राजनीति


ओलीको ध्यान केन्द्रीय समितिमा

ओलीको ध्यान केन्द्रीय समितिमा

सागर न्यौपाने
असार १, २०८३ सोमबार १२:४३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सचिवालयमा अल्पमतमा परिसकेका छन्। आफ्ना विश्वासपात्र नेताहरू मात्र होइन, आफैले ११औँ महाधिवेशनमा पदाधिकारी जिताएका नेताले पनि यसपटक ओलीलाई साथ दिएनन्।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई हटाउन मोर्चाबन्दी कसेकै थिए। उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई अर्कै टिमबाट जितेर आएकाले उनलाई साथ दिने सम्भावनै थिएन। 

यति गर्दा पनि ओली १९ सदस्यीय सचिवालयमा अल्पमतमा पर्ने थिएनन्। तर उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतबाहेकका कोही नेता पनि उनको नेतृत्वमा एमालेलाई अगाडि लैजान सकिन्छ भन्नेमा उभिएनन्। 

यसको संकेत ओलीले बुझिसकेका छन्। त्यही भएर अब उनी प्रदेश र केन्द्रीय समितिमा रहेको आफ्नो बहुमत कायम राख्ने प्रयासमा छन्। त्यहीअनुसार, उनले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीसँग खुलेर आफ्ना कुरा राखेका छन्। 

जेठ ३१ गते बेलुका ७ देखि ९ बजेसम्म भक्तपुरको गुण्डुस्थित निवासमा बोलाएर ओलीले प्रष्ट शब्दमा पद नछोड्ने बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए। ‘अध्यक्षज्यूले म कुनै हालतमा छोड्दिनँ, म जुन विधि र प्रक्रियाबाट आएँ, विधिसम्मत मलाई कसैले हटाउन सक्तैन भनेर भन्नुभयो,’ ती नेताले ओलीको भनाई उद्धृत गर्दै नेपालखबरसँग भने, ‘म हट्नु भनेको लोकतन्त्र कमजोर हुनु हो। पार्टी कमजोर हुनु हो, त्यही भएर तपाईहरूले साथ दिनुहोस्।’

११औँ महाधिवेशनबाट निर्वाचित भएर आए पनि आफूलाई हटाउन विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मोर्चाबन्दी गरेको कुराप्रति ओली असन्तुष्ट थिए। त्यही कुरा उनले छलफलमा सुनाए। ‘म टीका लगाएर आएको होइन, बकाइदा चुनाव जितेर, विपक्षीलाई हराएर आएको हुँ। मलाई कसैले हटाउन खोज्छ भने विधिबाटै हटाउनसक्नुपर्छ। त्यो दिवा स्वपना हो, कसैले सक्तैन,’ ती नेताले ओलीको भनाई उल्लेख गर्दै भने, ‘म फिजिकल्ली र मेन्टल्ली सक्षम छु। ज्वरो आयो म सक्तिन भन्दै पद छोड्दै हिड्ने हो भने त! जीवनमा यस्तो बिरामी त कति भएँ कति।’ 

बागमतीका नेतासँगको छलफलमा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुरा उठाउँदै आफ्नो तुलना गरे। ‘त्यसकारण म अन्तिमसम्म स्वास्थ्यले साथ दिएसम्म, मानसिक रुपमा स्वस्थ भएसम्म कुनै हालतमा छोड्दिनँ,’ ओलीको थप भनाइ थियो, ‘ट्रम्प र मोदी मभन्दा जेठा छन्। उनीहरूले शासन गर्न सक्ने मैले पार्टी चलाउन नसक्ने भन्ने हुन्छ र? त्यसकारण यो संकटको बेला जिम्मेवारी छोड्ने कुरा तपाईँहरू कसैले पनि नसोच्नुस्।’ 

पौडेल र पोखरेलले पार्टी विभाजन गर्नसक्ने वा त्यसको तयारी गरेको हुनसक्ने ओलीको आकलन थियो। ‘लोभीपापीहरू मलाई हटाउने उपाय खोजिरहेको सुनेको छु,’ ओलीले भनेको अर्का नेताले सुनाए, ‘अध्यक्षज्यूको मुड आक्रामक थियो।’ 

सहभागीले ओलीसँग सवाल जवाफ गरेनन्। उनको कुरा मात्र सुनिरहे। आफैँले पार्टी बनाउने भन्दै ओली विश्वस्त बनाउने कोसिस गरेका थिए। 

‘म पार्टी बनाउँछु । यो संकटमा भाग्नेवाला म होइन। म ढलेँ भने ढलेँ। म अलिकति पनि शिर झुकाउँदिनँ। ठाडो शिरका साथ म अगाडि जाने हो। यताउता केही गर्दिनँ,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने।

ओलीको कुरा सुनेर फर्किएका नेताहरूले पुरानै रटान जस्ताको रहेको र कहिँ पनि परिवर्तन नपाएको बताए।

केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी किन भेटिरहेका ओली?  

आफ्नो राजीनामा माग भएपछि गत जेठ १० गते सचिवालय बैठक राखेर ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्यदल गठन गराएका थिए। 

उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पदमा अर्याल र भानुभक्त ढकालसहित आठ वटै प्रदेशका इन्चार्जलाई कार्यदलमा राखिएको छ। एमालेले असार १९ गतेसम्म प्रदेशसहित देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले बताए। 

ओली तल्लो तहबाट आफ्नो राजीनामा माग नहोस् भन्ने चाहन्छन्। बागमती प्रदेशका एक पदाधिकारीका अनुसार सचिवालयमा एक्लै परेपछि ओलीले प्रदेश र केन्द्रीय सदस्य फकाइरहेका हुन्। जिल्लाका कतिपय नेताहरूलाई समेत ओलीले फोन गरेका छन्।   

‘अध्यक्षले नै विष्णु कमरेड र शंकर कमरेडले पार्टी फुटाउन लागेको भनेर किन भन्नुभएको त? कसरी फुटाउँछन् पार्टी? जबकि, पार्टी पुनर्गठन गर्न सुझाव संकलन भइरहेको छ,’ ती पदाधिकारीले भने।

बागमती प्रदेश अध्यक्ष कैलास ढुंगेलले अध्यक्षसँग समूहमा छलफल भएको बताए। ‘कार्यदलको बैठक सकिएको, सुझाव दिएकोबारे जानकारी दियौँ, नेताहरूले बोल्नुभयो,’ ढुंगेलले भने। 

विशेष महाधिवेशनबाट ओली हटाउने तयारी

गत फागुन २१ को प्रतिनिधि सभाको चुनावमा एमालेको शर्मनाक पराजय भएपछि ओली नेतृत्व असफल भएको भन्दै पदाधिकारीले राजीनामा गर्न आग्रह गरेका थिए। तर, ओलीले मानेनन्। 

त्यसपछि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले मोर्चाबन्दी गरेरै चैतदेखि ओली हटाउने योजना अघि बढाए। उनीहरूले ओलीलाई हटाउने तीन उपायमाथि छलफल पनि गरिसकेका छन्। 

पहिलो सचिवालयमै ओलीलाई अल्पमतमा पार्न सफल भए। अब उनीहरूको ध्यान केन्द्रीय समितिमा छ। त्यसपछि विशेष महाधिवेशनसम्म लगेर ओली हटाउन सकिनेमा उनीहरू पुगेका छन्। 

‘विष्णु, शंकर, पृथ्वी र विद्या भण्डारी एकै ठाउँमा उभिए भने ओलीले जिल्ला, प्रदेश कतै पनि बहुमत कायम राख्न सक्नुहुन्न,’ ती पदाधिकारीले थपे, ‘विशेष महाधिवेशनमा जाने नै भन्छन् होला, त्यसो हुँदा ओलीलाई गाह्रै छ।’

यही बुझेका ओलीले प्रदेश र केन्द्रीय सदस्यलाई आफैसँग राख्न भेटवार्ता र छलफल गरेका हुन्। ओली सकभर विशेष महाधिवेशन जाने मुडमा छैनन्। 

केन्द्रीय समितिको बैठकबाटै आफूले राजीनामा दिन नपर्ने प्रतिवेदन तयार हुनेमा उनी आशावादी छन्। किनकि, कार्यदलको संयोजक उपाध्यक्ष बादल छन्। सचिवालय बैठकमा बादलले ओलीलाई खुलेर साथ दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad