युरीया मलको अभाव खेपिरहेका चितवनका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ।
धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाइदिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन। खेतका बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ।
जहाँ किरा लागेको हो, त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाई छ।
‘रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन । गबारोले गुभो नोक्सान गरेको छ,’ उनले भने, ‘गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ । पुतलीले ५–७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाईदिने गरेको छ।’
तिमिल्सीनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिन थालेको बताए। समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकिने विज्ञले बताएका छन्।
किसानको पुरानो अभ्यासअनुसार नै बारिको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सरफपानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मार्न सकिने तिमल्सिनिा बताउँछन्।
‘पुतलीको माउ र फुल सजिलै चिन्न सकिन्छ,’ उनले भने, ‘धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०–५० भन्दा बढि पुतली हुँदैन। यसो गर्न सकेमा रसायनिक बिषादीमा खर्च गर्नु पर्दैन।’
चितवनमा गबारोले जिल्ला भरिनै दुःख दिन थालेको छ। त्यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाईट’ रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ। पसाउने वेलाको धानमा यस्तो समस्या देखिएको हो।
धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पु¥याउने गरेको छ। यो रोग पूर्वी चितवनमा बढि रहेको छ । चितवन जिल्लामा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। रासस
Shares

प्रतिक्रिया