कला


पाखण्डको पर्दा उघार्ने नाटक ‘चरणदास चोर’ : सत्यले किन बलिदान खोज्छ

पाखण्डको पर्दा उघार्ने नाटक ‘चरणदास चोर’ : सत्यले किन बलिदान खोज्छ

लक्ष्मी बलायर
चैत १२, २०८२ बिहिबार ७:२५, काठमाडौँ

मण्डला थिएटरको अँध्यारो हल। नाटक सुरु हुनु अगाडिबाटै गुञ्जिन्छ मिठो संगीत। जसले आएका दर्शकहरूको मन यसै तानिदिन्छ। बेजोड संगीत अनि मिठो गायनले गर्दा नाटक हेर्नभन्दा सांगीतिक साँझमा आएको अनुभूति ज्यादा हुन्छ। त्यसैले त नवराज सापकोटाले ‘मनमा तिमी आज मेरो’ गाउँदा दर्शकहरू आँखा बन्द गर्दै संगीतमै झुमिरहेका थिए।

वनको हावा बहेर जान्छ, वनैको शिरमाथि
जीवनको सत्य, मोह र त्याग, रमाउनु पीरमाथि

पृष्ठभूमिमा माथिको गीत बजेसँगै सुरू हुन्छ नाटक ‘चरणदास चोर’। मञ्चमा देखिन्छ मधेसको परिवेश। कोही शिरमा सामान बोक्दै हिँडिरहेका हुन्छन् त कोही साइकलमा दूध झुन्डाउँदै गन्तव्यतिर दौडिरहेका छन्। लगत्तै मञ्चमा देखिन्छ मुख्य पात्र चरणदास (विश्वविजय विक)। जसलाई हवलदार जंगले लखेटिरहेको छ।

खासमा चरणदास चोर हुन्छ। नचोरी उसलाई चित्त बुझ्दैन्। बाटोमा जे भेट्यो, त्यही चोर्दै हिँड्छ। तर, चोर भए पनि ऊ कोमल र इमानदार हुन्छ। एकदिन तिनै चरणदासले सुनको थाल चोर्छ। पुलिसबाट बच्दै ऊ एउटा साधुको कुटीमा पुग्छ। साधुले उसलाई सुध्रिनका लागि केही कुराहरू त्याग्न भन्छन्। चरणदास ख्यालख्यालमै प्रतिज्ञा गर्दै भन्छ:

म कहिल्यै सुनको थालमा खाना खान्नँ।

म कहिल्यै हात्तीमा चढेर आफ्नो सम्मानमा निकालिएको जुलुसको नेतृत्व गर्दिनँ।

म कहिल्यै कुनै देशको राजा बन्दिनँ।

म कहिल्यै राजकुमारी वा रानीसँग विवाह गर्दिनँ।

चरणदासले यी चार प्रतिज्ञा गर्दा ढोँगी बाबालाई खासै चित्त बुझ्दैन। जसकारण उसले अरू पूरा गर्न सकिने प्रतिज्ञा गर्न भन्छ। त्यसपछि बाबाको आग्रहमा चरणदासले कहिल्यै झुट नबोल्ने वाचा गर्छ।

चरणदासलाई लाग्छ कि यी परिस्थितिहरू उसको जीवनमा कहिल्यै आउने छैनन्। तर, घटनाक्रम यसरी बदलिन्छ कि ऊ बिस्तारै यी सबै परिस्थितिको नजिक पुग्छ। यस्तो अवस्थामा चरणदासले के निर्णय गर्ला? के चरणदासले बाबासँग गरेको प्रतिज्ञा पूरा गर्ला त? त्यो थाहा पाउन भने मण्डला थिएटर नै पुग्नुपर्ने हुन्छ। 

‘चरणदास चोर’ चर्चित भारतीय नाटककार हबिब तनविरद्वारा लिखित नाटकको नेपाली रुपान्तरण हो। जसलाई आशान्त शर्मा र राजन खतिवडाले अनुवाद गरेका हुन्। यसअघि पनि यो नाटक राजन खतिवडा र विकास जोशीको निर्देशनमा मञ्चन भएको थियो।

तर, निर्देशक मिलन कार्कीले नाटकलाई नेपाली परिवेशमा कुशलतापूर्वक ढालेका छन्। उनले नाटकमा मधेसको परिवेश र लवज मिसाएका छन्। जसले नाटकमा स्थानीय नेपालीपन झल्किन्छ।

त्यस्तै, यस नाटकमा मण्डला थिएटरको १८ औँ ब्याचका विद्यार्थीहरूको अभिनय छ। पहिलो प्रयास भए पनि नाटकमा कलाकारहरूको सामूहिक ऊर्जा लोभलाग्दो छ। चोरलाई लखेट्दा होस् वा दरबारका दृश्यहरूमा। उनीहरूको हाउभाउ, अनुहारको भागभंगी र टाइमिङले नाटकलाई रोचक बनाएको छ।

मुख्य पात्र चरणदासको चलाखी र इमानदारीबीचको द्वन्द्वलाई नाटकमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। चरणदास बनेका विश्व विजयको अभिनय सशक्त लाग्छ। इमानदार चोर बनेका उनको हाउभाउ र बोल्ने शैलीले दर्शकलाई तानिरहन्छ। त्यस्तै, अन्य कलाकारहरूको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन।

चरणदासको मानवीय पक्षलाई पनि नाटकमा विशेष जोड दिइएको छ। चोरी गरे पनि ऊ गरिबलाई सहयोग गर्छ। गुरुलाई दिएको वचन नै उसको जीवनको सबैभन्दा ठूलो शक्ति र कमजोरी बनिदिन्छ।

एक इमानदार चोरको कथा भए पनि यस नाटकले नेपाली समाजमा व्याप्त पाखण्डी स्वभाव र राजनीतिप्रति व्यंग्य गरेको छ। पुलिसले चोरलाई समात्न नसकेको र उल्टै चोरकै बुद्धिको अगाडि निरीह बनेको दृश्यहरूले फितलो सुरक्षा व्यवस्था र भ्रष्टाचारमाथि कडा व्यङ्ग्य गर्छ।

त्यस्तै, नाटकमा चोरलाई समाजका कथित सभ्य र ठूला मानिसहरूभन्दा बढी इमानदार देखाइएको छ। एकातिर चोर छ, जो चोरी गरे पनि सत्य बोल्छ। अर्कोतिर मन्त्री, गुरु र शासकहरू छन्, जो बाहिर राम्रा कुरा गर्छन् तर भित्रभित्रै भ्रष्ट हुन्छन्। नाटकले पुलिस, प्रशासन र धार्मिक गुरुहरूको कार्यशैलीमाथि गरेको कटाक्षले दर्शकलाई सोच्न बाध्य बनाउँछ।

गीतसंगीत यस नाटकको सबैभन्दा बलियो पक्ष हो। मञ्चको एक छेउमा बसेर सौरभ चालिसेको संगीत संयोजनमा नवराज सापकोटा गीतहरू गाउँछन्। जसले दर्शकहरूलाई संगीतको तालमा बगाउँदै पात्रसँग यात्रा गराउँछ। नाटकमा अनुप न्यौपाने, राजन खतिवडा र आशान्त शर्माका ५ वटा गीत समावेश छन्। जसले नाटकको परिवेश, अवस्था र पात्रहरूको मुडअनुसारको भाव बोल्छ। अझै अन्तिमा आउने गीतले त नाटकको सार नै बताइदिन्छ।

कथाको कुलो कथामै बग्छ
दुनियाँ छली छ, कथामै दाग छ
सत्यको कुण्ठा जीवनले बोक्छ
सत्यले किन बलिदान खोज्छ?

एउटा भ्रष्ट समाजमा सत्य बोल्न कति भारी पर्न सक्छ? सत्यले सधैँ बलिदान खोज्छ भन्ने कुरा नाटकले प्रस्तुत गरको छ। एक चोर जब सत्यको बाटोमा हिँड्न खोज्छ, उसलाई यो संसारले बाँच्न दिँदैन। के यो समाज सत्यवादी मानिसका लागि योग्य छ त? यही प्रश्न नाटकको मूल सार हो।

त्यस्तै, नाटकले समाजको कुरूप अनुहार देखाउँछ। यो नाटक हेरिसकेपछि मनमा एउटै कुरा आउँछ: एउटा चोर त यति इमानदार हुन सक्छ भने, हामी किन सक्दैनौँ?

हास्य र व्यङ्ग्यको उत्कृष्ट मिश्रण भए पनि कतिपय ठाउँमा नाटक चुकेको छ। दर्शक हँसाउन कतिपय ठाउँमा द्विअर्थी संवाद प्रयोग गरिएका छन्। जसले नाटकलाई केही हल्का बनाएजस्तो लाग्छ।

एउटा दृश्यमा चरण बाबालाई बिन्ती गर्दै भन्छ: 'मलाई तपाईंको शिष्य बनाउनुहोस्।' त्यतिबेला ऊ गुरुको पाउ पर्छ, घुँडा समाउँछ। त्यतिबेला बाबा भन्छ: 'धोती छोड्, जो पनि आउँछ, दर्शन गर्न खोज्छ।' यस्तै अरु संवादले पनि नाटकलाई सतही बनाएजस्तो लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad