अर्थनीति


मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरूले पाएको त्यो उपहार के हो?

मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरूले पाएको त्यो उपहार के हो?

नेपालखबर
जेठ २६, २०८३ मंगलबार २०:६, काठमाडौँ

मंगलबारको मन्त्रिपरिषद बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुगेका मन्त्रीहरुलाई एक–एक वटा उपहारको थैलो दिइयो। 

विशेष उपहार रहेको झोला देखाउँदै मन्त्रिपरिषद बैठकमै तस्बिर समेत खिचाए। तस्वीरमा सबैजसो मन्त्रीहरु उपहार पाएर दङ्ग देखिन्छन्। 
त्यो उपहार कृषि, वन तथा पर्यावरणमन्त्रीले गीता चौधरीले मन्त्रिपरिषद पुर्‍याएकी हुन्। त्यसका लागि पहिलैदेखि तयारी गरिएको थियो। दुग्ध विकास संस्थानकोको झोलामा डीडीसीका उत्पादन मन्त्रिपरिषदसम्म पुर्‍याएको हो।

मन्त्री चौधरीले नै डीडीसीको उत्पादन मन्त्रीहरुलाई बाँढेर प्रचार गर्ने योजनाअनुसार ती विशेष उपहार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेको डीडीसीका महाप्रबन्धक एवं कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सहसचिव डा.शरण कुमार पाण्डेले बताए। 

‘मन्त्रिपरिषद बैठकमा उपहार बाँडेर डीडीसीको उत्पादन प्रचार गर्ने योजना मन्त्रीज्युकै हो। उहाँकै सल्लाहअनुसार हामीले डीडीसीको उत्पादन प्याकिङ गरेर पठाएका हौं,’ महाप्रबन्धक पाण्डेले नेपालखरसँग भने।

मन्त्रिपरिषदमा कुनै उपहार लैजान प्रधानमन्त्रीको अनुमति विना सम्भव छैन। अर्कोतर्फ, अहिले प्रधानमन्त्रीसँग कर्मचारीहरुको सिधा पहुँच पनि छैन। मन्त्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग अनुमति लिएर डीडीसीको उत्पादन उपहार दिनका लागि मन्त्रिपरिषद बैठकमा लगिएको उनले बताए।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री कार्यालयमा डीडीसीको याक चिज खादै गरेको तस्बिर खिचेर आफ्नो फेसबुक पेजमा राखेर प्रचार गरेका थिए। त्यसपछि, डीडीसीको याक चिजको माग ह्वात्तै बढेको थियो।

प्रधानमन्त्रीले याक चिजको प्रचार गरेपछि डीडीसीले १५ दिनको अवधिमा पाँच हजार किलो याक चिज विक्री गरेको थियो। अहिले डीडीसीसँग चिजको स्टक नरहेको र नयाँ उत्पादनको लागि दुध संकलन बढाएको पाण्डेले नेपालखबरलाई जानकारी दिए। 

मंगलबार मन्त्रीहरुलाई दिइएको डीडीसीको उपहारमा फ्लेबर मिल्क २०० एमएल, चिज २०० ग्राम, पनिर २०० ग्राम, खुवा २०० ग्राम, दही २०० एमएल र मही ३०० एमएल राखेर प्याकिङ गरिएको थियो।

मन्त्रीहरुलाई दिइएको उपहारमा एक प्याकेटमा राखिएको सामानको उत्पादन मूल्य ८ सयदेखि ९ सय रुपैयाँ पर्ने पाण्डेले बताए। 

डीडीसी सरकारी स्वामित्वको कम्पनी हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad