कारोबार


कोरोना संक्रमणको त्रासले उपत्यका छाेड्ने बढे, टिकट काउन्टरमा यात्रुकाे घुइँचाे (भिडियाे)

कोरोना संक्रमणको त्रासले उपत्यका छाेड्ने बढे, टिकट काउन्टरमा यात्रुकाे घुइँचाे (भिडियाे)

वसन्त अर्याल
चैत ७, २०७६ शुक्रबार १२:४७,

काठमाडौं उपत्यका छाडेर बाहिर जाने बढेका छन्।

कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणको लागि सरकारले विद्यालय तथा क्याम्पस बन्द गरेसँगै उपत्यका बाहिरिने संख्या बढेको हो।

सरकारले बुधबार चैत मसान्तसम्म सबै विद्यालय तथा विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।

सोलगत्तै सामान्यतया उपत्यकाबाट दैनिक ८०/८५ हजार यात्रु बाहिरिने गरेकोमा बिहीबार यो संख्या १ लाख नाघेको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार अन्य दिनको तुलनामा करिब २५ हजार बढी बाहिरिएका छन्।

buspark corona 2

‘अन्य समयमा आउने र जानेको संख्या करिब एउटै हुन्छ’, ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले नेपालखबरसँग भने, ‘हिजो (बिहीबार) बिहानदेखि आज (शुक्रबार) बिहानसम्म उपत्यका छाडेर आउनेको संख्याभन्दा जाने २५ हजार बढी छन्।’

शुक्रबार दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाको ५ वटा नाकाबाट बाहिरिनेको संख्या ६८ हजार नाघेको छ। बिहीबारको तुलनामा शुक्रबार बाहिरिने धेरै रहेको प्रहरीले जनाएको छ।

buspark corona 3

वरिष्ठ उपरीक्षक ढकालले बसपार्कबाट बाहिरिने ठाउँमा भीडभाड हुन नदिन प्रहरी खटाएको बताए पनि बसपार्कमा अनियन्त्रित भीडभाड बढेको छ।

‘बुटवल जान्छु भनेर बसपार्कमा आएको हुँ,’ एक यात्रुले भने, ‘तर आजको लागि टिकट नै छैन भन्छन्।’ उनले यात्रुलाई सहज र सुरक्षितरुपले आफ्नो गन्तव्य पुर्याउन सरकारले ध्यान दिनुपर्ने बताए।

buspark corona 4

‘केही दिन अघिसम्म यात्रुलाई नमस्कार भन्दै आफ्नो गाडीमा टिकट काट्नु भन्नुपथ्र्यो’, एक सहचालकले भने, ‘अहिले यात्रुको टिकट काट्न भीडभाड छ। यात्रुले नमस्कार गर्ने अवस्था आयो।’

यो हप्ता कति यात्रु बाहिरिए?
गत आइतबार काठमाडौं उपत्यकामा १५ हजार ८ सय ४६ सवारी भित्रिएका थिए भने ११ हजार ७ सय ६९ यात्रु बाहिरिएका थिए। जसमा ९३ हजार ९ सय २६ यात्रु भित्रिँदा ८७ हजार ३ सय २७ जना बाहिरिएका छन्।

buspark corona 5

त्यस्तै सोमबार १७ हजार ६ सय २२ सवारी भित्रिँदा १६ हजार २ सय २५ बाहिरिए भने ९२ हजार १ सय यात्रु भित्रिँदा ८८ हजार २ सय बाहिरिएका छन्।

मंगलबार १६ हजार गाडी उपत्यकाका पाँच नाकाबाट भित्रिएका छन् भने १७ हजार ५ सय २५ बाहिरिएका छन्। जसमा ९० हजार २ सय ३० यात्रु भित्रिएका थिए भने ९१ हजार ८ सय १६ यात्रु बाहिरिएका थिए।

buspark corona 7

बुधबार १८ हजार १ सय ८० सवारीसाधन भित्रिँदा १७ हजार ४ सय ४१ मात्रै भित्रिएका थिए। ती सवारीसाधनमा ९८ हजार ९ सय ३४ यात्रु भित्रिँदा ९५ हजार २ सय ४७ यात्रु बाहिरिएका छन्।

यातायात व्यवसायीले यात्रुलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउने काम भइरहेको बताएका छन्। 

buspark corona 8

बिहीबारबाट उपत्यका छाडेर बाहिर जानेको संख्या ह्वात्तै बढेको यातायात व्यवसायीहरुले बताएका छन्।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘उपत्यकाबाहिर जान चाहने सबै यात्रुलाई व्यवस्थित गरी लैजान्छौँ।’

उनले यात्रुलाई कोरोनाको संक्रमण हुन नदिन बसहरु सफा गरी सञ्चालन गरिरहेको दाबी गरे। तर बसमा स्यानेटाइजर स्प्रे छर्कनको लागि बजारमा पर्याप्त उपलब्धता नभएको उनले बताए।

‘सबै यात्रुलाई सुरक्षित राख्न सार्वजनिक यातायातलाई पनि सुरक्षित राख्नुपर्छ’, सिटौलाले भने, ‘ड्राइभरले लगाउने मास्क र स्यानेटाइजर स्प्रे सहज खरिद गर्ने वातावरण मिलाउनुपर्छ ।’

buspark corona 9

‘भीडभाड नहुने अवस्था मिलाएका छौं’
यसैबीच, ट्राफिक प्रहरीले सरकारले दिएको निर्देशनअनुसार सार्वजनिक यातायातमा भीडभाड नहुने अवस्था मिलाएको दाबी गरेको छ। यात्रुलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्ने काम ट्राफिक प्रहरीले शुक्रबारबाटै सुरु गरेको जानकारी दिएको छ।

buspark corona 12

सवारीसाधनमा स्यानिटाइजर राख्ने, भीडभाड हुन नदिने कुरामा आजैबाट २ सयभन्दा बढी कर्मचारीलाई राजधानीका विभिन्न ८० ठाउँमा परिचालन गरेका महाशाखा प्रमुख ढकालले बताए।

‘बसमा यात्रा गर्दा कोचिएर नगरौं। चालक–सहचालकलाई सिट क्षमताभन्दा बढी यात्रु नबोकौं भनेर सम्झाएका छौँ’, उनले भने, ‘सम्झाउँदा नमान्नेलाई आजबाट कारबाही थालेका छौँ। अब झन् कडा पार्दै जान्छौँ।’

buspark corona 10
buspark corona 11

भिडियाे/तस्बिरः प्रविन काेइराला

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad