कर्जा प्रवाह गर्न नसकिरहेको अवस्थामा गएको कर्जा पनि उठाउन नसकेपछि बैंकहरुको खराबकर्जा निरन्तर बढिरहेको छ। बाणिज्य बैंकहरुको खराबकर्जा पुस मसान्तमा आइपुग्दा अधिकतम ७ प्रतिशतको हाराहारीमा आइपुगेको हो।
कुमारी बैंकको यस्तो कर्जा ६.९६ प्रतिशतमा पुगेको छ। औषतमा भने बाणिज्य बैंकहरुको खराबकर्जा ४.३३ प्रतिशतमा देखिएको हो। अर्थतन्त्र चलायमान नहुँदा बित्तीय चक्रमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर बाणिज्य बैंकहरुमा देखिन थालेको हो।
बाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराबकर्जा बढे पनि ३ प्रतिशतमै सीमित बनाउन सफल भएको हो।
जसमा कुमारी बैंकले अपरिष्कृत वित्तीय विवरणमा ६.९६ प्रतिशतको खराबकर्जा देखाउँदा प्रभु बैंकले ५.६ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ५.८६ प्रतिशत र लक्ष्मी सनराईज बैंकले ५.६७ प्रतिशत देखाउँदा अन्य १० वाणिज्य बैंकहरुको ४ प्रतिशत माथि छन्। खराबकर्जा बढे पनि नेपाल एसबीआई बैंकले भने ३.५५ प्रतिशतमा राखेको हो।
कर्जा उठाउन नसकेका बैंकहरुको खराबकर्जा चालु आर्थिक बर्षको पहिलो त्रैमासमै बढेर औषतमा ४ प्रतिशतमा आइपुगेको थियो। ब्याजदर घटेर एकल विन्दुमा आइपुग्दा पनि कर्जा प्रवाह गर्न नसकेका बैंकहरुले यहि समयमा ऋणिबाट कर्जा समेत उठाउन सकेनन्। कर्जाको ९० प्रतिशत धितो घरजग्गा हुने गर्छ।
पछिल्लो दुई बर्ष यता घरजग्गा कारोबार सुस्त हुँदा बैंकहरुले धितो सकार गरे पनि लिलाम गर्न नसक्दा कर्जा असुली कमजोर बन्दै गएको हो। कर्जा प्रवाह र कर्जा असुली दुवै कमजोर बनेपछि यतिबेला बैंकहरु बढ्दो खराबकर्जाको चापमा देखिएका हुन्।
पुस मसान्तसम्म आइपुग्दा २० वटा बाणिज्य बैकहरु मध्ये १५ वटाको खराबकर्जा रेसियो गत असोजको भन्दा बढेको छ भने ४ वटा बैंकको घटेको छ। एउटा बैंकको भने बराबर देखिएको हो।
पुस मसान्तसम्म बैैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा धेरै खराकर्जा कुमारी बैंकको छ। यो बैंकको खराबकर्जा ६.९६ प्रतिशतमा पुगेको छ। असोज मसान्तसम्म राष्ट्रबैंकले सार्वजनिक गरेको परिष्कृत वित्तीय विवरणमा यो बैंकको खराबकर्जा ४.९६ प्रतिशत थियो। पुस मसान्तमा बैंक आफैले निकालेको अपरिष्कृत वित्तीय विवरणमा भने खराबकर्जा ६.९६ प्रतिशत पुगेको देखिएको हो।
यो बाहेक प्रभु बैंकले ५.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ५.८६ प्रतिशत र लक्ष्मी सनराईज बैंकले ५.६७ प्रतिशत खराकर्जा देखाउँदा प्राईम बैंकले ४.९६ प्रतिशत, हिमालयन बैंकले ४.९८ प्रतिशत र नेपाल बैंकले ४.९९ प्रतिशत खराबकर्जा देखाएका हुन्।
यस्तै सिटिजन्स बैंकले ४.८५ प्रतिशत खराबकर्जा देखाउँदा माछापुच्छ्रे बैंकले ४.५४ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.८६ प्रतिशत, एनआइसी एसिया बैंकले ४.६१ प्रतिशत, सिद्धार्थ बैंकले ४.५ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ४.९६ प्रतिशत र कृषि विकास बैंकले ४.९ प्रतिशत खराबकर्जा देखाएका हुन्।
राष्ट्रबैंकले खराबकर्जाको सीमा नतोकेपनि ५ प्रतिशतलाई भने बेन्चमार्क मान्दै आएको छ। यस हिसाबमा ५ प्रतिशत माथि नाघेको खण्डमा बैंकहरु खराबकर्जा बिग्रँदो अवस्था भन्ने बुझिन्छ। बैंकहरुमा नै ५ प्रतिशतलाई बेन्चमार्क मान्ने कि नमान्ने भन्ने अन्यौल रहिरहँदा बाणिज्य बैकहरु ५ प्रतिशतलाई उछिन्दै खराबकर्जामा माथि उक्लिन थालेका हुन्।
यो अवधिमा ४ बैंकको खराबकर्जा ५ प्रतिशत माथि पुग्दा १० वटा बैंकको भने ५ प्रतिशतभन्दा कम र ४ प्रतिशतभन्दा बढी छ। बाँकी ६ वटा बैंकले भने खराबकर्जालाई ३ प्रतिशत र त्यो भन्दा तल नै राख्न सफल देखिएका छन्। यस्तै नेपाल एसबीआई बैंकले खराबकर्जा ३.५५ प्रतिशत देखाउँदा सानिमा बैंकले ३.२२ प्रतिशत र एनएमबी बैंकले ३.९६ प्रतिशत देखाएका छन्।
दोस्रौ त्रैमासमा आइपुग्दा नबिल बैंकले खराबकर्जा १.७ प्रतिशतमा झारेको उल्लेख गरेको छ। जबकी गत असोजमा पहिलो त्रैमासि बित्तीय विवरणमा उक्त बैंकले खराबकर्जा ४.२४ प्रतिशत देखाएको थियो। अपरिष्कृत र परिष्कृत बित्तीय विवरणमा फरक नदेखिएमा भने खराबकर्जाको मारमा परिरहेको अवस्थामा नबिलले खराबकर्जा घटाउनेमा छलाङ मारेकै मान्न सकिन्छ।
अपरिष्कृत वित्तीय विवरणमा बैंक तथा वित्तीय संस्थाहरुले खराबकर्जा लुकाउने गरेको भन्दै राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुमाथिको निगरानी थप बढाएको छ। यो अवस्थामा अधिकांश बैंकहरुले खराबकर्जा बढेको तथ्यांक सार्वजनिक गरिरहँदा नबिलले भने ४.२४ प्रतिशतबाट १.७ प्रतिशतमा राख्न सफल भएको देखाएको हो। यो बाहेक स्टान्डर्ड चार्टड बैंकले खराबकर्जा १.७१ प्रतिशत देखाउँदा एभरेष्ट बैंकले खराबकर्जा ०.६६ प्रतिशतमा रहेको उल्लेख गरेको छ।
हिमालयन बैंकले भने पहिलो त्रैमासमाको परिष्कृत बित्तीय विवरण अनुसार नै दोस्रो त्रैमासको वित्तीय विवरणमा खराबकर्जा देखाएको छ। राष्ट्रबैंकले पहिलो त्रैमासमा हिमालय बैंकको खराबकर्जा ४.९८ प्रतिशत रहेको उल्लेख गरेको थियो। बैंकले दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा पनि ४.९८ प्रतिशत नै खराबकर्जा रहेको उल्लेख गरेको छ।
खराबकर्जासँगै बैंकहरुसँग रहेको गैरबैकिङ सम्पत्ति पनि बढ्ने क्रममा छ। गत असारसम्म बाणिज्य बैंकहरुसँग ३८ अर्ब माथिको गैरबैकिङ सम्पत्ति छ। गत आर्थिक बर्षबाट गैरबैकिङ सम्पत्ति थुप्रिन थालेपछि बैंकहरु खराबकर्जाको चपेटामा पर्दै आएका छन्।
नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बास्तविक तथ्यांक हेर्नेहो भने खराब कर्जा अझै १२ देखि १४ प्रतिशतसम्म पुग्ने बताउँछन्। उनी भन्छन्, ‘कोभिडको समयमा १ प्रतिशत रहेको खराबकर्जा अहिले ६ प्रतिशत माथि छ। अझै बास्तविक तथ्यांक हेर्र्नेहो भने १२ देखि १४ प्रतिशतसम्म पुग्नसक्ने देखिन्छ।’
बढ्दो गैरबैकिङ सम्पत्ति र खराबकर्जालाई घटाउन राष्ट्रबैंक तदारुकताकासाथ लाग्नुपर्ने अर्थ मन्त्रालयका पूर्वसचिव एवं हालै सरकारद्धार गठित उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनाल बताउँछन्। उनी भन्छन्, ‘बैंकहरुको खराबकर्जा बढीरहेको अवस्थामा यसलाई घटाउँदै गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि राष्ट्र बैंकले एसेट म्यानेजमेन्ट कम्पनी खोल्न ढिलो गर्नुहुँदैन।’
Shares

प्रतिक्रिया