थाइल्यान्डको ऐतिहासिक तथा विश्वप्रसिद्ध बौद्ध मन्दिर वाट फ्रा चेतुफोन विमोनमंगलाराम (वाट फो) मा अन्तर्राष्ट्रिय बुद्धजयन्ती (इन्टरनेसनल डे अफ भेसाक) विशेष समारोहका साथ मनाइएको छ।
थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावास र श्रीलङ्का राजदूतावासले संयुक्त रुपमा २८ मे २०२६ का दिन एक कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाएका हुन्।
समारोहमा विभिन्न देशका राजदूतहरु, एशिया तथा प्रशान्त क्षेत्रको लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगको प्रमुख, थाइल्यान्ड सरकारका प्रतिनिधि, विभिन्न देशका कूटनीतिक नियोगका सदस्यहरू, बौद्ध धर्मगुरुहरू, शिक्षाविद्, नेपाली तथा श्रीलङ्काली समुदायका सदस्यहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा श्रीलङ्का तथा नेपालका राजदूतहरूले स्वागत मन्तव्य तथा शुभकामना व्यक्त गर्दै बुद्धका शिक्षाले वर्तमान विश्वमा शान्ति स्थापना, सहिष्णुता, दिगोपन र नैतिक जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका दूतावासले जनाएकाे छ।
कार्यक्रममा वाट फोका प्रमुख भिक्षु महामहिम सोमदेत फ्रा महाथिराचन थेरोले विशेष सम्बोधन गरेका थिए। त्यसपछि महाचुलालोङ्कोर्नराजविद्यालय विश्वविद्यालयका भिक्षु पहालावेला धम्मकित्ति थेरोद्वारा बुद्ध पूजा, पुष्प अर्पण तथा बुद्ध वन्दना सम्पन्न गरिएको थियो।
त्यसैगरी, वाट बोवरोनिवेस विहारका सहायक अभोट भिक्षु फ्रा अनिल साक्य थेरोद्वारा धर्मदेशना प्रदान गरिएको थियो। धर्मदेशनामा बुद्धका शिक्षाले वर्तमान विश्वले सामना गरिरहेका विश्वशान्ति, वातावरणीय संकट, सामाजिक सद्भाव तथा नैतिक नेतृत्व लगायतका चुनौतीहरू समाधान गर्न मार्गदर्शन प्रदान गर्ने विषयमा विशेष जोड दिएका थिए।
कार्यक्रममा नेपालका सिङ्गिङ बाउल विशेषज्ञ, संगीतकर्मी तथा साउण्ड थेरापी अभ्यासकर्ता अमन शाहीद्वारा हिलिङ साउन्ड प्रस्तुत गरिएको थियो। यसै क्रममा वाट पा नानाचाट अन्तर्राष्ट्रिय वन विहारका अभोट भिक्षु फ्रा भावनावज्राजान (अजान केवली) थेरोद्वारा ध्यान सत्र सञ्चालन गरिएको थियो।
कार्यक्रममा विभिन्न बौद्ध राष्ट्रहरूमा मनाइने बुद्धजयन्तीसम्बन्धी भिडियो प्रस्तुति, भक्तिगीत तथा भेसाक लालटिन र दीप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा ५४/११५ को प्रस्ताव पारित गर्दै बुद्धजयन्ती (भेसाक डे) को अन्तर्राष्ट्रिय महत्वलाई विशेष रूपमा स्वीकार गर्दै प्रत्येक वर्ष मे महिनाको पूर्णिमाका दिन मनाइने भेसाक दिवसलाई संयुक्त राष्ट्रसंघ मुख्यालय तथा अन्य कार्यालयहरूमा अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको थियो।
उक्त प्रस्तावले मे महिनाको पूर्णिमाको दिन बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र दिन भएको उल्लेख गर्दै सोही दिन भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको स्मरण गरिने तथ्यलाई स्वीकार गरेको छ।
Shares

प्रतिक्रिया