प्रवास


चेक रिपब्लिकबाट नेपाल हिँडेका राजकुमार, श्रीमतीलाई ग्रिसको ट्रान्जिट पुगेर फोन गर्छु भन्थे त्यहीँ बिलाए

चेक रिपब्लिकबाट नेपाल हिँडेका राजकुमार, श्रीमतीलाई ग्रिसको ट्रान्जिट पुगेर फोन गर्छु भन्थे त्यहीँ बिलाए

राजकुमार राई


शेरबहादुर परियार
जेठ १०, २०८३ आइतबार १२:२८, मध्य युरोप

युरोपेली मुलुक ग्रिसको एथेन्समा ओखलढुङ्गाका राजकुमार राईको मृत्यु भएको छ।

ओखलढुङ्गाको मोलुङ्ग-८ घर भई ललितपुरको गोदावरी नगरपालिका-१४, थैबमा अस्थायी बसोबास गर्दै आएका ३७ वर्षीय राईको मे १६ मा ग्रिसको एथेन्स विमानस्थलमा मृत्यु भएको हो।

एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलको १ नम्बर प्रस्थान गेट नजिकै रहेको शौचालय क्षेत्रमा एक सफाइ कर्मचारीले राईलाई बेहोस अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए। आपतकालीन चिकित्सा सेवाको मोबाइल युनिट घटनास्थलमा आएर चेक जाँचपछि डाक्टरले उनलाई मृत घोषित गरेको बताइएको छ।

राईको एथेन्स विमानस्थलको ट्रान्जिटमा मृत्यु भएको ग्रिससमेत कार्यक्षेत्र रहेको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाका प्रथम सचिव अनिल लम्सालले पुष्टि गरे।

‘राजकुमार राईको नेपाल जाने क्रममा एथेन्स एयरपोर्टको शौचालयमा मृत्यु भएको जानकारी प्राप्त भएको छ,’ ग्रिसको स्थानीय प्रहरीलाई उद्धृत गर्दै प्रथम सचिव लम्सालले नेपालखबरसँग भने, ‘मृतकको शव पोष्टमार्टमका लागि सम्बन्धित परिवारको सहमति पठाइदिन अनुरोध गर्दै दूतावासबाट कन्सुलर सेवा विभागमा पत्राचार गरिएको छ।’

यसैबीच, नेपालखबरको लामो प्रयासमा मृतक राईको परिवार दूतावासको सम्पर्कमा आएको छ।

यता, नेपालमै रहेकी राजकुमारकी श्रीमती भावना नेपाल राई घटनाबाट भावविह्वल छिन्। उनी राजकुमारको मृत्यु भएको पत्याउनै तयार छैनन्।

नेपालखबरसँगको टेलिफोन कुराकानीमा भावनाले भक्कानिँदै भनिन्, ‘एअरपोर्ट पुगुन्जेल १०/१२ पल्ट मेरो उहाँसँग सम्पर्क भएको थियो। अब फोन लाग्दैन, ग्रिसमा ट्रान्जिटमा वाइफाइ जोडेर तिमीलाई फोन गर्छु भन्नुभएको थियो, अहिलेसम्म आउनु भएको छैन। अहिले यस्तो कल्पनासमेत नगरेको दुःखद खबर आएको छ।’

राजकुमारको मे १६ तारिख चेक रिपब्लिकबाट एथेन्स हुँदै १७ तारिख नेपाल आइपुग्ने हवाई टिकट थियो।

१४ डिसेम्बर २०२४ मा रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका हुन् राजकुमार। रोमानिया पठाउने मेनपावरले भने अनुसारको नभएपश्चात् उनी ९ महिनापछि चेक रिपब्लिक आएका थिए। चेक रिपब्लिकमा अवैधानिक रूपमा काम गर्दै आएका उनलाई ८ महिनामा स्थानीय प्रशासनले समातेपछि नेपाल जान पत्र थमाएको थियो। उनको श्रीमती तथा १२ र ४ वर्षका दुई छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad