कारोबार


जगदुल्ला ठेक्का प्रकरण : उच्च अदालतले माग्यो खरिद प्रक्रियाको सक्कल फाइल, जेठ २ गते अर्को पेसी

जगदुल्ला ठेक्का प्रकरण : उच्च अदालतले माग्यो खरिद प्रक्रियाको सक्कल फाइल, जेठ २ गते अर्को पेसी

उर्जामन्त्री दीपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनीका सीईओ सञ्जय सापकोटा


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १७:१, काठमाडौँ

डोल्पामा बन्ने १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको विवादित ठेक्कासम्बन्धी रिटमा उच्च अदालत पाटनले खरिद प्रक्रियासम्बन्धी सबै सक्कल फाइल झिकाउने आदेश दिएको छ। 

न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले आयोजनाको आह्वान भएको टेन्डरमा बोलपत्रबमोजिमको खरिद प्रक्रियासम्बन्धी मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउने आदेश दिएको हो। 

यसको आगामी पेसी जेठ २ गते तोकिएको छ। 

आदेशमा भनिएको छ, ‘यसमा निवेदनमा उल्लिखित बोलपत्रबमोजिमको खरिद प्रक्रियासम्बन्धी मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी मिति २०८२/०२/०२ गते शुक्रबारको पेसी तोकी सो दिनका लागि विपक्षी कार्यालयबाट झिकाई नियमानुसार पेस गर्नु।’

यसअघि २३ गते न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासमा यससम्बन्धी रिट सुनुवाइ भएको थियो। उक्त इजलासले आज (मंगलबार)का लागि अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो। 

उक्त ठेक्का प्रक्रियामा सहभागी सिउ इन्फ्रास्ट्रक्चर लिमिटेड र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन (एसआईएल–थ्रिएचसी जेभी)ले उच्च अदालतमा रिट दायर गरेको हो। 

सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया अघि बढेको भन्दै २२ गते एसआईएल–थ्रीएचसीले उत्प्रेषणसँगै परमादेश माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिटमा प्राविधिक प्रस्तावको मूल्यांकनमा योग्य ठहर गरिएका बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव मूल्यांकन नहुँदै न्यूनतम मूल्यांकित हुनसक्ने बोलपत्रदाताको पहिचान भइसकेकाले सार्वजनिक खरिदको विश्वसनीयता र स्वच्छताको मर्मप्रतिकूल रहेको दाबीसहित बोलपत्रका सबै काम बदर गर्न माग गरिएको थियो।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१ (३) विपरीत हुने गरी प्रथमदृष्टिमा नै प्रत्यक्ष कानुनी त्रुटि विद्यमान भएकाले थप प्रक्रिया अघि बढ्दा निवेदकलाई अपूरणीय क्षति हुने भएकाले बोलपत्र मूल्याङ्कन, स्वीकृति तथा खरिद सम्झौतासम्बन्धी कार्य अघि नबढाई यथास्थितिमा राख्न विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश दिनुपर्ने रिट निवेदकको माग छ।

जगदुल्लाको ठेक्कामा ४ वटा कम्पनीले आवेदन दिएकोमा २ वटा कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी एएनकेसँग जेभी गरेको जेसीई प्राविधिक मूल्यांकनमा छनोट भएका थिए। उक्त टेन्डरको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत उजुरी परिसकेका छन्।

जेसीई–एएनके जेभीले जगदुल्लाको ठेक्कामा झूठो कागजात बनाएको आरोप लागेको छ।

जेसीई–एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ र सिनो हाइड्रोले १३ अर्ब १४ करोड रुपैयाँ प्रस्ताव गरेको ‘लिक’ भएको थियो।

अख्तियारमा जेसीई-एएनकेविरुद्ध फर्जी कागजपत्रको विषयमा उजुरी परेको छ भने यसबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। सो टेन्डरको आर्थिक मूल्यांकनको प्रस्ताव यही वैशाख २४ गते सार्वजनिक भएको थियो। जसमा यसअघि ‘लिक’ भएको मूल्य र प्रस्ताव गर्ने जेसीई–एएनकेको आर्थिक प्रस्ताव मिलेको छ। त्योसँगै सोही जेभीले ठेक्का पाएको छ।

ऊर्जामन्त्री दीपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाको मिलेमतोमा यो कम्पनीलाई ठेक्का पार्ने गरी सेटिङ मिलाएर सूचना प्रकाशित गरिएपछि ठेक्का प्रक्रिया विवादमा फसेको  छ।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad