कारोबार


यातायात विभागको नाममा हुँदै नभएको ट्राफिक जरिवानाको पर्चा छापेर अफवाह फैलाइँदै

यातायात विभागको नाममा हुँदै नभएको ट्राफिक जरिवानाको पर्चा छापेर अफवाह फैलाइँदै

नेपालखबर
असार २९, २०८३ सोमबार १४:१९, काठमाडौँ

यातायात व्यवस्था विभागको नाममा हुँदै नभएको ट्राफिक जरिवाना र नक्कली लोगोसहितको पर्चा छापेर सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएको छ। 

हुँदै नभएको मोटर यातायात तथा ट्राफिक नियमावली २०७४ बमोजिमको ट्राफिक दररेट हेडिङ गरी विभागको नामबाट जारी भएको भनिएको ट्राफिक जरिवानासम्बन्धी पर्चा सामाजिक सञ्जालमा भाइरल बनाइएपछि विभागले स्पष्ट पारेको हो।

असार २८ देखि निरन्तर उक्त पर्चा र त्यसमा भएको ट्राफिक जरिवाना दररेट भाइरल बनाइएको विभागले जनाएको छ। 

‘तत्सम्बन्धमा हाल नेपालमा मोटर यातायात तथा ट्राफिक नियमावली २०७४ नाम गरेको कुनै कानुनी व्यवस्था नभएको र पर्चामा राखिएको विभागको नाम गरिएको लोगो समेत नक्कली देखिन्छ’, विभागले भनेको छ। 

यस्ता फेक सामग्रीहरुको तथ्य, प्रमाण र आधारहरुको परीक्षण नगरी लाइक, सेयर तथा प्रचार नगर्न विभागले आम नागरिक र सम्बन्धितहरुमा अनुरोध गरेको छ। 

यस्ता आधारविनाका सामग्री प्रयोगले आमनागरिक दिग्भ्रमित हुने र सार्वजनिक संस्थाप्रति जनविश्वास कमजोर हुने विभागको भनाइ छ। 

साथै विद्युतीय कारोबार ऐन २०६३, प्रतिलिपि अधिकार ऐन २०५९ लगायतका प्रचलित कानुनी व्यवस्थाविपरीतका गतिविधि दण्डनीय हुने स्मरण गराउँदै विभागले सचेत गराएको छ। 

हाल ट्राफिक जरिवानासम्बन्धी विषय अब बन्ने सवारी तथा यातायात व्यवस्थासम्बन्धी नयाँ ऐन जारी नभएसम्म मौजुदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ बमोजिम नै कार्यान्वयन हुने भएकाले त्यसलाई आधार बनाएर मात्र ट्राफिक जरिवाना निर्धारण हुने विभागको स्पष्टोक्ति छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad