ad ad

समाज


महामारीका बेला भीडभाड गरेको भन्दै कतारबाट सयौं नेपाली डिपोर्ट

महामारीका बेला भीडभाड गरेको भन्दै कतारबाट सयौं नेपाली डिपोर्ट

उजिर कार्की
चैत ७, २०७६ शुक्रबार १२:४३,

कतारले कोरोना भाइरसबाट बच्न जारी गरेको नियम उल्लंघन गरेको भन्दै सयौं नेपालीलाई डिपोर्ट गरेको छ। बिहीबार मात्रै कतारले एक सय ५० नेपालीलाई फिर्ता पठाएको छ।

गतसातादेखि नै कतारले दिनहुँजसो नेपालीलाई डिपोर्ट गरिरहेको छ।

अरु थुप्रै नेपालीलाई डिपोर्टेसन सेन्टरमा राखिएको त्यहाँबाट फर्किएका नारायणप्रसाद सिग्देलले जानकारी दिए।

नवलपुरको मध्यविन्दु १ का सिग्देललाई कतारले डिपोर्ट गरेर बिहीबार कतार एयरवेजको क्युआर ६४४ उडानबाट फिर्ता पठाएको हो। गत शुक्रबार बासस्थाननजिकै भएको भलिबल खेल हेर्न गएका बेला उनी र उनका साथीहरुलाई कतार प्रहरीले पक्राउ गरी डिपोर्टेसन सेन्टरमा पुर्‍याएको थियो।

सुरुमा कोरोना परीक्षणका लागि भनेर लगिए पनि पछि कोरोनाको समयमा कतार सरकारले जारी गरेको नियम उल्लंघन गरेकाले डिपोर्ट गरिएको जानकारी गराइएको थियो।

छुट्टीमा घर आएका सिग्देल गएको पुस १ गते मात्रै कतार पुगेका थिए।

भलिबल हेरिरहेको ठाउँबाटै दर्जनौं नेपाली पक्राउ परेको उनले बताए। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको कतारले चोकमा जम्मा हुने आप्रवासीलाई समेत पक्राउ गर्दै फिर्ता पठाइरहेको छ।

डिपोर्टेसन सेन्टरमा अन्य देशका नागरिकको संख्या समेत धेरै रहेको सिग्देलले बताए। बंगलादेश, पाकिस्तान, श्रीलंका फिलिपिन्स लगायत देशका नागरिकलाई पनि कतारले डिपोर्ट गरेको छ।

बाहिर निस्कन र भीडभाडमा नजान सरकारले दिएको निर्देशक आफूलाई थाहा नभएको सिग्देलले बताए।

सिग्देल अलअनिस ट्रेडिङ कम्पनीमा कार्यरत थिए।

‘यो क्षेत्रमा जान नपाउने भनेको रहेछ, हामीलाई थाहा थिएन, पछि पक्राउ परेपछि मात्रै थाहा भयो,’ सिग्देलले भने।

बिहीबार बिहान काठमाडौं आएका सिग्देल साँझ नवलपुर जिल्लास्थित घर पुगिसकेका छन्।

कतारका बजारमा गएका नेपाली पनि डिपोर्ट भएका छन्। कुनै नियम उल्लंघन नगरिएकालाई पनि त्यसरी नै डिपोर्ट गरिएको कतारबाट फर्किएका पत्रकार महेश्वर नेपालले जानकारी दिए।

शुक्रबार पनि केही नेपालीलाई डिपोर्ट गरिने तयारी कतारले गरेको काठमाडौँ आइपुगेकाहरुले बताएका छन्। 

डिपोर्ट भएकामध्ये कतिपयले कम्पनीबाट पाउनु पर्ने पैसा समेत पाएका छैनन्।

qatar-deport-23.jpgकतारको डिपोर्टेसन सेन्टरमा राखिएका नेपालीसहित दक्षिण एसियाली कामदार

विमानस्थलका नेपाली असुरक्षित
कतारमा कार्यरत आप्रवासी श्रमिकको सुरक्षामा समेत उच्च सतर्कता अपनाएको कतारले विमानस्थलका कर्मचारीलाई भने मास्क र पन्जा समेत लगाउन दिएको छैन। महेश्वर नेपाल पनि हमाद इन्टरनेसनल विमानस्थलमा काम गरेर फर्किएका हुन्।

त्यहाँ कार्यरत कर्मचारीले नै मास्क लगाए यात्रुहरुमा नराम्रो सन्देश जाने भन्दै कतारले मास्क र पन्जाको प्रयोग गर्न नदिएको नेपालले जानकारी दिए। पछिल्लो समय विमानस्थलमा यात्रुहरुको चाप कम छ। दुई वर्ष पहिले सार्वजनिक रिपोर्ट अनुसार विमानस्थलमा २ हजार २ सय नेपाली कार्यरत थिए। अहिले पनि विमानस्थलभित्रका विभिन्न क्षेत्रमा नेपालीले काम गरिरहेका छन्।

यसबाहेक सरसफाइ, सुरक्षा गार्ड, लगायतका काममा सप्लाइ कम्पनी मार्फत काम गरिरहेका नेपाली पनि उल्लेख्य संख्यामा रहेको नेपालले बताए। विमानस्थलमा असहाय यात्रुलाई सहयोग गर्ने काममा खटिएका नेपालीहरु थप जोखिममा छन्।

उनीहरुले हिँड्न नसक्ने यात्रुलाई ह्विद चेयरमा गुडाएर गाडीसम्म पुर्‍याउनुपर्छ। विमानस्थलमा कतार भित्रिने यात्रुको जाँचमा भने कतारले थप कडाइ गर्दै लगेको छ।

कतारले संक्रमित देशबाट फर्किएका आफ्ना नागरिकलाई सीधै क्वारेन्टाइनमा पठाउने गरेको छ। यसअघि विदेशी नागरिकलाई मात्रै क्वारेन्टाइन पठाउने गरेको थियो।

त्यहाँका ३२ नम्बरसम्मका क्षेत्रमा कतारले सिल गरेको छ। जसका कारण टिकट काटेर घर आउन तयार भएकाहरु समेत क्याम्पमा थन्किएका छन्। यद्यपि उनीहरुका लागि खानाको व्यवस्था भने कम्पनीले र कम्पनीले नगरे सरकारले गरिरहेको छ।

कतारले प्रतिबन्ध लगाएका कुनै पनि स्थानमा नजान आग्रह गरेको छ। प्रतिबन्ध लगाइएका कुनै पनि काम नगर्न र साथीभाइ भेला नहुन जानकारी गराएको थियो।

त्यहाँ कोरोना संक्रमितको संख्या ४ सय ६० पुगेको छ। बिहीबार थप ६ जना अप्रवासी र २ जना कतारी नागरिकमा संक्रमण देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .