सुनसरीको धरानमा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक सिटिसफारी चालक पक्राउ परेका छन्। उनले किशोरीलाई झुक्याएर एकान्त स्थानमा लगि जबरजस्ती करणी गरेको आरोप छ।
पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय रोशन विश्वकर्मा रहेका छन्। उनलाई प्रहरीले चैत १० गते रामधुनीस्थित उनकै घरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले दिएको जानकारी अनुसार धरानमा स्थायी घर भई हाल मोरङको सुन्दरहरैंचामा बस्दै आएकी १७ वर्षीय किशोरी गत चैत ६ गते धरानमा बलात्कृत भएकी हुन्। डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते साँझको समयमा धरान भोटेपुलमा उनी घर फर्किन बस कुरेर बसिरहेकी थिइन्। सोही क्रममा सिटी सफारी चलाएर आएका विश्वकर्माले ‘यहाँ बस पाइँदैन, अलि तलबाट पाइन्छ’ भन्दै उनलाई आफ्नो सफारीमा चढाए।
किशोरीलाई गन्तव्यमा पुर्याउनुको साटो चालकले झुक्क्याएर धरान उपमहानगरपालिका वडा नम्बर ५ स्थित साकेला पार्कको जङ्गल क्षेत्रमा पुर्याए। प्रहरीका अनुसार, त्यहाँ पुगेपछि आरोपितले किशोरीमाथि कुटपिट गर्नु थाले । कुटपीटबाट डराए होस गुमाएको अवस्थामा चालक विश्वकर्माले किशोरिलाई बतात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपित चालकले मोबाइल समेत लुटेर भागेका थिए।
पछि किशोरीले इलाका प्रहरी कार्यालय धरानमा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान सुरु गरेको थियो।
घटनास्थल र आसपासका क्षेत्रमा रहेका सिसी क्यामेराका फुटेजहरू सूक्ष्म रूपमा अध्ययन गर्दा प्रहरीले घटनामा प्रयोग भएको सिटी सफारीको पहिचान गर्न सफल भएको जनाएको छ। सोही आधारमा खोजी कार्य तीव्र पारिएकोमा घटनाको चार दिनपछि आरोपितलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हाल आरोपित विश्वकर्मा विरुद्ध जबरजस्ती करणीको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
Shares

प्रतिक्रिया