कारोबार


मोटरस्पोर्ट्सले जित्यो ऐतिहासिक एसियाली स्वर्ण

मोटरस्पोर्ट्सले जित्यो ऐतिहासिक एसियाली स्वर्ण

नेपालखबर
असोज १९, २०८२ आइतबार १७:५०, काठमाडौँ

नेपाली मोटरस्पोर्टसका खेलाडीहरुले एसिया प्यासिफिक च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्।

पहिलोपटक अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको अफिसियल इभेन्टमा नेपालले स्वर्णपदक जित्दै एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हासिल गरेको हो। 

गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा १८ राष्ट्रका २०४ खेलाडीबीच सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती ‘रोनी’ले अटो जिमखाना (पुरुष एकल) विधामा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्समा सुनौलो अक्षरमा लेखेका छन्।

ललितपुरका ३१ वर्षिय आशिषको यस सफतलाको यात्रा थप प्रेरणादायी पनि रह्यो। पहिलो दिनको अभ्यासमा उनी १६औँ स्थानमा मात्र थिए, दोस्रो दिन भएको अर्को इभेन्ट एशिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौँ स्थानमा पुगे र त्यसपछि आत्मविश्वाससहित मुख्य प्रतियोगितामा प्रवेश गरे। अन्तिम दिनको मुख्य प्रतिस्पर्धाको छनोट चरणमा उनी दोस्रो स्थानमा रहे र अन्ततः शीर्ष आठको फाइनलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भए। 

सो च्याम्पियनसिपमा नेपालले अष्ट्रेलिया र जापानसगै एक–एक स्वर्ण जित्दै सातौँ स्थानमा साझा स्थान सुरक्षित गर्‍यो। पदक तालिकामा फिलिपिन्स शीर्ष स्थानमा रह्यो, जसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्यो। श्रीलङ्का र हङकङले पनि दुई–दुई स्वर्णसहित क्रसशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे। मलेसिया, भारत र क्रिग्रिस्थानले एक स्वर्ण सहित क्रसशः चौथो, पाचौँ र छैटौ रहे। चाइनीज ताइपेइ, पाकिस्तान, उज्बेकिस्तान र दक्षिण कोरियाले भने रजत र कास्यमै चित्त बुझाए। चीन, सिङ्गापुर, माल्दिभ्स र बङ्गलादेश भने कुनै पदक जित्न नसकेर तालिकाको अन्त्यमा रहे।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) मार्सल एन्ड ट्रेनिङ्ग कमिसनका सचिव तथा सो च्याम्पियनसिपका लागि नेपाली टिम म्यानेजर आशिष रौनियारले यस उपलब्धि साझा मिहिनेतको परिणाम भएको बताए। 

प्रत्येक दुई–दुई वर्षमा एसिया प्यासिफिक क्षेत्रका देशहरुको विचमा हुने सो एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपको यस दोस्रो संस्मरणमा कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम, अटो जिमखाना, क्रस–कार अटोक्स र ई–स्पोर्ट्स गरी ६ विधा र १२ विधागत वर्गमा प्रतिस्पर्धा भएको थियो। नेपालले अटो जिमखानामा तीन, क्रसकार–अटोक्रसमा दुई र ई–स्पोर्ट्समा एक गरी कुल ६ खेलाडी सहभागी गराएको थियो। तीमध्ये आशिष भारतीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जिते भने अन्य अधिकांश खेलाडीहरुले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय अनुभवमा सशक्त उपस्थिति जनाए।

मोटरसाइकल रेसिङ्गका नेसनल च्यापियन राजकुमार कार्कीले पहिलोपटक चारपाङ्ग्रे प्रतिस्पर्धामा हात हाल्दै अन्तर्राष्ट्रिय डेब्यू गरे, यद्यपि शीर्ष १६ मा प्रवेश गर्न सकेनन्। महिला अटो जिमखाना एकलमा बिपास्ना तामाङले दशौँ स्थान सुरक्षित गरिन्। उनी शीर्ष आठमा पुग्न भने असफल भइन् तर उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता नै नेपालमा महिला मोटरस्पोर्ट्सका लागि प्रेरणा बनेको छ। 

जय प्रताप मास्के र रबिन सुनवारका लागी पनि क्रसकार–अटोक्रस पहिलो अन्तर्राष्ट्रिय अनुभव हो। जहाँ उनीहरूले व्यावसायिक र्याली चालकहरूसँग प्रतिस्पर्धा गर्दै सम्मानजनक प्रदर्शन गरे। अन्तर्राष्ट्रिय क्रसकार विभामा पहिलो नेपाली सहभागिता रहेकोमा जयले सेमिफाइनल राउण्डमा पुग्नुनै एउटा उपलब्धिको क्षण हो, जहाँ उनले १२ औँ पक्का गरे। त्यस्तै, सेमिफाइनल पुग्न नसके पनि रबिनको पनि पहिलो अन्तर्राष्ट्रिय अनुभव शिकाईयोग्य रह्यो, जसबाट उनको अन्तर्राष्ट्रिय ट्रयाकको ढोका खुलेको छ।
 
प्रतियोगिताका अर्का सहभागी रोशन अधिकारीले ई–स्पोर्ट्समा नेपालको प्रतिनिधित्व गरे। रोजगारीको सिलसिलामा हाल अष्ट्रेलियामा रहेका उनको सहभागीले समर्पण र लगावलाई प्रष्ट पारेको छ। मोटरस्पोर्टस् भित्रको सिम–रेसिङ्ग लोकप्रिय र सहज विधा हो, जहाँ नेपाली खेलाडीहरुबाट आगामी दिनमा पदकको समेत आशा गर्न सकिन्छ।

ऐतिहासिक उपलब्धिसहित नेपाली टिम मध्य दशैँका दिन स्वदेश फर्किसकेको छ, एउटा गर्विलो ट्रयाक बनाउदै र दुर भविष्यको गन्तव्य तय गर्दै। नेपालको यो सफलता अझ महत्वपूर्ण यस कारणले पनि हो कि मोटरस्पोर्ट्स विश्वकै सबैभन्दा लोकप्रिय र व्यावसायिक खेलमध्ये एक हो। अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) र अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम) अन्तर्गत सञ्चालन हुने यस्ता खेलमा नेपाल करिब १६ वर्षअघि मात्रै संस्थागत रूपमा प्रवेश गरेको हो। 

सन् २००८ मा स्थापना भएको नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा नेपाल) ले यस अवधिमा विभिन्न राष्ट्रिय प्रतियोगिता, तालिम, पूर्वाधार विकास र युवा आकर्षणका कार्यक्रममार्फत मोटरस्पोर्ट्सलाई देशमा स्थापित गर्न निरन्तर प्रयास गर्दै आएको छ। अझै पनि नेपालमा अत्याधुनिक मोटरस्पोर्ट्स ट्रयाक वा विश्वस्तरको सुविधा नभएको अवस्थामा यो सफलता प्राप्त हुनु अझै उल्लेखनीय मानिन्छ।

नेपाली मोटरस्पोर्टस्को यो उपलब्धिले नेपाली खेलकुदमा नयाँ सम्भावनाको ढोका खोल्दै एक नयाँ आशाको संचार गरेको छ। हालै दुबईमा सम्पन्न क्रिकेट प्रतियोगिता, स्पेनमा भएको ट्रेल रनिङ र श्रीलङ्कामा सम्पन्न मोटरस्पोर्ट्समा नेपालको उपलब्धिले देखाएको विविधता र साहसले नेपाली खेलकुदको स्तर र दिशा दुवै परिवर्तन भइरहेको सन्देश दिएको छ। 

नेपालले खेलकुदलाई साहसिक पर्यटनसँग जोड्न सकेमा यसले खेलाडीलगायत देशकै पहिचान र पर्यटन उद्यमलाई नयाँ उचाइमा पुर्‍याउनेछ। मोटरस्पोर्ट्ससँगै नेपाललाई अन्तर्राष्ट्रिय साहसिक खेलगन्तव्यको रूपमा प्रवद्र्धन गर्ने अवसर पनि यही सफलताले उजागर गरेको छ। 

एशिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप–२०२५ मा नेपालले जितेको यो स्वर्ण केवल पदक मात्र होइन, नेपाली मोटरस्पोर्ट्सको नयाँ युगको सुरुवातको प्रतीक पनि हो, जसले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स परिवारमा सम्मानजनक स्थान दिलाएको मात्र नभई आगामी दिनमा साहसी नयाँ पुस्ताका लागि थप अवसरहरू सिर्जना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad