कारोबार


भारतबाट मूल्य घटेर आए पनि निगमले घटाएन खाना पकाउने ग्यासको मूल्य

ग्यासको खरिद मूल्य घटेको जानकारी निगमले लुकायाे
भारतबाट मूल्य घटेर आए पनि निगमले घटाएन खाना पकाउने ग्यासको मूल्य

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८२ बुधबार ८:७, काठमाडौँ

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य नघटाएको पाइएको छ। 

आईओसीले मूल्य बढाएर पठाएको भन्दै निगमले गएको सोमबार साँझ पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको थियो। तर, प्रतिसिलिन्डर ५१ रुपैयाँ भाउ घटेर आए पनि निगमले ग्यासको मूल्य भने यथावत राखेको हो।

निगमले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा आईओसीबाट पेट्रोल ७.६४ रुपैयाँ, डिजेल ९.१३ रुपैयाँ र हवाई इन्धन ६.८८ रुपैयाँ प्रतिलिटर बढेर आएको भन्दै त्यहीअनुसार मूल्यवृद्धि गरेको थियो। तर, ग्यासको मूल्य घटेर आए पनि विज्ञप्तिमा त्यसको उल्लेखसमेत गरिएको छैन। 

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। तर, मूल्य घटेर आए पनि खाना पकाउने ग्यासको मूल्य नघटाएको भन्दै सरकारको आलोचना भएको छ। 

आइतबार साँझ निगमले पेट्रोलमा ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ५१ अमेरिकी डलर प्रतिकिलोलिटर मूल्यवृद्धि गरेको छ। तर, ग्यासको खरिद मूल्य घटेको जानकारी भने निगमले लुकाएको हो। 

निगमका अधिकारीहरुले ग्यासमा प्रतिसिलिन्डर १९७ रुपैयाँ घाटा हुने गरेको बताउँदै आएका छन्। सोही कारण यसपटक ग्यासको मूल्य घटेर आए पनि निगमले त्यसलाई गोप्य राखेको निगम स्रोतले जनाएको छ।  

अहिले खाना पकाउने ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिन्ड १९ सय १० रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad