार २८, २०८३ आइतबार १४:५९, काठमाडौँ

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को प्रक्रियामा रहेको जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने र पुँजी पुनः निर्धारण गर्ने निर्णय गरेको छ। 

शुक्रबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले यस्तो निर्णय गरेको हो।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिले कम्पनीको संस्थापक सेयरतर्फको जगेडा रहेको सेयरमा लगानी गर्ने प्रस्ताव गरेका थिए। विशेष साधारणसभाले दुईवटै कम्पनीलाई प्रतिकित्ता १२५ रुपैयाँका दरले २/२ लाख कित्ता सेयर दिने निर्णय गरेको छ। 

अब जनता एग्रोमा यी दुई कम्पनीको कुल ५ करोड रुपैयाँ बराबरको सेयर रहनेछ।

२ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको जनता एग्रोले न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया सुरु गरेको छ। विशेष साधारणसभाले उक्त प्रयोजनको लागि सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।

जनता एग्रोको यसअघि २०८२ मंसिरमा सम्पन्न साधारणसभाले आईपीओ जारी गर्ने निर्णय गरेको थियो। आईपीओ प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी ढाँचाअनुरुप सम्पन्न गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्सलाई नियुक्त गरिसकिएको छ।

विशेष साधारणसभाले कम्पनीको नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। कम्पनीको आईपीओ निष्काशन प्रक्रिया, नेपाल धितोपत्र बोर्डको प्रचलित मापदण्ड, नियामकीय व्यवस्था र सुशासनसम्बन्धी व्यवस्था अनुरुप नियमावलीको नियम २७ (३) संशोधन गरी सञ्चालक समितिमा दुईजना स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व सम्बन्धी व्यवस्था गरिएको छ।

जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड ‘खेतीदेखि बिक्रेतासम्म’ को अवधारणालाई आत्मसाथ गर्दै कृषि तथा वन पैदावारका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता पूर्ति गर्ने लक्ष्यसाथ स्थापित कम्पनी हो। सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणले आईपीओ निष्कासनसँगै कम्पनीले आफ्नो आगामी यात्रालाई अझ सुदृढ र उत्तरदायी ढंगले अघि बढाउने विश्वास व्यक्त गरे।

‘प्राकृतिक स्रोत र मानव क्षमतालाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै ‘समृद्ध राष्ट्र र सुखी नेपाली’ को अभियानमा योगदान पुर्‍याउने हाम्रो प्रमुख उद्देश्य रहेको छ,’ उनले भने, ‘तोकिएको मापदण्डमा बाली र फलफूल उब्जाउन करार सम्झौतामा किसानलाई जोड्दै जानेछौं, त्यसो हुँदा किसानलाई आफूले गरेको लगानी र त्यसले पाउने बजारको विषयमा पनि ढुक्क हुनेछ।’

कम्पनीका बिजनेश एक्सिलेन्स तथा स्ट्राटेजी प्रमुख अंकिता बगेडियाले जनता एग्रोको ध्यान केबल व्यवसाय विस्तारमा मात्र सीमित नभई मापनयोग्य र दीर्घकालीन मूल्य सिर्जना गर्ने एकीकृत कृषि प्रणाली निर्माणमा केन्द्रित रहेको बताइन्।

‘किसान, आधुनिक प्रशोधन, जिम्मेवार लगानी र बलिया नेपाली ब्रान्डहरूलाई एउटै मूल्य शृंखलामा जोड्दै स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, आयातमा निर्भरता घटाउने र पुस्तौंसम्म दिगो वृद्धि दिनसक्ने संस्था निर्माण गर्नु हाम्रो लक्ष्य हो,’ उनले भनिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad