कोसी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेशका तीन पहाडी जिल्लाहरू सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा सञ्चालित विकास आयोजनाहरूको स्थलगत अनुगमन गर्ने भएको छ। बुधवार बसेको समितिको बैठकले यी जिल्लाहरूमा सञ्चालित पूर्वाधार निर्माण र विकास बजेट खर्च प्रणालीमा देखिएका कैफियतहरूबारे छानबिन गर्न अनुगमनमा जाने निर्णय गरेको हो।
भौतिक पूर्वाधार निर्माण गर्दा नापी किताबमा उल्लेख गरेर भएको निर्माणलाई महालेखाको प्रतिवेदनले बेरुजु गरी असुल गर्न भनेको छ। महालेखाको प्रतिवेदन अनुसार ओखलढुङ्गाको पूर्वाधार विकास कार्यालय अन्तर्गत ठुला छाप भदौरेमा सिस्नेखोला पुल निर्माण २०८१ असोज २६गतेसम्म सम्पन्न गर्न ६ करोड ३० लाख ७३ हजार भुक्तानी गर्ने गरी २०७९ असोज २७ गते सम्झौता भएको थियो । आ.ब.२०८०–०८१ को बजेटमा दोस्रो रनिङ बिलसम्ममा ३ करोड ८५ ला २० हजारको काम भएको छ। पछि स्थलगत निरीक्षणमा ग्याविन बक्स ५९८.७६ घन मिटर र रिटेनिङवाल ४५३.५ घन मिटर नापी किताबमा समावेश गरी ७८ लाख ९३ हजार भुक्तानी गरेको महालेखाले औँल्याएको छ।
यो योजनामा नापी किताबमा समावेश गरी भुक्तानी भएको कार्य निरीक्षणको क्रममा निर्माण गरिएको नदेखिएकोले भुक्तानी गर्नेलाई जबाफदेही बनाई बढी भुक्तानी भएको रकम असुल उपर गर्न भनिएको छ। यो योजनाको अनुगमन पछि सार्वजनिक लेखा समितिले बेरुजु असुल गराउने जनाएको छ।
खोटाङ जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइ महालेखाले डिभिजन कार्यालयका योजनाहरूमा पनि उस्तै खालको आर्थिक अनियमितता तथा बेरुजु ठम्याएको छ। खोटाङका १८ खानेपानी योजनाका लागि ३ करोड ६३ लाख ८८ हजार रुपैयाँ खर्च भइरहँदा पाइप जडानमा ठुलो बदमासी भएको भनिएको छ। ४ लाख २७ हजार १३२ मिटर पाइप खर्च तोकेकोमा पेस भएको नापी किताबबाट ३ लाख ८२ हजार ५२७ मिटर जडान भएको र २१ लाख ४९ हजार मूल्यका ४४ हजार५४५ मिटर पाइप जडान भएकोले महालेखाले बेरुजु निकालेको छ। यी सबै बेरुजु तथा सरकारले गरेको अवैध काममा महालेखाले प्रश्न उठाए पछि ती योजनामा सार्वजनिक लेखा समितिले चासो देखाएको हो ।
यी सबै घटनामा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ को ठाडो उल्लङ्घन भएको महालेखाको जिकिर छ। सार्वजनिक लेखा समितिका सभापति किराँतीले अहिले मुख्य केही ठुला योजनामा भएको अनियमितताका विषयलाई अनुगमनको प्राथमिकतामा राखिने बताए।
सम्बन्धित कार्यालयहरूले फिल्ड अनुगमन नगरीकन भुक्तानी दिएको पाइएपछि लेखा समितिले स्थलगत निरीक्षणमार्फत सत्य तथ्य बाहिर ल्याउने तयारी गरेको हो। मन्त्रालयसँगको छलफलमा समितिले बजेट विनियोजन र कार्यान्वयनको प्रक्रियामा देखिएका यस्ता कमजोरीहरूबारे जवाफ माग्ने र दोषीलाई कानुनी दायरामा ल्याउनको लागि पहल सरकारलाई निर्देशन दिने समितिको तयारी रहेको समितिका सदस्य किशोरचन्द्र दुलालले जानकारी दिए।

प्रतिक्रिया