ट्राफिक व्यवस्थापनमा नाडाले ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ।
आज (सोमबार) नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ।
सो छलफलका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाबिच क्रिएटिभ र दिर्घकालीन उद्धेश्यका विषयहरूमा सहकार्यगरी अघि बढ्नु पर्ने बताएका थिए।
उनले पहाडी क्षेत्रमा चल्नु पर्ने ठूला सीसीका बाइकहरू पनि काठमाडौँ शहरभित्र चल्ने गरेको गुनासो गर्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाए। यसै क्रममा उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने भन्दै नाडाले एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नु पर्ने बताए।
उनले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेण्टर र पहिलो पल्ट सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनु पर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
छलफलको क्रममा नाडाका अध्यक्ष उपे्रतीले नाडाले आफ्नो आउँँदो ५०औं वार्षिक साधारण सभा अर्थात स्वर्ण उत्सव यही असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरु सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिँदै उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिकाको अपेक्षा गरे।
अध्यक्ष उप्रेतीले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत दिए।
सो छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले सो कार्यालयसँग पहिलेदेखि सहकार्य गर्दै आएकोले अहिले पनि नाडाले सहकार्यगरी अघि बढ्न चाहेको बताए। सो छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल समेतले समेत आफ्ना धारणा व्यक्त गरे।
Shares

प्रतिक्रिया