प्रवास


बेलायतमा ‘पिपल नेपालकप क्रिकेट’, नेपालबाट आएका कलाकारको पनि प्रस्तुति रहने

बेलायतमा ‘पिपल नेपालकप क्रिकेट’, नेपालबाट आएका कलाकारको पनि प्रस्तुति रहने

मगेन्द्र राई
असार २७, २०८२ शुक्रबार १४:६, बेलायत

लन्डनको लर्ड्स क्रिकेट ग्राउन्डमा इन्डिया टुर अफ इङ्ल्यान्डको टेस्ट म्याच चलिरहेको बेला बेलायतमा नेपालीहरूद्वारा सञ्चालित टि-ट्वान्टी क्रिकेट प्रतियोगिता चलिरहेको छ।

बेलायतमा बस्ने नेपाली क्रिकेटरहरूबीच हुने यो ‘पिपल नेपालकप क्रिकेट २०२५’  प्रतियोगिताको आठौँ संस्करण राजधानी लन्डनबाट करिब ४० माइल पश्चिमतर्फ अवस्थित रिडिङ सहरको सोनिङ लेनस्थित रिडिङ क्रिकेट एन्ड हकी क्लबको खेल मैदानमा सञ्चालित भइरहेको छ।

पिपल मोर्ट्जेजको टाइटल स्पोन्सर रहेको उक्त प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन (६ जुलाई) आयोजक संस्थाका अध्यक्ष करम गुरुङ र प्रमुख अतिथि लन्डन ग्रिनविच काउन्सिलका पूर्वमेयर जीत रानाभाटले संयुक्त रूपमा औपचारिक ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए।

६ र ९ तारिखमा समूह चरणको खेलहरू सम्पन्न भएका थिए। १२ टिमलाई ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ गरी ४ समूहमा ३/३ टिम सामेल गरिएको थियो।

समूह चरणको अन्तिम खेलमा पोल ‘ए’बाट माया क्रिकेट क्लब, ‘बी’बाट हिमालय क्रिकेट क्लब, ‘सी’बाट खुकुरी क्रिकेट क्लब र ‘डी’बाट मिडल्यान्ड वरिवर्स क्रिकेट क्लब शीर्ष अंकसहित सेमिफाइनलमा प्रवेश गरेका छन्।

ग्रिनविचका पूर्वमेयर जित रानाभाट ब्याटिङ गरेर खेलको उद्घाटन गर्दै

प्रतियोगिताको सेमिफाइनलमा माया सिसि र मिड्ल्यान्ड वरिवर्स तथा हिमालय सिसि र खुकुरी सिसिबीच आइतबार सोही स्थानमा भिडन्त हुनेछ। सिमि फाइनलका विजेताहरू सोही दिन उपाधिका लागि भिड्नेछन। 

विजेता टिमले २ हजार पाउन्ड नगद, ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले १ हजार पाउन्ड नगद, ट्रफी र पदक प्राप्त गर्नेछ। त्यसैगरी, प्लेयर अफ द टुर्नामेन्टले ३०० पाउन्ड नगद र ट्रफी, वेष्ट बलर अफ द सिरिजले २५० पाउन्ड नगद र ट्रफी तथा वेष्ट ब्याट्सम्यान अफ द सिरिजको घोषित खेलाडीले २५० पाउन्ड नगद र ट्रफी प्राप्त गर्ने आयोजक संस्था पोख्रेली मन्च युकेका अध्यक्ष करम गुरुङले नेपालखबरलाई बताए।

त्यसका अलावा खेलाडी, दर्शक तथा आमन्त्रित पाहुनाहरूको निम्ति भरपुर मनोरञ्जन दिलाउन नेपालबाट आएका गायिकाहरू प्रिया गुरुङ र पवित्रा गुरुङका साथमा डान्सर आरुसी मगरको प्रस्तुति रहने अध्यक्ष गुरुङ बताउँछन्।

सामान्यतया कुनै पनि खेलकुद प्रतियोगिता खेल सम्बन्धित संस्थाहरूले आयोजना गर्दै आएका छन्। तर, तपाईँको नेतृत्वमा रहेको विशुद्ध सामाजिक संस्थाले खेलकुद प्रतियोगिता गराउँदा कत्तिको सान्दर्भिक छ? भनी नेपालखबरले गरेको प्रश्नमा गुरुङ भन्छन्–

‘सर्वप्रथम हामी मानव हौँ। खेलकुदले मानव जीवनमा महत्त्वपूर्ण र बहुआयामिक भूमिका खेल्छ। जसले व्यक्ति र समाजलाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक स्तरमा सकारात्मक प्रभाव पार्छ। त्यस्ता सकारात्मक परिवर्तनका लागि जोकोही पनि अग्रसर हुनु पर्दछ।’

आयोजक संस्थाका अध्यक्ष करम गुरुङ (बायाँ)

गुरुङ थप्छन्, ‘बेलायतको सन्दर्भमा यहाँ प्रशस्त क्रिकेट खेलाडी र तिनका फ्यान छन्। खेलाडीहरू आफ्नो खेल क्षमता प्रदर्शन गर्ने अवसरको खोजीमा थिए। यो अवस्थामा कोही न कोही अगाडि बढ्नुपर्ने अवस्था थियो। त्यसको जिम्मा हामीले लियौँ। सुरुका दिनमा थुप्रै  चुनौती खडा भए। अहिले त्यो छिचोलिसकेका छौँ। हाम्रो प्रयासलाई सबैले सराहना गरेका छन्। सबैबाट साथ र सहयोग प्राप्त गरिरहेका छौँ। अहिले त ब्रान्ड नै बनिसकेको छ। हाम्रो प्रयासले बेलायतका धेरै नेपाली क्रिकेटरहरू लाभान्वित भएका छन्। किशोरकिशोरीहरू यहाँका काउन्टी लेवलमा खेल्न थालिसकेका छन्। जुन नेपाली क्रिकेटको लागि सुखद कुरा हो।’

बेलायतवासी नेपाली क्रिकेटप्रेमीहरूलाई प्रोत्साहन गर्न र आफ्नो खेल कौशल प्रदर्शन गर्ने मन्चको रूपमा विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मन्च युकेले सन् २०१६ बाट वार्षिक रूपमा प्रतियोगिता गर्दै आएको छ। चालु प्रतियोगिता आठौँ संस्करण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad