शनिबार बिहानको १० बज्दै थियो।
धनादेवी धामीले सधैँझैँ व्यापार गर्ने ठाउँमा पुगेर ट्याम्पोमा सरसामान मिलाइसकेकी थिइन्। भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–४ मा सडक छेउमा ट्याम्पोमा उनी चिया–पानीलगायत खुद्रा सामान बेच्थिन्।
अचानक डिभिजन वन कार्यालयका कर्मचारी त्यहाँ आइपुगे।
वनका कर्मचारी आफूतिरै आएको देखेर धनादेवी आत्तिइन्। के गर्ने कसो गर्ने भनेर उनले मोसो पाउन सकिनन्।
ती कर्मचारीहरू आएर धमाधम ट्याम्पोमा रहेका सरासामान उठाउन थाले।
‘केही नगरिदिनुस्, म यहाँबाट जान्छु,’ उनले बिन्ती गरिन्।
तर, उनको कुरा कसैले सुनेनन्। तिनले उनलाई मुख छाड्दा सामान उठाए अनि ट्याम्पो हुत्याउन थाले।
‘भारतमा जुठा भाँडा धोएर किनेको गाडी हो मेरो,’ धनादेवीले हात जोडेर बिन्ती बिसाइन्, ‘गाडी नफाल। ‘गाडी नफाल, फाल्यौ भने तिमीलाई पाप लाग्ला।’
तर, वनका कर्मचारी उनका कुरा सुन्ने पक्षमा थिएनन्। उनी ट्याम्पोमा झुन्डिन पनि पुगिन्। तर, ती बलिया मान्छेहरूले उनलाई त्यहाँबाट समातेर हटाए। अनि ट्याम्पो भिरबाट हुत्याइदिए।
अहिले त्यही भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ र मानिसहरू वनका कर्मचारीप्रति आक्रोशित भएका छन्।
आफूले जतिसुकै बिन्तीभाउ गरे पनि तिनले नसुनेको धनादेवीले नेपालखबरलाई सुनाइन्।
‘गाडी खसालिदिएदेखि मेरो टाउको दुखेर कति गाह्रो भएको छ। मेरो गाडीको भिडिओ सबैले देखेका छन्, धकेलेको हो भनेर। म गाडीमा झुन्डिएको थिएँ, मलाई फालेका हुन्। मेरो गाडी म घर लैजान्छु, यता ल्याउँदिनँ भनेर दस औँला जोड्दा पनि उनीहरूले मलाई नराम्रो गाली गर्दै गाडी फालिदिए,’ धनादेवी रुँदै सुनाउँछिन्।
सामाजिक सञ्जालमा वनका कर्मचारीको व्यवहारलाई लिएर तीव्र आलोचना भएपछि डिभिजन वन कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो अमानवीय कार्यको बचाउ गरेको छ। वन कार्यालयले भीमदत्त राजमार्ग क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने नियमित अभियान अन्तर्गत उक्त कार्य गरिएको जनाएको छ।
‘सडक किनारा अतिक्रमण गरी राखिएका संरचना र सवारी साधन हटाउन पहिले नै पटक–पटक मौखिक तथा लिखित सूचना दिइएको थियो। भिरबाट खसालिएको भनिएको उक्त ट्याम्पो गुड्ने अवस्थामा नरहेको (कबाडी) र सडकखण्डमा लामो समयदेखि बेवारिसे अवस्थामा राखिएको हुनाले दुर्घटनाको जोखिम बढाएको थियो। अतिक्रमण हटाउने क्रममा अटेर गरेपछि उक्त कदम चाल्नुपरेको हो,’ विज्ञप्तिमा भनिएको छ।
तर, आफ्नो ट्याम्पो चल्ने अवस्थामै रहेको धनादेवीको भनाइ छ।
‘अहिले मेरो गाडी बिग्रिएको थियो भन्छन्,’ उनले भनिन्, ‘होइन। मेरो गाडी चलिरहेको थियो।’
धनादेवीका तीन छोरा अहिले रोजगारीको सिलसिलामा भारत गएका छन्। घरमा उनकी एक बुहारी र नाति छन्।
दुःख गरेर छोराहरूले भारतमा मजदुरी गरेरै भए पनि दुईचार पैसा कमाउन थालेपछि धनादेवीको घरको अवस्थामा अलिअलि सुधार आउन थालेको थियो। डेढ वर्षअघि ट्याम्पो किनेका उनीहरूले राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूलाई ध्यानमा राखेर चिया, चाउचाउ, अण्डालगायतको व्यापार थालेका थिए। फराकिलो सडक भएको त्यो ठाउँमा यात्रुहरू बसबाट झरेर चिया–खाजा खाने गर्थे।
ट्याम्पो किनेपछिको सुरुवाती दिनमा एक जना छोरा घरैमा थिए। उनैले ट्याम्पो ल्याउने–लैजाने गर्थे। तर, ती छोरा पनि भारत गएपछि ट्याम्पो चलाउन जान्ने कोही भएनन्। कहिलेकाहीँ छिमेकीले ल्याइदिन्थे। कहिलेकाहीँ उनीहरू सोही ठाउँमा ट्याम्पो छाडिदिन्थे।
सरकारी मान्छेले सडकमा बसेर व्यापार गर्न मिल्दैन भनेका थिए। तर, गाडीबाट भने व्यापार गर्न पाइन्छ भनेकोले आफूहरूले त्यसरी व्यापार गरेका धनाका श्रीमान् घनश्याम बताउँछन्।
‘गाडीमा व्यापार गर्दा हुन्छ, केही फरक पर्दैन भनेर भनेका हुन्, त्यसैले बसेको थिएँ। आज एक्कासि आएर फालिदिए,’ धनादेवीले भनिन्।
बिहानदेखि बेलुकीसम्म दिनभर खट्दा तीनचार हजारको व्यापार हुन्थ्यो। त्यसमध्ये १२–१५ सय नाफा पनि बच्थ्यो। त्यही कमाइबाट उनीहरूको घर चल्ने गर्थ्यो। तर, अब आम्दानीको त्यो बाटो टुटेको छ।
‘ट्याम्पो भिरबाट खसाको होइन, मेरो पेटमा लात हानेको हो,’ धनादेवी भक्कानिन्छिन्।
अब के गर्ने उनलाई थाहा छैन। तर, ट्याम्पो सरकारले फिर्ता गर्नुपर्ने उनको भनाइ छ।
भन्छिन्, ‘यो बालेन शाहले मेरो ट्याम्पो ल्याइदिऊन् अब!’
Shares

प्रतिक्रिया