एकपटक आफ्नो अतीततिर नियाल्नोस् त गुरुवर। हजुरलाई कस्तो हुन्थ्यो कुन्नि, मलाई भने परीक्षाको रुटिन आएपछि दिमाग भारी हुन्थ्यो। त्यो भार परीक्षा नजिकिँदै जाँदा गरुंगो हुँदै जान्थ्यो अनि पहिलो दिनको जाँचपछि अलिकता घट्थ्यो।
दोस्रो दिनको जाँच सकिएपछि अझै हल्का हुन्थ्यो, दुई गास भात बढ्ता रुच्थ्यो। जतिजति जाँच सकिन्थे, उतिउति कापीकिताब पनि थन्किँदै जान्थे। हुँदैहुँदै अन्तिम दिनको जाँच सकिएर परीक्षा कोठाबाट बाहिर निस्कँदा त अनुहारमा ताजगी छाउँथ्यो, उत्साह भरिएर आउँथ्यो। मन फुर्फुर हुन्थ्यो, गोरखापत्रमा रुटिन निस्केका दिनदेखि कता हो कता भित्र गडेर बसेको पीडा स्वाट्टै हराएर जान्थ्यो। यतिबेला कम्तीमा आफूले परीक्षा दिँदाका दिन सम्झनोस् गुरुवर!
परीक्षापछिको मानसिक स्फूर्ति पक्कै पनि बिर्सनुभएको छैन होला हजुरले पनि। गुरुवरलाई कस्तो हुन्थ्यो कुन्नि? मेरो भने परीक्षा सकिँदा बाले पठाएको खर्च पनि सकिन्थ्यो। प्रशन्न दिल बोकेर उत्साहमा हुन्हुनाउँदै घर पुगिन्थ्यो। झोलामा मैला कपडा हुन्थे, रित्ता बट्टाहरू हुन्थे। गाउँमा कञ्चन मनहरू हुन्थे, प्रेमका गट्टाहरू हुन्थे। यसैका मोहनीमा समय घर्कन्थ्यो अनि मात्र म सहर फर्कन्थेँ।
सहर फर्किँदा झोलामा आमाको माया बट्टाभरि भरिएको हुन्थ्यो, बाबुको प्रेरणा पर्सभरि छरिएको हुन्थ्यो। खासमा नयाँ सत्र सुरु हुने बेला म गाउँबाट यति संलिएर फर्किन्थेँ कि गुरुले कक्षामा जे पढाउनुहुन्थ्यो त्यो झ्याप्प गिदीमा सेट हुन्थ्यो। एक किसिमको भिन्नै मनोविज्ञान हुन्थ्यो नयाँ कक्षाको आरम्भतिर। कोठामा हर्र बास्ना आउने नयाँ पुस्तकहरू हुन्थे, नयाँ–नयाँ कापी हुन्थे। त्यसमा नामको पहिलो अक्षर कहाँ लेखूँ भनी सोचविचार हुन्थे, नापी हुन्थे। लेखपढको निम्ति धर्ती जुरुक्क उचाल्ने भिन्नै जोस हुन्थ्यो, सोच हुन्थ्यो, जाँगर हुन्थ्यो। विगतको समीक्षा हुन्थ्यो, आगतको योजना हुन्थ्यो। यतिबेला कम्तीमा आफूले नयाँ सत्रको आरम्भ गर्दाका ती पुराना दिन त सम्झनोस् गुरुवर!
हजुरले विश्वविद्यालयमा गर्नुभएको दिव्य सेवाको गणना बिर्सनोस् एकैछिनलाई। पदप्राप्तिका निम्ति गरिएका संघर्ष पनि भुल्नोस् एकैछिन र अहिले यो कोभिडको कहरमा बाँचेको चोखो विद्यार्थी भएर सोचिदिनोस् त गुरुवर। कतै भर्ना हुने समय बाँकी थियो, भर्ना हुनै पाइएको थिएन। कतै आधा परीक्षा दिइएको थियो, आधा पाना भर्न पाइएकै थिएन। कतै यति तयारी सकेपछि प्रवेश पत्र लिन जाउँला भनी समय मिलाइएको थियो। कतै प्रवेशपत्र त लिइएको थियो तर, परीक्षा कोठामा प्रवेश गर्ने मार्गमा आतंक मडारिइरहेको थियो।
त्यस्तो बेला एक्कासि हजुरले सूचना पठाउनु भो। परीक्षाको तयारीले धपधप बलेको मस्तिष्कमा हजुरको सूचनाले ‘ब्ल्याक आउट’ गराइदियो। यसरी परीक्षा बन्द भो, पढाइ बन्द भो, परीक्षार्थीको दिमाग बन्द भो। बेलाबेलामा झसंग हुन्थ्यो, पिरलै पिरलोमा पढिटोपल्थेँ, फ्याट्टै रुटिन आउने हो कि भन्ने थियो। यस वर्ष पानी पनि धेरै परेर हो कि कुन्नि, पढेको कुरो पनि मक्किन थालेछ, रङ उड्दै गएछ।
दिमागमा रहेको त्यही धमिलो ज्ञान भए पनि विश्वविद्यालयको प्वाल पारेको कापीमा सुकाएर हल्का हुन खोजेको थिएँ। कति थामिरहनु यो सेमेस्टरभरि बाँध बाँधेर थामेको इन्द्रसरोवर? दिन बित्दै थियो, हजुरले जारी गरेका सूचनाले केही आश पलाउँदै थियो। अनायास भदौ लाग्न थालेका बेलामा डिन कार्यालयमा गड्याङ्ङ गर्यो, चट्याङ पर्यो। लौ के भो भनी फेसबुकमा हेर्छु त गुरुवरको सूचना पो परेको रहेछ। अघिल्लो सेमेस्टरको मान्द्रे ढुंगो बिसाउन नदिइकन किन ममाथि अर्को ढुंगा थप्न खोज्नुभएको होला कुन्नि? भारी बिसाउन पाए पो नयाँ भारी बोक्न हुन्थ्यो। गाह्रो पर्यो क्या गुरुवर, पुरानोलाई फ्लस नै नगरीकन म कसरी नयाँ भरूँ?
के गर्ने हो गुरुवर? यत्तिकै नयाँ सेमेस्टरका पाठ्यपुस्तक पढ्दा त ‘उपरिमाथि थुपरी’ पो हुने भयो। परीक्षा नै नदिईकन बोझिलो मनमस्तिष्कले त कसरी कक्षा चढ्नु र? नयाँ कक्षाका लागि उत्साह बटुलेर ल्याउन खोज्यो, पुरानो सेमेस्टरको परीक्षा जगल्टा फिँजाएर आँखै अगाडि नाच्न आउँछ। कहिलेसम्म यो ह्याङ बोक्ने? गुरुवर, त्रिभुवन विश्वविद्यालयले गरिरहेको यही मूल्यांकन पद्धति नै विद्यार्थी मूल्यांकनको अन्तिम विकल्प त पक्कै होइन होला। अरू उपाय केही नै नभएर हजुरले यसो गर्नुभएको होला भन्ने विश्वास गर्न पनि मनले फिटिक्कै मान्दैन।
विश्वविद्यालयका प्रत्येक संकायसँग आईटीसँग सम्बन्धित कार्यक्रम छन्, एक से एक विद्वान् गुरुहरू त्यहाँ अध्यापन गर्नुहुन्छ। लकडाउनका यी पाँच महिनामा विश्वविद्यालयले केही योजना नै बनाएको छैन भन्न पनि सक्दिनँ, यत्रायत्रा बौद्धिकहरूको एकत्व भएको थलोलाई कसरी अवमूल्यन गर्न मिल्ला र?
प्रविधिका अनेक तौरतरिका होलान्, सोझो हिसाबले पनि कक्षा अनलाइनबाट लिन मिल्ने भएपछि परीक्षा पनि पक्कै लिन मिल्नु पर्ने हो। होइन, पेपरवर्क नै गर्नुपर्छ, विद्यार्थीले कापीमा लेखेकै हुनुपर्छ भन्ने नै अन्तिम सत्य हो भने पनि हजुरले यही सूचनामा प्रश्नहरू पठाइदिनुभएको भए पनि हामीले उत्तरहरू लेखिपठाउँथ्यौँ। तपाईँले तोकेका केन्द्रमा तोकेकै समयमा मिहिनेतपूर्वक लेखी बुझाउँथ्यौँ। विश्वविद्यालयलाई उत्तरपुस्तिकाको कागत, छपाइ, बाइन्डिङ खर्च, केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक, कर्मचारी लगायत अनेक–अनेक भत्ताको खर्च, केन्द्र शुल्क सबै–सबै पनि बच्थ्यो अनि त्यतिमात्र होइन, गेसपेपर र आँखाछलीमा बाँचेको हाम्रो परीक्षाको परम्परित ढाँचामा युगसापेक्ष नवीनता ल्याउन सकिन्थ्यो।
कम्तीमा दिमागको दुःख बिसाएर छ्याङ्ङ भएर नयाँ यात्रामा हिँड्न त दिनोस् गुरुवर। भरिएको गाग्रो लिएर गुरुहरूबाट ज्ञान बटुल्न म कसरी हिँडूँ? के सोचेर यस्तो निर्णय गर्नुभयो?
कम्तीमा बैँसका ती दिन त सम्झनोस् गुरुवर! विद्यार्थीका ठाउँमा आफूलाई राखेर हेर्नोस्। यो कोभिड महामारी पनि कहिलेसम्म चल्ने हो थाहा छैन, यसै गरी गरी अर्को सेमेस्टर पनि जाला। कोभिड त जाला नजाला, अर्को केही आउला फेरि। अनि फेरि सूचना जारी होला– ‘परीक्षा त सहज अवस्था आएपछि लिइनेछ, अहिलेलाई थप अर्को सेमेस्टर पनि पढ्न थाल्नू।’
आफूलाई समस्यामुक्त पार्न विद्यार्थीका समस्यालाई खातमाथि खात लगाएर के गर्न खोज्नुभएको हो गुरुवर? विकल्प खोज्नुभएको भए हुने नि! महामारीको यही अवसरमा शिक्षण तथा मूल्यांकन पद्धतिलाई सही गति दिनुभएको भए हजुरलाई इतिहासले सम्झन्थ्यो। त्यतातिर जान हजुरका पाइलालाई केले रोक्यो होला कुन्नि! खासमा हजुरहरूलाई त्यस्तै परीक्षा नलिई नभएको वा मूल्यांकनको नयाँ विकल्पतिर जान मन नलागेको हाम्रो शिक्षाको गुणस्तर बिग्रने पिरले हो कि हजुरहरूको आय-आम्दानीको गुणस्तर खस्किन्छ भन्ने पिरले हो? यतिबेला विश्वविद्यालयको कुर्सीमा हजुर हुनुहुन्छ, त्यसैले यसबारेको सबैभन्दा धेरै ख्यालविचार पनि गुरुवरले नै गर्नुपर्ने होला। यस्तो सुनौलो मौका फेरि फेरि यसरी आइरहँदैन है गुरुवर। विज्ञेषु किमधिकम्।
(लेखक पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन)

प्रतिक्रिया