राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये चालु आर्थिक बर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले कमाएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा कुल ५४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको हो।
नाफा कमाउनेमा दोस्रोमा मुक्तिनाथ विकास बैंक देखिएको छ। यो बैंकले ५० करोड ३१ लाख रुपैयाँ नाफा कमाउँदा साइन रेसुंगा डेभपलमेन्ट बैंकले ३३ करोड रुपैयाँ नाफा कमाएको हो।
गत वर्षको तुलनामा चालु आवको दोस्रो त्रैमासमा गरिमा विकास बैंकको ७.१६ प्रतिशत र मुक्तिनाथ विकास बैंकको १९.७९ प्रतिशतले नाफा बढ्दा साइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा १०.८७ प्रतिशतले घटेको छ। नाफा घटेपनि यो बैंक सर्वाधिक कमाउने विकास बैंकको सूचीमा तेस्रो नम्बरमा छ।
यस्तै चालु आवको पुस मसान्तसम्म कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाउँदा महालक्ष्मी विकास बैंकले २८ करोड ७४ लाख, ज्योति विकास बैंकले २५ करोड १ लाख, सांग्रीला डेभलपमेन्ट बैंकले १९ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले १४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएका छन्।
यीमध्ये गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ज्योति विकास बैंकले नाफा १४७.५७ प्रतिशतले बढाउँदा सांग्रिलाले ९६.१० प्रतिशत, कामना सेवाले २४.५५ प्रतिशत र महालक्ष्मी विकास बैंकले ३.४० प्रतिशतले नाफा बढाएका हुन्।
लुम्बिनी विकास बैंकको भने गत वर्षको पुसको तुलनामा चालु आवमा नाफा ३०.४६ प्रतिशतले घटेको हो।
Shares

प्रतिक्रिया