कोरोना संक्रमणको सबैभन्दा पहिले आक्रान्त बनेको भनिने चीन आर्थिक पुनःउत्थानमा सक्रिय हुन थालेको छ। जनजीवन सामान्य बन्दै उत्पादन गतिविधि तथा शैक्षिक संस्था पुनः सञ्चालन भइसकेका छन्।
चीनमा अहिले दिनमा जम्मा दुईदेखि चार जनासम्म संक्रमित देखापर्ने गरेका छन्, ती पनि बाहिरी मुलुकबाट आएका चिनियाँ मात्र हुन्। तर पनि चीन अझै ढुक्क बनिसकेको छैन। कारण विश्वकै कारखानाका रूपमा परिचित चीन– संसारसँग हातेमालो र आदानप्रदान सुरु भएपछि मात्र पूर्ण रूपमा आर्थिक सक्रियता आउने ठान्छ। विश्वमा विद्यमान प्रतिकूल अवस्थामा पनि चीनले एउटा बृहत् महोत्सव सम्पन्न गरेको छ।
‘विश्वको सेवा आपसी हितमा बाँडफाँड’ नारासाथ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला आयोजना गरिएको हो। सेप्टेम्बर ४ तारिखदेखि बेइजिङको ओलम्पिक पार्क क्षेत्रमा आयोजित मेला सेप्टेम्बर ९ तारिख बुधबार सम्पन्न भएको हो।
चीनले सन् २०१२ देखि अन्तर्राष्ट्रिय सेवा व्यापार मेला आयोजना गर्ने गरेको हो। यसअगाडि ६ पटक आयोजना भइसकेको यो मेला चीनमा वैदेशिक खुलापनका लागि तीनवटा मुख्य प्रदर्शनी मञ्चमध्येको एक हो। क्वाङ्चौ व्यापार प्रदर्शनी र चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोकै हाराहारीमा चीनले सेवा व्यापार मेलालाई राखेको छ।
अन्य प्रकारका मेलाभन्दा यो मेला मूलभूत रूपमा केही पृथक हुन्छ। यहाँ उत्पादित वस्तु बिक्री नगरेर सेवा मात्र बिक्री गरिन्छ। उदाहरणका लागि पर्यटन सेवा,स्वास्थ्य सेवा,सूचना र प्रविधि सेवा,कृषि सेवा,शैक्षिक सेवालगायत विविध सेवाको प्रवर्द्धन गर्नु नै यो मेलाको उद्देश्य हो। मेलामा स्वास्थ्य,सूचना,शिक्षा,सञ्चारलगायत क्षेत्रमा रोबर्टले दिने सेवा दर्शकका लागि निकै आकर्षणको विषय बनेको थियो। सामान्य रूपमा घर सफाइ गर्ने कामदेखि व्यापारिक मलमा र्याकमा सामान मिलाउनेसम्मका काम रोबर्टले गर्न थालेको छ। फोहोरमैला छुट्ट्याएर राख्ने तथा प्रशोधनदेखि सुरक्षासम्ममा रोबर्टको प्रयोग सामान्य मानिन्छ।
तर रोबर्टका कतिपय काम– नेपालजस्तो कम विकास र पूर्वाधार भएको मुलुकका लागि रोमाञ्चक कथाजस्ता लाग्न सक्छन्। मेलामा राखिएका रोबर्टले समाचार लेख्नेदेखि जटिल शल्यक्रियासम्मका काममा आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
सन् २०२० को सुरुदेखि कोभिड–१९ को संक्रमण बढेपछि चीनले खुला तथा सर्वसाधारणलाई प्रत्यक्ष सहभागी गराइएको पहिलो महोत्सव पनि हो यो। नत्र यसअघि चीनले महोत्सव अथवा मेला अनलाइनबाट मात्र आयोजना गरिरहेको थियो।
यो प्रदर्शनी विश्व सेवा–उद्योगको व्यापारमा सबैभन्दा ठूलो संयुक्त प्रदर्शनी हो। जहाँ १४८ मुलुक तथा क्षेत्रका १८ हजार उद्योगी/व्यवसायी प्रत्यक्ष सहभागी भएका थिए। मेलामा २ हजार प्रदर्शनी कक्ष थिए भने अनलाइनमा ४ हजारभन्दा बढी प्रदर्शक थिए। मेला अवधिभर अनलाइन र प्रत्यक्ष भेला भएर १९० कार्यक्रम सम्पन्न भएका छन्।
विश्वमा आर्थिक वृद्धिका सेवा–उद्योग व्यापारलाई महत्वपूर्ण खम्बाका रूपमा लिइन्छ। हाल सेवा–उद्योगका उत्पादनले विश्व आर्थिक क्षेत्रमा ६० प्रतिशत हिस्सा ओगटेको छ। विश्व आर्थिक विकासमा नयाँ शक्ति थप्ने कारक तत्वका रूपमा उभिएको सेवा–उद्योगले विश्वव्यापी निर्यातमा २० प्रतिशत योगदान दिएको छ र अहिले विश्वको निर्यात वृद्धि दर ५० प्रतिशत पुगेको छ।
सन् २०१२ देखि चीनको सेवा–उद्योग व्यापार मात्रा हरेक वर्ष ७.८ प्रतिशतले वद्धि भइरहेको छ। यो दर विश्वको वृद्धि दरभन्दा ३ दशमलव ७ प्रतिशत बढी हो। सन् २०१९ मा चीनमा सेवा व्यापार निर्यातको कूल रकम ५४ खर्ब १५ अर्ब ३० करोड चिनियाँ युआन पुगेर विश्वमा दोस्रो स्थान ओगटेको छ।
मेलामा सबैभन्दा चासोको विषय पर्यटन क्षेत्र थियो। मेलाकै एउटा भागका रूपमा रहेको विश्व पर्यटन सहयोग तथा विकास सम्मेलनले ‘कोरोना भाइरस महमारीको पृष्ठभूमिमा विश्व पर्यटन व्यवसायको पुनः सुरुवात र विकास प्रतिवेदन’ सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार कोरोना महामारीबाट विश्व पर्यटन व्यवसायमा त्रास बढेको छ। सन् २०२० मा विश्वमा अन्तर्राष्ट्रिय पर्यटक घट्ने हुनाले पर्यटन उद्योगको आम्दानी ५८ प्रतिशतदेखि ७८ प्रतिशतसम्म कम हुने औंल्याएको छ। साथै महामारीबाट विश्व पर्यटन व्यवसायका १० करोडदेखि १२ करोडसम्म व्यक्तिले रोजगारी गुमाउने आकलन पनि प्रतिवेदनमा गरिएको छ।
सेवा व्यापारमा शैक्षिक सेवा अर्को महत्वपूर्ण पक्ष हो। चीनमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकका लागि त यो झनै महत्वपूर्ण अन्तर्क्रियात्मक थलो पनि हो। मेलाकै एउटा हिस्साका रूपमा रहेको अन्तर्राष्ट्रिय शैक्षिक सेवा व्यापार गोष्ठीका अनुसार केही वर्षयता बेइजिङले शिक्षाको वैदशिक खुलापनलाई विस्तार गर्नाका साथै शैक्षिक वातावरणमा सुधार गरेर बढी विदेशी विद्यार्थीलाई अझ आकर्षित गरेको छ। हाल बेइजिङमा अध्ययनरत विदेशी विद्यार्थीको संख्या १ लाख १० हजार पुगेको छ।
चीनमा ६ हजारको ४ सय हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्। हाल बेइजिङका २ हजार ७ सय शैक्षिक संस्थाले विदेशका विभिन्न शैक्षिक संस्थासँग सम्बन्ध स्थापना गरेका छन्। त्यसो त बेइजिङमा पढाउने विदेशी शिक्षकको संख्या पनि ५ हजार नाघिसकेको छ।
चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषदका प्रमुख काउ यानका अनुसार सेवा–उद्योग विश्वको आर्थिक पुनरूत्थानलाई घचघच्याउने नयाँ इन्जिन हो। अर्थतन्त्रको विश्वव्यापीकरणमा विभन्न देश तथा क्षेत्रमा आर्थिक ढाँचा तथा औद्योगिक परिवर्तन र स्तरवृद्धि तथा दिगो विकासलाई अघि बढाउने क्षेत्रमा सेवा व्यापारले महत्वपूर्ण भूमिका खेलेको छ।
चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्री स्याउ याछिङले बताएअनुसार सन् २०१९ मा चिनियाँ डिजिटल व्यापारको आयात–निर्यात कूल रकम २ खर्ब ३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। यो चिनियाँ सेवा व्यापारको २६ प्रतिशत हो र सन् २०१८ कोभन्दा ६.७ प्रतिशत वृद्धि भएको हो।
सेवा व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले मेला आयोजना गर्नुको मुख्य उद्देश्यमा प्रकाश पारेका थिए। स्वतन्त्र व्यापार परीक्षण क्षेत्र स्थापना गर्दै वैज्ञानिक तथा प्राविधिक नयाँ सिर्जना गर्ने र सेवा–उद्योगको खुलापनसँगै डिजिटल अर्थतन्त्र बनाउने यसको उद्देश्य रहेको उनले बताए। समन्वयात्मक रूपमा बेइजिङ, थ्यानचिन र हपै प्रान्तबीच उच्चस्तरीय खुलापन मञ्चको निर्माण गर्ने जानकारी दिँदै उनले यसबाट अझ उच्चस्तरीय सुधार तथा खुलापन ढाँचा स्थापना हुने दाबी गरे।
सत्तामा आएपछि सीले बेइजिङ थ्यानचिन र हपैको त्रिकोणात्मक विशाल आर्थिक प्रणाली बनाउने महत्वाकांक्षी आयोजना अगाडि सारेका छन् र हाल त्यसको निर्माण जोडतोडसँग भइरहेको छ। यस प्रकारका आर्थिक कार्यले के प्रस्ट्याउँछ भने भने चीन अझै खुला हुन चाहन्छ र विश्व आर्थिक क्षेत्रमा आफूलाई केन्द्रमा उभ्याउन चाहन्छ।
(बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत आचार्यको ‘बेइजिङ डायरी’ अबदेखि नेपालखबरमा पाक्षिक रूपमा प्रकाशन हुनेछ।)

प्रतिक्रिया