अस्ट्रेलियामा नेपाली युवा उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
एआई, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी नेटवर्क विस्तारलाई केन्द्रमा राखेर सम्मेनल आयोजना गर्न लागिएको जनाएको छ। सम्मेलनमा २० देशका सात सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागी हुने आकलन छ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ फिने आईईसी (अन्तर्राष्ट्रिय कार्य समिति) ले आयोजना गर्न लागेको सम्मेलन आगामी २४ र २५ जुलाईमा सिड्नीस्थित सोफिटेल होटलमा हुने भएको छ। सम्मेलनको सञ्चालन फिने अस्ट्रेलियाले गर्नेछ।
सम्मेलनमा नेपाल र अस्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, प्रतिनिधि सभा सदस्य सुशील खड्का, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट, महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, बैंकर तथा लिड नेपाल एनआईसीका अध्यक्ष अनिल केशरी शाह, आइडिया स्टुडियोका संस्थापक छिरिङ लामा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डे, तथ्यांक वैज्ञानिक भोजराज घिमिरे, युवा वैज्ञानिक राम लक्ष्मण रिमाललगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।
सम्मेलनमा अस्ट्रेलियाका ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गर्ने कार्यक्रम छ। सम्मेलनमा एआई, प्रविधि, स्टार्टअप, लगानी, नवप्रवर्तन तथा विश्वव्यापी व्यवसायिक सम्भावनाका विषयमा छलफल हुने जनाएको छ।
आयोजकका अनुसार, सम्मेलनका क्रममा नवप्रवर्तनका लागि ३५ लाख रुपैयाँ बराबरको एआई स्टार्टअप प्रतियोगिता हुनेछ। नेपाली स्वामित्वमा रहेको एआईमा आधारित कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन्। यस सम्बन्धी विस्तृत जानकारी फिनेको वेबसाइटबाट राखिएको छ।
Shares

प्रतिक्रिया