अर्थनीति


कोसी प्रदेश सरकारले असन्तुलित बजेट रोक्ने

कोसी प्रदेश सरकारले असन्तुलित बजेट रोक्ने

नेपालखबर
चैत १६, २०८२ सोमबार १५:५२, विराटनगर

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि असन्तुलित  बजेटहरू रोक्ने बताएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्षदेखि असन्तुलित बजेट वितरणको परिपाटीलाई पूर्ण रूपमा रोक्ने बताएका हुन्। 

उनले नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। विराटनगरमा प्रदेश योजना आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका कमजोरीहरूको समीक्षा गरी यस पटक योजना बैङ्कलाई व्यवस्थित रूपमा सञ्चालन गरिने र त्यहाँ प्रविष्ट भएका योजनाहरूलाई मात्र प्राथमिकता दिइने स्पष्ट पारे। 

गत वर्ष पनि मुख्यमन्त्रीले यही कुरा दोहर्‍याएका थिए। उनले प्रदेश संरचनाको प्रभावकारितामाथि उठेका प्रश्नहरूलाई चिर्न यस पटक देखिने गरी काम गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री कार्कीले भने, ‘जिल्ला तहबाटै बजेट इन्ट्री गर्ने प्रणाली विकास गरिएको छ।’

यसैबीच प्रदेश सरकारले विकास, अनुसन्धान र सेवा प्रवाहलाई वैज्ञानिक बनाउन विभिन्न विश्वविद्यालयहरूसँग महत्त्वपूर्ण सम्झौतासमेत गरेको छ। विशेष गरी परम्परागत रूपमा उत्पादन गरिँदै आएको घरेलु मदिराको गुणस्तर परीक्षण र ब्रान्डिङका लागि धरानस्थित केन्द्रीय प्रविधि क्याम्पससँग सम्झौता गरिएको छ भने अन्य प्राज्ञिक संस्थाहरूसँग पनि खोज र सम्भाव्यता अध्ययनका लागि सहकार्य सुरु गरेको कोसी प्रदेश सरकारले जनाएको छ। 

प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले वैशाख ५ गतेभित्र आयोजना बैङ्कमा योजनाहरू प्रविष्ट गरिसक्ने तयारी रहेको बताए। प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले आयोजना बैङ्कको कार्यान्वयनले प्रदेशको समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad