समाज


बनेपा नगरपालिकाद्वारा गर्भवती र सुत्केरीको निःशुल्क बीमा

बनेपा नगरपालिकाद्वारा गर्भवती र सुत्केरीको निःशुल्क बीमा

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ३:५५,

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेको बनेपा नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा सुरु गरेको छ।

नगरपालिकाले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको बिमा अभियान शुरु गरेको हो।

नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक बीमा कम्पनीसँग सम्झौता गरेर अभियानको शुरुआत गरेकी हुन्। ‘बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ। यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ,’ उनले भनिन्।

कार्यक्रमको शुरुआतसँगै सापकोटाले ५१ जना महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गरिन्।

सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाका सुत्केरी महिला बीमा कार्यक्रममा समेटिनेछन्। नगरभित्रका दुवै समूहका चार सय महिलाको निःशुल्क बिमा गर्ने तयारी छ।

नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बीमा कार्यक्रममा समेटिनेछन्। प्रिमियम रकममा ५० प्रतिशत छुटमा एक लाखको बीमा गरिएको हो।

सङ्क्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले जानकारी दिए। ‘बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ,’ उनले भने।

हाल बनेपा नगरपालिकामा सक्रिय सङ्क्रमित महिला ४० र ६६ पुरुष रहेका छन्। यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बीमा गरिसकेको छ।

पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर लामाले साताअघि एकल महिलाको आफैले निःशुल्क कोभिड–१९ बीमाको प्रक्रिया थालेका थिए।

आफ्नो क्षेत्रमा पहिचान भएका १२८ एकल महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिएको उनले बताए। ‘प्रिमियम रकममा ५० प्रतिशत छुटमा उनीहरुको बीमा गर्न गरेका हौँ,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad