ग्लोबल


जेलेन्स्कीका चिफ अफ स्टाफको घरमा छापा

जेलेन्स्कीका चिफ अफ स्टाफको घरमा छापा

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १८:४०, किएभ

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइहरूले छापा मारेको छ।

रुसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक्रियाबीच उत्पन्न भएको यो घटना किएभका अधिकारीहरूका लागि एक अवाञ्छित चुनौतीका रूपमा देखिएको छ।

युक्रेनमा भ्रष्टाचारविरुद्ध कार्यरत दुई प्रमुख राष्ट्रिय संस्थाहरू राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो र विशेष भ्रष्टाचारविरोधी अभियोजकको कार्यालयले यर्माकको कार्यालयमा खोजतलास गरेको पुष्टि गरेका छन्।

यर्माक स्वयंले पनि आफ्नै अपार्टमेन्टमा अनुसन्धानकर्ताहरू आएको स्वीकार गर्दै टेलिग्राममार्फत ‘अनुसन्धानकर्ताहरूलाई कुनै बाधा पारिएको छैन, मैले पूर्ण सहयोग गरिरहेको छु र मेरा कानुनी प्रतिनिधिहरू उपस्थित छन्’ भने।

यी दुवै निकाय युक्रेनी उच्च अधिकारीहरू संलग्न रहेको करिब १० करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्र सम्बन्धी कथित ठूलो भ्रष्टाचार प्रकरणको मुख्य अनुसन्धानकर्ता हुन्।

यर्माकका दुई पूर्व सहकर्मी ओलेह टाटारोभ र रोस्टिस्लाभ सुर्मा विभिन्न वित्तीय आरोपका कारण सन् २०२४ मै पदबाट बाहिरिनुपरेको थियो।

अर्का सहायक एन्ड्री स्मिर्नोभमाथि पनि घुस तथा अन्य अनियमिततासम्बन्धी अनुसन्धान भएको थियो, यद्यपि उनी अहिले पनि यर्माकका लागि काम गरिरहेका छन्।

युक्रेनले युद्धकालीन आवश्यकताका कारण पश्चिमी मुलुकहरूसँग थप सहायता मागिरहेका बेला उत्पन्न यस काण्डले राष्ट्रपति जेलेन्स्कीमाथि अतिरिक्त राजनीतिक दबाब सिर्जना गरेको छ।

युरोपेली सङ्घ (ईयू) मा समावेशीकरण प्रक्रिया अघि बढाउन पनि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने भन्दै ईयूले जेलेन्स्कीलाई निरन्तर आह्वान गर्दै आएको छ।

ऊर्जा क्षेत्रसम्बन्धी अनुसन्धान सार्वजनिक भएपछि यसै महिनाको सुरुआतमा जेलेन्स्कीले आफ्नै दलभित्रबाट अभूतपूर्व प्रतिरोध सामना गर्नुपरेको थियो।

यर्माकमाथि प्रत्यक्ष कुनै गलत कार्य गरेको आरोप पुष्टि नभए पनि जेलेन्स्की दलका वरिष्ठ सांसदहरूले जनविश्वास पुनर्निर्माण गर्न उनले नै जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिएका छन्।

केही सांसदहरूले यर्माकलाई बर्खास्त नगरिए दल नै विभाजित हुनसक्ने चेतावनी समेत दिएका छन्, जसले संसदीय बहुमतमा असर पर्नसक्ने सम्भावना औँल्याएका छन्।

तर राष्ट्रपति जेलेन्स्कीले ती मागहरू अस्वीकार गर्दै एकताका लागि आग्रह गरेका छन्।

जेलेन्स्कीले युक्रेनी जनतालाई ‘राजनीतिक खेलहरू रोक्दै एकजुट हुन’ आह्वान गर्दै हाल अमेरिकाबाट भइरहेका रूससँग सम्झौताको सम्भावित दबाबको सन्दर्भ पनि उल्लेख गरे।

एन्ड्री यर्माकले करिब १५ वर्षअघि जेलेन्स्कीसँग भेट गरेका थिए।त्यतिबेला उनी टेलिभिजन उत्पादन क्षेत्रमा प्रवेश गरिरहेका वकिल थिए भने जेलेन्स्की चर्चित हास्य कलाकार थिए।

पहिलो राष्ट्रपति टोलीको सदस्यका रूपमा विदेश मामिलासम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै यर्माक सन् २०२० मा चिफ अफ स्टाफका रूपमा पदोन्नति भएका थिए।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विदेश यात्रामा अधिकांश समय जेलेन्स्कीका साथमै रहने यर्माक राष्ट्रपतिले अत्यधिक भरोसा राख्ने व्यक्तिका रूपमा चिनिन्छन्।

देशभित्र उनलाई ‘राष्ट्रपतिका पहरेदार’ का रूपमा व्याख्या गरिन्छ र प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका महत्त्वपूर्ण पदहरूमा नियुक्ति छनोटमा पनि उनको प्रभाव निर्णयकारी रहेको व्यापक विश्वास छ।

यर्माक तथा राष्ट्रपति कार्यालयसँग जोडिएका केही व्यक्तिहरू विगतमा पनि विभिन्न अनुसन्धानको दायरामा परिसकेका छन्, जसले वर्तमान छानबिनलाई झनै संवेदनशील बनाएको छ। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad