ब्लग


अब नो सलामी नो गुलामी

अब नो सलामी नो गुलामी

नारायण वाग्ले
फागुन ७, २०७७ शुक्रबार १५:२७,

आज सत्तरी वर्षपछि सही साइतमा सही ठाउँमा आफ्नो हक जताउन हामी आएका थियौँ। हामीलाई बन्देज लाग्यो र नेपाली लोकतन्त्रको स्तर आज उदांगो भयो।

लिच्छिवीकालको त्यो विशाल उखु चौर, आजको माइतीघरदेखि लौनचौरसम्म।

काठमाडौं उपत्यकाकाको यो विराट छाती, आम जनताको यो विशाल सम्पत्ति के भयो? हाम्रा सामु आज ७० वर्षपछि उदांगो भो।

यही टुँडिखेलमा नारायणहिटी, बागदरबार बनाइयो। सैनिक परेड छाउनीबाट सारेर टुँडिखेल ल्याइयो, सेतोदरबार, लालदरबार, कोरा दरबार, चारबुर्जा दरबार, केशर महल बनाइयो। सैनिक तोपशाला यहीँ ल्याइयो। सानो टुँडिखेललाई रंगशाला बनाइयो। सैनिक मुख्यालय बनाइयो र त्यहाँ पार्टी प्यालेस बनाइयो।

उपत्यकाबाहिरबाट आएका यात्रु बस्ने बाटुलो चौतारी भएको ठाउँ मासेर आज रत्नपार्क बनाइयो र आज त्यहाँ पस्न पैसा तिर्नुपर्छ।

हाम्रा शासकहरुलाई सोध्नुपर्ने भएको छ। तिमीले भट्याउने गरेको विकास के हो?

दुई हजार वर्ष लगाएर समुदायले बनाएको यो नेपाल मण्डल आज के भयो?

पानी सञ्चय र प्रशोधन गर्ने त्यो विशाल उखुबारी र नर्कट झारीलाई कवाज मैदान बनाएपछि काठमाडौं काकाकुल बनेको थाहा छ कि छैन?

राजकुलो कसले काट्यो, किन काट्यो?

त्यहाँका पारिश्रमी जनतालाई खेती नगर भनेको हो कि होइन? खेती नगर, जग्गा आनाआना गरेर बेच।

ढुंगे धाराको पानी पिउनु ढुंगे युगमा जिउनु हो?

सयौँ वर्ष पुरानो सित्तैँमा पानी पाइने धाराहरु सुकाएर महंगो मेलम्चीको सपना देखाएको देखायै गर्नु धोका हो कि होइन ?

काठमाडौं आफैँ समृद्ध थियो, तिम्रो समृद्धिको नारा फगत षडयन्त्र हो।

हामी संस्कृतिमा धनी भनेको छ, डोजर चलाएको छ।

हामी सम्पदामा धनी भनेको छ, पोखरीमा सिमेन्ट हालेको छ।

हामी जात्रामा धनी भनेको छ, गुठी मास्ने कानुन ल्याएको छ।

चिनियाँ बादशाहको वाहावाही पाउने अरनिको कसले जन्मायो? कसले हुर्कायो? कसले सिकायो? कुन सभ्यता र संस्कृतिले सिकायो?

खरीबोटलाई साक्षी राखेर नेपालमा प्रजातन्त्र घोषणा भएको आज ठिक ७० वर्ष भयो।

खरिबोट मासियो, प्रजातन्त्र भासियो।

न संस्कृति सहितको प्रकृति रह्यो, न जनमतसहितको प्रजातन्त्र।

प्रजातन्त्रको नाममा गुलामी चल्न थाल्यो, हामी जनतालाई फेरि गराउन थाले गुलामी।

७० वर्षपछि यहाँ उभिएर आज भन्छौँ– अब नो सलामी नो गुलामी।

शासकहरुलाई प्रश्न गर्छौँ– के परिवर्तन भयो?

के नेपालबाट चाकडी प्रथा गयो?

के चाप्लुसी गर्नेहरु बदलिए?

के चाटुकारहरु घटे?

आज ७० वर्षपछि पनि हरेक ठालुको घरमा दर्शन भेट चल्छ कि चल्दैन? जी हजुरी जारी छ कि छैन?

के नेपालबाट जन्मँदै जर्नेल, नाति जर्नेलको प्रथा गयो?

फलानो, ढिस्कानोको छोरा जन्मँदै नेता हुने प्रथा किन हटेन?

वंशवाद किन गएन?

के राजनीति पनि परिवारको पेवा हुन्छ?

के राज्यपनि कसैको ठेक्का हुन्छ?

के जनताले गरेको बलिदान तिमीले यसरी निर्मम तरिकाले धिक्कार गर्न मिल्छ?

हामीलाई थाहा छ, नेपालको इतिहास जनताको संघर्षको इतिहास हो, आन्दोलनको इतिहास हो।

तर जनताको बुई चढेर जो ठूला दरबारमा पुग्छन्, सलामी र गुलामीको चौघेराबाट लोकतन्त्रको टुँडिखेलमा कवाज खेल्न थाल्छन्।

टुँडिखेल मास्ने र मासेको टुलुटुलु हेर्नेले लोकतन्त्रको विराट अठोट मास्ने गर्छन्।

संविधान मास्ने गर्छन्, संसद मास्ने गर्छन्। जनताका सपना मास्ने गर्छन्।

जनताका विशाल बलिदान सम्झँदै हामी यहाँ उभिएर बाचा गर्दैछौँ।

अब हामीलाई मुक्त टुँडिखेल चाहिन्छ।

अब हामीलाई खुला लोकतन्त्र चाहिन्छ।

अब हामीलाई आफ्नो पौरख र प्रतिभाको विकास चाहिन्छ।

अब हामीलाई शीर उभ्याएर संसार नियाल्ने निर्भिक नागरिकतन्त्र चाहिन्छ।

पराधीन मानसिकता होइन, परिश्रम गर्नेले देशभित्रै आत्मसम्मान पाउने व्यवस्था चाहिन्छ।

किसान हुँदा गर्व गर्ने, मजदुर हुँदा लड्नसक्ने।

हामीलाई अब नागरिकले शीर ठाडो पारेर उभिने व्यवस्था चाहिन्छ।

(बृहत् नागरिक आन्दोलनले शुक्रबार आयोजना गरेको सभामा नारायण वाग्लेले राखेको मन्तव्य)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad