ब्लग


दशकमा फेरिएको हिमाली पदयात्रा र कोरी-कपुचेमा भेटिएका जेनजीको हाउभाउ

ती निर्धक्क जोडीको हाउभाउले झस्कायो– यिनीहरू को सँग घुम्न जान्छु भनेर घरबाट हिँडे होलान्!
दशकमा फेरिएको हिमाली पदयात्रा र कोरी-कपुचेमा भेटिएका जेनजीको हाउभाउ

विनायक खनाल
मंसिर १३, २०८२ शनिबार १२:१२, काठमाडौँ

२०७० सालताका जीवनकै पहिलो पदयात्राको अवसर जुर्‍यो, त्यो पनि हिमाली भेगमा। २५/२६ वर्षको लक्काजवान उमेर, तनहुँमा जन्मे-हुर्केको मलाई झोला बोकेर हिँड्ने त हो हिँडिहालिन्छ भन्ने लाग्नु अस्वाभाविक भएन। स्कुले उमेरमा यस्ता उकालीओराली कति गरियो गरियो। त्यस्तै त होला नि भन्ने बुझाइ थियो।

पदयात्राबारे कुनै अध्ययनको जरुरी पनि ठानिएन, जीवनको पहिलो पदयात्रा अन्नपूर्ण बेसक्याम्पबाट सुरु भयो। सोचेजस्तै सजिलो नभए पनि शारीरिक कठिनाइलाई उत्साह र उमङ्गले जित्यो।

वर्षाको समय, भर्खर हिउँ परेको, बेसक्याम्प पुग्दा दिनको १२ बजेको थियो। वरपर केही नदेखिने गरी हुस्सु डम्म थियो। यात्रा गर्न अनुकूल समय नदेखिएपछि त्यो दिन तास खेलेरै बित्यो। हाम्रो निराशाको बीच-बीचमा होटलका साहु आशा पनि थपिदिन्थे–बिहानमा खुल्न सक्छ।

हाम्रो भाग्य भनौँ, नभन्दै बिहान हिमाल खुल्यो। हिउँदकै समयमा जस्तो चारैतिर झलल हिमाल देखिन्थ्यो। यसअघि त्यति नजिकबाट कहिल्यै हिमाल देखिएको थिएन। टल्केको हिमालनजिक आफू उभिन पाउँदा त्यो अद्भुत आनन्द वर्णन गर्ने अरू शब्द मसँग छैन।

पदयात्राका लागि निस्कनुअघि मेरो सोचाइ जस्तो थियो, त्यहाँ त्यस किसिमको वातावरण देखिएन। कुनै भौतिक सेवा सुविधा नभएको डाँडाकाँडामा झोला बोकेर दिनभर हिँड्ने आँट गर्नु नै आफ्नैविरुद्ध लडाइँ गर्नुजस्तो भान हुन्थ्यो। यसरी हिँड्नु आफ्नो शरीरको औकात परीक्षण गर्नु पनि हो।

पदयात्रा एक किसिमको साधना पनि हो जस्तो लाग्छ मलाई। रोबर्ट म्याकफारलेन ‘माउन्टेन अफ दि माइन्ड’ पुस्तकमा लेख्छन्, ‘हामी चढ्ने हिमाल चट्टान र हिउँले मात्र बनेका हुँदैनन्, हामीले तिनीहरूको बारेमा भन्ने कथाले पनि बनेका हुन्छन्।’

पदयात्रा पनि हामीले भन्ने यस्तै कथाले भरिपूर्ण हुन्छन्। म्याकफारलेन अर्को हरफमा लेख्छन्, ‘हिमालका दुई पाटो हुन्छन्– एक, चट्टान र हिउँ जसलाई हामी छुन र चढ्न सक्छौँ। अर्को, हाम्रो दिमागमा उसले बनाउने छाप। जुन स्मृति, सपना र कामनाले बनेको हुन्छ।’

हिँड्दाहिँड्दै थाकेका पैतालालाई चिउँडोमा लौरोले टेको दिएर एकैछिन उभिँदा मिल्ने राहत, दुई घुट्की पानीले मेटाउने प्यास, लामो स्वास तान्दा रमाउने फोक्सो, जति हिँडे पनि नसकिने बाटो, झोला बिसाएर टुसुक्क बस्दा हुने हलुकोपन शारीरिक थकान जित्ने अद्भुतपना हुन्, पदयात्राका विशेषता हुन्। यो महसुस गरिने आनन्द हो जुन भनाइभन्दा भोगाइमा बढी पाउन सकिन्छ।

त्यसकारण म निसङ्कोच भन्न सक्छु–कष्टकर यात्रा तय गर्ने पदयात्री र आरोही आफूले आफैँलाई माया गर्छन् र आफैँभित्र हराउन चाहन्छन्।

पदयात्रामा निस्कनुअघि
मेरो पहिलो पदयात्राको अनुभवले भन्छ– हिमाली भेगको यात्रामा निस्कनुअघि केही आधारभूत कुराको ज्ञान हुनु आवश्यक छ। सर्वप्रथम त्यो क्षेत्रको नक्सा अध्ययन, हिँड्ने बाटोको अवस्था, बस्ने होटल र तिनीहरूको फोन नम्बर, आफू जाने समयको मौसमी अवस्था, यातायातको उपलब्धता आदि बुझ्नै पर्दछ।

यसका अतिरिक्त, स्वास्थ्य परीक्षण र नियमित व्यायाम गर्नाले हिँडाइलाई थप सहज बनाउँछ। बन्दोबस्तीका सामानको सूची नै तयार गरेर संकलन गर्दा छुट्ने सम्भावना रहँदैन। जसमा उपयुक्त झोला, जुत्ता, यथेष्ट बाक्ला कपडा, मोजा, कालो चस्मा, टोपी, पन्जा, सनस्किन क्रिम, लोसन, लिपकेयर, लठ्ठी, हेडलाइट, ट्वाइलेट पेपर, बर्सादी, थर्मस, नट्स, चकलेटलगायत अरू खानेकुरा, प्राथमिक उपचारका सामान, औषधि, क्याम्प गर्ने भए टेन्ट, म्याट आदिको जोहो गर्नु उपयुक्त हुन्छ।

दशकमै देखिएको परिवर्तन
१२ वर्षमा खोला पनि फर्किन्छ भन्ने उखानजस्तै पहिलो पदयात्राको १२ वर्षपछि पछिल्लो पदयात्रामा भने निकै परिवर्तन भएको पाएँ।

माथि उल्लेखित मेरो पहिलो पदयात्रामा मुस्किलले नेपालीको ३–३ जनाको दुई समूह भेटिएको थियो। जाने र फर्कने गरेर ३००/४०० जति भेटिएका पयदयात्रीमा अरू सबै विदेशी थिए।

त्यो रुटका प्राय: होटलमा विदेशीलक्षित खानाको मेन्यु नै बढी देखिन्थ्यो। हामी नेपालीलाई मेन्युमा उल्लेखित रकमको आधा मात्र लिन्थे। सुतेको प्रतिव्यक्ति १०० देखि १५० रुपैयाँसम्म तिरिएको थियो।

विदेशीहरूको हिँडाइ आनन्दको लाग्थ्यो। बिहान आरामले उठ्यो, ब्रेकफास्ट खायो, अनि दिनभरमा छ घण्टाजति हिँड्यो अनि बस्यो। उनीहरूले ट्राभल एजेन्टहरूसँग बनाएको योजनाका साथै फुर्सदले घुम्न आएकाहरूसँग हामीले दाँजेर पनि भएन। यसो भन्दै गर्दा हामीले यथेष्ट अध्ययन नगरी हिँडेको पक्कै हो। कुनै दिन लखतरान हुनेगरी १२/१४ घण्टा हिँड्ने अनि अर्को दिन तीन/चार घण्टामै सुस्ताउने।

अन्नपूर्ण बेसक्याम्पको पहिलो पदयात्रापछि लाङटाङ, छोरोल्पा हिमताल, ताप्लेजुङको पाथीभरा, तिलिचो ताल, मुस्ताङ, रारा तालको यात्रा गर्ने अवसर जुरेको थियो।

यसैगरी पछिल्लो पटक भने केही दिनअघि कास्कीको कोरी डाँडा र कपुचे हिमतालसम्म पुग्ने अवसर मिल्यो।

शुक्रबार बेलुका काठमाडौँबाट हिँडेका हामी तनहुँको तनहुँसुर होमस्टेमा बास बसियो। शनिबार पोखरा हुँदै सिकलेससम्म गाडीमा र त्यहाँबाट करिब पाँच घण्टा हिँडेर तासा भन्ने ठाउँमा पुगेर सुस्ताइयो।

आइतबार तासाबाट हिँडेका हामी ६ घण्टामा कोरी पुगेर बसियो। सोमबार बिहान हिमाल हेरेर हुगुसम्स ओरालो, कपुचेसम्म उकालो फेरि फर्केर हुगुहुँदै सिकलेस पुग्ने बाटो पनि उकालो-ओरालो।

सिकलेस त आइहालियो अब पोखरा नै पुगौँ भन्ने हुटहुटी भएपछि गाडी बोलाएर राति त्यस्तै साढे ११ बजे पोखरा झरियो। मंगलबार आरामले उठेर लेकसाइडतिर टहलिएपछि दिउँसोको बुद्ध एयर चढेर काठमाडौँ आई यात्राको बिट मारियो।

कोरी डाँडा अद्भुत सौन्दर्य बोकेको ठाउँ रहेछ। आफैँमा त्यति सुन्दर डाँडाले देखाउने अति सुन्दर हिमशृङ्‌खलामा माछापुच्छ्रे, अन्नपूर्ण दुई र चार, लमजुङ हिमाल पर्दछन्। ३,८५० मिटर उचाइको कोरी पुग्दा, यी हिमाल पल्लो घरका छिमेकीजस्तै नजिक देखिए।

बादलका ससाना डल्लाले कहिले हामीलाई छुने कहिले तिनै हिमाललाई छुने त कहिले हराउने अनि कहिले हामीलाई लुकाउने र कहिले तिनीहरूलाई लुकाउने गर्दागर्दै पश्चिम दिशाले सूर्यदेवलाई बिदा गरिसकेछ। सूर्य पश्चिम ढल्किएर डाँडामुनि लुकेपछि चिसो बढ्दै गयो।

मंसिरको महिना ढोकामै छ। बिहेको सिजन भनेर चिनिने मंसिर, सुनको मूल्यले आकास छोएको छ। हाम्रो अगाडि झलल हिमाल सुनैसुनले झकमक्क छ, बेहुलीजस्तै। सूर्योदयका कलिला किरणले सारा हिमाललाई सुनैसुन ओढाइदिएको दृश्य देख्न पाउँदा हाम्रा आँखा पनि मक्ख छन्।

होटलका साहुजीले दिएको खाजाले पेट त भरियो तर पहेँलपुर हिमाल हेर्ने हाम्रा आँखा नअघाउँदै हामी कपुचे हिमताल हेर्न निस्कियौँ।

कास्की जिल्लामा पर्ने कपुचे हिमताल नेपालको सबैभन्दा होचो (समुन्द्र सतहबाट २,४५० मिटर) स्थानमा अवस्थित सुन्दर हिमताल हो। केहीबेर अगाडि देखेको हिमालको खोचमा संसारलाई मोहित पार्न सक्ने सौन्दर्य बोकेर बसेको कपुचे एकपटक पुग्नैपर्ने ठाउँ रहेछ। 

हल्का हरियो रङको ताल, वरिपरि जङ्गल, माथि चट्टाने पहरा र पहरामाथि सेतो हिउँ। साँच्चिकै मनमोहक थियो कपुचे।

कोरी र कपुचे मध्यम अप्ठेरो पदयात्रा मार्ग हो। कोरी जान ढुङ्गाले चिठेको उकालो बाटो पार गर्नु पर्छ। यो बाटो पार गर्न घुँडा बलियो पक्कै चाहिन्छ। उकालो जेनतेन गए पनि ओरालो झर्दा निकै सङ्घर्ष गरिरहेका यात्री धेरै भेटिए। कोरीको तुलनामा कपुचे कम उकालो-ओरालो भएको मार्ग रहेछ।

डाँडाकाँडाका आ-आफ्नै कथा, विशेषता हुन्छन्। त्यो हेर्न/भोग्न जानेहरू पनि फरक-फरक प्रकृतिकै हुन्छन्। फरक यत्ति हो कि, कसले के हेर्न गयो र कसले के देख्यो। जाने उद्देश्य नै फरक भएपछि त्यहाँ देखिने हाउभाउ पनि फरक हुने नै भयो।

म जुन कुरा खोज्न पदयात्रामा गएँ, त्यो यथेष्ट पाएँ। त्यसको अतिरिक्त अरू शोचनीय विषयवस्तु पनि भेट्टाएँ। दशकअघिको पहिलो पदयात्राभन्दा अहिले निकै परिवर्तन भेट्टाएँ। दशक अवधिमा हिमाली पदमार्गमा मैले देखेको परिवर्तन संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरेको छु–

हुन त रमाउन आ-आफ्नै तरिका हुन्छन् यसमा टिप्पणी गर्नु आवश्यक होइन। तर पनि पहिला जे देखिन्थ्यो, त्यसभन्दा फरक लाग्ने प्रकृतिका यात्रु देखेर मलाई खसखस लाग्यो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको परिस्थिति नै बेग्लै भएको बेला हाम्रो ट्रेक पनि धेरैजसो उनीहरूकै अघिपछि बित्यो। जेनजीहरूको कुरा सुन्दा कहिले आफू निकै बुढो भैसकेको जस्तो लाग्ने त कहिले उनीहरू साह्रै केटाकेटी लाग्ने।

पश्चिम नेपालको एक कलेजले ११ कक्षाका विद्यार्थीहरूलाई टुरिजम विषयको प्रयोगात्मक फिल्ड भिजिटमा कोरी ट्रेक लगेको रहेछ। त्यहाँ ३० जना जति जेनजी भेटिए। देश, काल, परिस्थिति र राजनीतिलाई खासै केलाउने बेला नभएका उनीहरूमा ‘हामीले बुढा नेतालाई पल्टाइदियौँ’ भन्ने अहमता र ठट्टाभाव बाहेक अरू ठोस् कुरा देखिएन।

उकालो काट्न ठस्‌ठस् कनिरहेका उनीहरूमध्ये धेरै जनाको ठूलो चिन्ता मोबाइल चार्ज कसरी गर्ने भन्नेमा थियो। ब्याट्री डाउन भएमा भोलि कसरी फोटो खिच्ने र टिकटक बनाउने भन्ने उनीहरूलाई पिर थियो।

उनीहरूको यो चिन्ता देख्दा लाग्थ्यो– यो सब दुःख टिकटक बनाउनकै लागि हो। केहीले त मरिहत्ते गरेर मेरो टोलीका साथीको पावर ब्याङ्क उछिट्याइछाडे।

कुनै कुनै त कसको मोबाइलमा कति ब्याट्री छ भनेर मौखिक डाटा कण्ठै राख्ने पनि थिए। त्यो उमेरमा केटी साथीसँग बोल्न पनि लजाउने मलाई त्यो समूहका केटाकेटीहरू ६/७ वटा जोडी भएर निर्धक्क हिँडेको देख्दा आफूलाई बुढ्यौली लागेको भान भयो।

हिँड्न सक्नेहरू फटाफट अघि गइसकेका र नसक्नेहरू धेरै पछि घिस्रिरहेकाले त्यो ट्रेल लगभग उनीहरूकै कब्जामा थियो। अरू फरक केही जेनजी समूह पनि बाटोमा थिए।  स्पिकरमा र्‍याप गीत घन्काउँदै हिँडेका उनीहरूको ठाँट नै बेग्लै थियो। उनीहरूलाई त्यो गीत र बाटो बाहेक अरू केही मतलब थिएन।

पहाडी बाटोमा पाइने जैविक विविधता, चराचुरुङ्गी, खोलानाला, फलफूल, कन्दमूल केहीको पर्वाह उनीहरूलाई थिएन। बेलुकी होटलमा आगो ताप्दै रमाइला र ठट्यौला कुरा गर्दा भने हामी र उनीहरूबीच खासै भिन्नता महसुस हुन्थेन।

भदौ २५ गते देश कायापलट भयो भनेर निकै उत्साहित भएका उनीहरूमध्ये केही भने देश र आफ्नो भविष्यलाई लिएर चिन्तित भएको महसुस भयो।

यही ट्रेकमा जोडी बाँधेर आएका ५/६ जनाको समूह पनि देखियो। उनीहरूको हाउभाउ र क्रियाकलापले भने हामीलाई झस्कायो। यिनीहरू को सँग घुम्न जान्छु भनेर आए होलान्! यिनीहरूले जे भने परिवारले साँच्चिकै पत्याए होलान् कि समाज उदारवादी भइसकेको हो? हामीलाई ठम्याउन गाह्रो पर्‍यो।

मनमा निकै उत्सुकता जागेपछि कुरोको मेसो खोतल्न खोजेँ– ‘ब्याचलर पढ्नुअघिसम्म बन्धनमै बसियो नि! त्यसपछि भने घुम्ने अनुमति पाउन थालिएको छ,’ एक जनाले मेरो जिज्ञासा यसरी मेटाए।

आजकाल घुम्न आउने जेनवाई जोडीबारे सिकलेसका एक बोलेरो चालकले भनेको कुरा त झन् यस्तो डरलाग्दो थियो त्यो हाम्रो समाजले पचाउन नसक्ने लागेर यहाँ लेख्ने आँट गरिएन।

पश्चिमा संस्कृतिको प्रभाव कुन हदसम्म अनुसरण गर्ने र कुन नगर्ने भन्ने कुरा कसले कसलाई कसरी सिकाउँछ, या कुन रूपमा अघि बढ्छ, यो समयलाई छोडेँ।

यो चाहिँ मैले भन्नैपर्ने हुन्छ, उक्त ट्रेकमा भेटिएका सबै केटाकेटी जोडी भएर आएका थिए भन्ने चाहिँ अर्थ नलागोस्। त्यो मेरो लेखनीको आशय पनि होइन। ३/४ टोली २ देखि ४ जना केटी-केटीको मात्र पनि थियो। त्यसैगरी, केटा-केटाका समूह पनि थिए। आधुनिक जीवनशैलीमा हुर्केका ती जेनजी पुस्ताले पहाडको उकाली-ओरालीको दुःख झेल्ने परीक्षा आफैँ लिइरहेका थिए।

भोलिपल्ट बिहान कोरीबाट कपुचेतर्फ हिँडियो। यो दिन पनि भेटिएकामध्ये प्राय: यात्रु युवा नै थिए। यो देख्दा देशमा आन्तरिक पर्यटन निकै फस्टाएको भान भयो। साधारण सेवालाई सुधार्न सके अर्थतन्त्रलाई चलायमान बनाई ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिने मेरो ठम्याइ रह्यो।

कोही आफ्नो प्यासनले त कोही सामाजिक सञ्जालमा फोटो राखेर समाजलाई देखाउने हेतुले, आखिर जो जे उद्देश्यसहित गए पनि तस्बिर त नेपालकै डाँडाकाँडाका प्रचार भए। आफ्नै डाँडाकाँडाका व्यवसाय फस्टाए। जान सक्नेहरू जान तम्सेलान्, नसक्नेहरू त्यही फोटो हेरेर लाइक-कमेन्ट गर्लान्। पर्यटन प्रवर्धनलाई सघाउ नै पुग्ला।

अब कुरा होटलको। यो दशकमा क्रमिक रूपमा होटलहरूमा पनि परिवर्तन भएको देखियो। सुत्ने कोठाको गुणस्तर त खासै परिवर्तन देखिएन, सफासुग्घरको उस्तै छ अवस्था। तर, खानेकुराको मेनुमा भने राम्रै सुधार भएछ।

उचाइका बाटामा फाट्टफुट्ट मोबाइल नेटवर्क देखिन थालेछ। कुनै एउटा होटललाई सम्पर्क गर्‍यो भने त्यो ट्रेलभरको खाने–बस्ने सेटिङ उसैमार्फत हुने रहेछ। ग्राहक धेरै दिनेलाई कमिसन पनि हुँदो हो। जे होस्, जे-जस्तो भए पनि होटल खोजी हिँड्नु नपर्दा एक किसिमको ढुक्क चाहिँ हुने रहेछ। खान-बस्नको लागि बुकिङ भइसकेको छ भनेपछि निस्फिक्री यात्रामै ध्यान दिन सकिने। यो सकारात्मक पक्ष हो।

दशकअघि अन्नपूर्ण बेस क्याम्पको यात्रामा खाना मेन्युमा उल्लेख भएकोमा आधा र सुतेको १०० देखि १५० रुपैयाँ प्रतिव्यक्ति तिरेको याद छ। तर, यो परिवर्तन भएर अहिले प्याकेज सिस्टम भएछ। पुग्नासाथ एक कप कालो चिया, कुखुराको मासुको झोलसहित दालभात, भटमास र गुन्द्रुकको अचार, तातोपानी, सुत्नको लागि कोठा, बिहान कालो चियासँग झोल तरकारी, रोटी/अण्डा समेटेको प्याकेज।

होटल साहुजीलाई हिसाब गर्न पनि सजिलो। ‘तपाईँहरू पाँच जनाको ग्रुप होइन?’ यति सोध्नासाथ हिसाब मुखैमा! तल पाँच जनाको ग्रुप इन्ट्री भएपछि पूरा रुटभरका होटलले त्यही भनेर बोलाउने। गज्जब होइन त?

अन्त्यमा,
यो यात्रामा हामीले अरूको चियोचर्चो गर्दै हिँडेको भन्ने नबुझियोस्। हामीले बाटोका सुन्दर झरनाका वेदना सुनिदियौँ। चराचुरुङ्गीका गीतमा नाच्ने जमर्को गर्‍यौँ। जीवन सकिएर पनि नाँच्दै रमाउँदै झरिरहेका रुखका पहेँला पातलाई स्पर्श गर्‍यौँ।

समुद्र पुग्ने अठोटसहित लामो यात्रा तय गरेका नदीलाई हौसला दियौँ। आफ्नो उचाइको घमण्ड नगरी अटल र श्वेत रहेर प्राणी जगतलाई बाह्रैमास पानी दिइरहने हिमाललाई धन्यवाद भन्यौँ।

दुःखको पहाडमा काँधमा सामान बोकेर गन्तव्य पुर्‍याउने भरिया दाइहरूलाई आभार भन्यौँ। छिटो हिँड्ने, ढिलो हिँड्ने, आज कति हिँड्ने लगायतका विषयमा आफ्नै साथीमाझ नोकझोक गर्‍यौँ।

रुखका जरा तथा पहरा र माटोबाट सङ्लिएर आएको पानी पिउँदै शरीरलाई ऊर्जावान् बनाउँदै हिड्यौँ। बिहान सूर्योदय र बेलुका सूर्यास्तका सुनौला किरण फरक-फरक मोबाइल र आँखाका नानीमा कैद गर्‍यौँ। सहरको भन्दा फरक, सफा र निलो आकाशको भीषण गहिराइमा डुब्यौँ।

राति उठेर कालो आकाशमा कनिकासरी छरिएका र चम्किरहेका तीनतारे, सप्तर्षिलगायत कराडौँ तारा गन्ने कोसिस गर्‍यौँ। हिमालको चिसोले कठ्याङ्ग्रिने अवस्थामा पनि जुनको बेग्लै किसिमको शीतलता महसुस गर्‍यौँ।

यात्रुलाई आफ्नो सुन्दरता प्रस्तुत गर्न बसेका प्रकृतिका एक-एक सम्पदाको नेत्रपान गरी कोण-कोणबाट फोटा र भिडिओ खिचेर प्रफुल्ल भई काठमाडौँ फर्कियौँ।

हो, डाँडाकाँडाको यात्रा शारीरिक रूपमा कष्टकर होला। तर, यात्राले दिएको आनन्दले जीवनभर ओठमा मुस्कान छर्दछ।

कोरी-कपुचे पदयात्राको टोलीमा रहेका साथीहरू सुमन शर्मा, रमेश अवाले, राम श्रेष्ठ, रोजन राई र सिकलेससम्म साथ दिने साथी अवधेश झा अनि यातायात व्यवस्थापनमा ठूलो सहयोग गर्ने भाइ प्रमोद लगायत सबैप्रति हार्दिक आभार।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad