खुल्लामञ्चको पूर्वपट्टि अवस्थित काठमाडौंको ‘पुरानो बसपार्क’ ले चर्चेको सार्वजनिक जग्गा भ्यू टावर निर्माण कम्पनीले ओगटेको ७ वर्ष बितिसकेको छ। भ्यू टावर बनाउने ठेक्का पाएको कम्पनीले समयमै काम नगर्दा यहाँ बसपार्क पुनःस्थापना गर्न ढिलाइ भएको हो।
काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स प्रा.लिबीच ०७१ फागुन ५ वर्षभित्र टावर निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। सार्वजनिक निजी साझेदारी मार्फत ३० वर्षका लागि सो सम्झौता भएको महानगरले उल्लेख गरेको छ। पाँच वर्षमा बनाउने भनिएको टावर ७ वर्षमा पनि बनिसकेको छैन।
भ्यू टावरको ०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए। निर्माण सुरु गरेको ६ महिनामै भुईको सबै काम सकेर बसपार्क बनाउने भन्दै पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो। तर, ७ वर्षसम्म त्यहाँ बसपार्क पुनस्थापना हुन सकेको छैन।
पुरानो सम्झौतालाई संशोधन गरेर निर्माण अवधि एक वर्ष थप गरिएको थियो। त्यो अवधि पनि सकिएको छ। काठमाडौं महानगरका निर्देशक नूरनिधि न्यौपाने काठमाडौं भ्यु टावर निर्माणको जिम्मा पाएको कम्पनीले सम्झौता अनुसार राजस्व बुझाइरहेको बताउँछन्।
निर्माण अवधि बढे पनि कुल ३० वर्षको सम्झौता थप नहुने न्यौपाने बताउँछन्। ‘निर्माण सके पनि नसके पनि सम्झौता अनुसार रकम बुझाइरहेको छ,’ महानगरपालिकामा सार्वजनिक निजी साझेदारी विभाग प्रमुख न्यौपानेले भने,‘तर निर्माण सम्पन्नपछि भाडामा लगाउँदा वार्षिक थप कर बुझाउनुपर्छ। समयमै निर्माण नसक्दा महानगरले अहिले त्यो गुमाइरहेको छ।’
निर्माण कम्पनीले भने भूकम्प, नाकाबन्दी र कोरोना जस्ता कारणले निर्माण काम ढिलाइ भएको बताउँदै आएको छ। तर, अहिले हङकङका एनआरएनएहरुले भ्यु टावरमा लगानी गरेपछि निर्माण प्रक्रियाले तिब्रता पाएको छ।
२९ तल्लाबाट घटेर १२ तल्ला
काठमाडौं महानगरका अनुसार अहिले बेसमेन्टसहित १२ तल्लाको भवन बनाउने स्वीकृत छ। पहिला २९ तलाको बनाउने निर्णय भएको थियो। भूकम्पका कारण सरकारले मापदण्ड परिवर्तन गरेपछि १२ तल्लाको बनाउने निर्णय भएको हो। तर, कम्पनीले २९ तल्ला नै बनाउन सक्ने गरी बेसमेन्ट तयार पारेको बताउँदै आएको छ।
सम्झौताअनुसार भ्यु टावरका तीन तल्ला पार्किङका रुपमा प्रयोग हुनेछन्। भूइँतल्ला बसपार्ककै रुपमा प्रयोग हुनेछ। भुइँतल्ला भन्दा मुनि अण्डर ग्राउण्ड दुई तल्लामा कार्यालय वा भ्यु टावरमा आउनेका लागि पार्किङको व्यवस्था गर्ने सहमति भएको छ। पहिल्लो तल्ला व्यापारिक हिसाबले प्रयोग हुनेछ।
३० वर्षसम्म कम्पनी आफैंले भाडामा लगाएर सञ्चालन गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता रहेको छ। महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार निर्माणपछि कम्पनीले वार्षिक दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ। महानगरलाई तिर्नुपर्ने रकम वार्षिक २.५ प्रतिशतले बढ्दै जान्छ। सम्झौतामा वडा कार्यालय पनि त्यहीँ राख्ने उल्लेख छ।
कम्पनीले अहिले वार्षिक करिब १ करोड रुपैयाँ राजस्व तिरिरहेको महानगरले जनाएको छ। काठमाडौं महानगरपालिका पूर्वधार विकास विभाग प्रमुख राम थापाले सम्झौता अनुसार निर्माण अवधि सकिएको बताए। ‘जति ढिला काम गर्यो कम्पनीलाई नै घाटा हुने हो,’ थापाले नेपालखबरसँग भने, ‘तोकिएको समयसम्म निर्माण सम्पन्न नगरे पनि सम्झौता अनुसारको रोयल्टी बुझाउनैपर्छ।’
स्वच्छन्द बिकोई विल्डर्सले व्यापारिकरुपमा भाडामा लगाउन पाए रोयल्टी दिन उसलाई सहज हुन्छ। महानगरले छिटो काम सकाउन र सम्झौता अनुसार रोयल्टी बुझाउन भनेको थापाले जानकारी दिए।
‘सम्झौतामा ४ वर्ष निर्माण अवधि हुने भनिएको थियो। निर्माण अवधिमा वार्षिक ७० लाख बुझाउने व्यवस्था रहेको छ,’ थापाले भने,‘सम्झौता अनुसार निर्माण अवधि सकिएको छ, त्यसैले अब निर्माणपछिकै दरमा रोयल्टी बुझाउनुपर्छ।’
बसपार्क नहुँदाको दुःख
पुरानो बसपार्कको करिब २३ रोपनी ५ आना क्षेत्रफलमा बराबरमा भ्यु टावर बन्दैछ। ‘बेसमेन्ट र ग्राउन्ड फ्लोर सकिएपछि बसपार्क प्रयोग गर्न दिने सम्झौता भएको छ,’ थापाले भने, ‘सम्झौताअनुसार काम नहुँदा बसपार्क कहाँ व्यवस्थापन गर्ने भन्ने महानगरलाई अप्ठेरो छ।’
भ्युटावर बनाउने क्रममा खुल्लामञ्चमा बसपार्क सार्दा अहिले भद्रगोल अवस्थामा रहेको छ। ठूलो विवादपछि खुल्लापञ्चबाट बसपार्क हटाए पनि कंक्रिटका संरचना अझै बाँकी छन्।
निर्देशक नूरनिधि न्यौपानेले काठमाडौं महानगरको नेतृत्वमा बालेन्द्र शाह आएपछि बसपार्क तत्काल सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा चासो राखेको बताए। ‘नयाँ मेयरसापले भ्युटावरमा कति छिटो बसपार्क सञ्चालन गर्न सकिन्छ भन्ने चासो राख्नुभएको छ,’ न्यौपानेले भने,‘मैले निर्माण कम्पनीसँग बुझ्दा अझै ६ महिनादेखि १ वर्ष लाग्ने बताएको छ।’
बालेन्द्रबाट उद्धार पर्खिरहेको जीर्ण खुल्लामञ्च (तस्बिरहरु)
काठमाडौं महानगरले भू टावर पुरै नबन्दै बसपार्क सञ्चालन गर्न खोजे पनि निर्माण कम्पनीले सम्भावित दुर्घटना हुन सक्ने खतरा देखाउँदै आएको छ। ‘हामीले बसपार्क सञ्चालन गर्न खोजिरहेकै छौं तर प्राविधिक रुपमा निर्माणाधीन भवनमा मास ट्रान्जिट हुँदा दुर्घटना हुन सक्ने भएकाले छिटो निर्माण सक्न दबाव दिएका छौं,’ न्यौपानेले भने।
निर्माण कम्पनीले महानगरलाई अबको १ वर्षमा भ्यु टावर सञ्चालनमा आउने जानकारी दिएको छ। ‘भवनको संरचना बनाउने काम सकिन लागेको छ। फिनिसिङ र इन्टेरियरको काम गर्न अझै समय लाग्छ,’ भौतिक विकास विभाग प्रमुख थापाले भने, ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट ल्याप्सेस हुँदा निर्माणमा ढिलाइ देखिन्छ। माथि स्टक्चर बनाउँदै जाँदा तल फिनिसिङको काम गर्न सक्थ्यो।’
विवादमा ठेकेदार
काठमाडौं टावर बनाउने ठेक्का पाएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक मनोज भेटवालले समयमै लगानी जुटाउन नसक्दा भ्यु टावर निर्माण हुन सकेन।
विवादित छविका भेटवाल एपेक्स बैंक घोटाला काण्डमा संलग्न रहेको भन्दै ०७५ वैशाख ३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्रेको थियो।
काठमाडौं भ्यु टावरका ठेकेदार भेटवालसहित ६ पक्राउ, १७ जनाविरुद्ध मुद्दा
निर्माण व्यवसायी मनोज भेटवालले दिए पत्रकारलाई धम्की
भ्यु टावर बनाउन सिंगापुरबाट हुन्डीमार्फत रकम भित्राएको आरोप लाग्यो। कर्जा तिर्न नसकेपछि जलेश्वर स्वच्छन्द विकोई कालोसूचीमा समेत परेको थियाे।
Shares
प्रतिक्रिया