२०८२ भाद्र २३ र २४ मा जेन जीका नाममा नेपालमा नयाँ किसिमको विद्रोह देखियो। यस विद्रोहका सन्दर्भमा अनेक टीकाटिप्पणी भएको पाइन्छ। विभिन्न स्वार्थहरूबाट प्रेरित रहेर गरिएका टिप्पणीभन्दा फरक रहेर युवाहरू र अबको राजनीतिक बाटोमा विश्लेषण गरी यो लेख तयार गरेको छु। यो लेखलाई अघि बढाउनुभन्दा पहिले केही आधारहरू प्रस्तुत गर्न चाहन्छु:
-यस लेखले जेन जी आन्दोलनमा भएका भूराजनीतक हस्तक्षेपको पाटोलाई हेर्दैन। यदि त्यसो भएको छ भने त्यसका सत्य तथ्य खुल्दै जाला।
-भाद्र २३ र २४ मा भएको विद्रोहलाई जेन जी लगायतका नागरिकहरूको माग जायज थियो भन्ने दृष्टिकोणबाट हेरेको छु।
-कुनै पनि आन्दोलनमा हुने घुसपैठले आन्दोलनको मर्मलाई मार्नुहुन्न भन्ने मेरो मान्यता छ।
-आन्दोलनका बखत भएका घुसपैठ, अधिक बल प्रयोग, उक्साहट जस्ता विषयमा सरकारले उचित छानबिन गरेर कानुन अनुसार कारबाही गरोस्।
राज्य सञ्चालनका सन्दर्भमा कमी कमजोरी रहे कि रहेनन् भन्दा पक्कै पनि रहे। यसको जिम्मेवार कोही एक व्यक्तिभन्दा पनि सम्पूर्ण राज्य सञ्चालनका प्रणालीहरूमा देख्न सकिन्छ। तर फेरि लोकतन्त्रमा यी सबै कमीकमजोरी सुधार गर्छौं भनेर जनताले विश्वास गरेका त राजनीतिक दललाई नै हो। त्यसकारण राजनीतिक दल र तीनका नेतृत्वकर्ताहरूको जिम्मेवारी बढी हुन आउँछ। व्यापारीले कालोबजारी गरे कि गरेनन्, कर्मचारीतन्त्रले काम गर्यो कि गरेन, जनता आफै कुन स्तरको सोचबाट ग्रसित छ भन्न विषयहरू पनि अध्ययनका पाटा हुन सक्छन् तर यी सबै विषयलाई थाती राखेर राजनीतिक समस्याको राजनीतिक विश्लेषण गरी नेपालका राजनीतिक दलहरूले युवाहरूलाई समेट्न कस्तो बाटो अँगाल्ने विषयको उठान गर्ने जमर्को गरेको छु।
राजनीतिका विषयमा मानिसका विभिन्न धारणाहरू छन्। हामीलाई राजनीति मन परे पनि नपरे पनि राजनीति हाम्रो जीवनको अभिन्न अंग हो। कुनै दलसँग आबद्ध हुने कि नहुने, त्यो फरक पाटो हो तर राजनीतिकरूपले सचेत रहनु हाम्रो आवश्यकता हो। नत्र लोकतन्त्र विरोधी शक्तिहरूले हाम्रो भावनाको दुरूपयोग गरी लोकतन्त्रकै हत्या मात्र होइन हामी रहेको समाजलाई गहिरो भुमरीमा फसाउन सक्छन्। यसमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुन्छ। पुराना हुन् कि नयाँ, जनतालाई राजनीतिक रूपले सचेत र शिक्षित बनाउने जिम्मेवारी राजनीतिक दलहरूकै हो।
एउटा भनाइ छ, तपाईं बदलिँदो समय अनुसार आफूलाई अद्यावधिक गर्नुहुन्न भने तपाईं असान्दर्भिक हुँदै जानुहुन्छ। राजनीतिक दलहरूले पनि नयाँ युवाहरूसँग जोडिन नयाँ उपायहरू अपनाउन जरुरी छ। उनीहरूसम्म पुग्ने माध्यमबाट राजनीतिक विचारहरू सम्प्रेषण गर्नुपर्छ। आजको युवाहरू आलोचनात्मक चेत भएका छन्। सूचनाबाट टाढा पनि छैनन्। विश्वभरको सूचना केही मिनेटमै आफ्नो मोबाइलमा हेर्न सक्छ आजको युवा। यस्ता स्मार्ट युवाहरूलाई आफ्नो विचारसँग जोडेर अघि बढ्ने हो भने हाम्रा संरचनाले स्थापित गर्ने युवा नेताहरू र हाम्रा राजनीतिक नीतिहरू उनीहरूसँग मेल खान आवश्यक छ।
आजको युवा सत्य तथ्यमा रहेर बहस गर्न चाहन्छ भने राजनीतिक दलहरूले अध्ययन अनुसन्धानका माध्यमबाट युवाहरूलाई आफूसँग जोड्न आवश्यक छ। राजनीतिक दलहरूभित्र यस्तो संरचनाको आवश्यकता महसुस हुँदैछ, जहाँ धेरैभन्दा धेरै युवाहरू अध्ययन अनुसन्धानमा संलग्न रहून्। दलहरूका केही स्रोत त्यतातिर मोडिन जरुरी छ। जब युवाहरू तथ्य र तर्कमा आफै संलग्न हुन्छन् तब उनीहरूलाई कुनै पनि भ्रम र लोकप्रियतावादी तर्कहरूले प्रभाव पार्न सक्दैन। यसको अर्को फइदा पनि छ। यसरी हामी राजनीतिकरूपमा सक्षम र शिक्षित युवाहरूको समूह निर्माण गर्न सक्छौँ, जसलाई राज्य सञ्चालनको अवसर आउँदा उपयोग गर्न सकिन्छ।
विद्यार्थी राजनीति सानो समूहमा सीमित रहने र भोलिको दलको नेता बन्ने भर्याङको रूपमा प्रयोग गर्ने विषयभन्दा माथि उठ्नुपर्ने देखिन्छ। स्ववियु निर्वाचन गर्न मिल्ने कलेजहरूभन्दा बाहिर पनि विद्यार्थीको ठूलो जमात छ। ती विद्यार्थीहरूसँग जोडिने, उनीहरूका विचारलाई आत्मसात गर्ने र आफ्ना कुरा बुझाउन सक्ने विद्यार्थी र युवा नेतृत्व आजको आवश्यकता हो। अब राजनीतिक दलहरूले प्रभावकारी रूपमा युवाहरूलाई उत्पादन र रोजगारीसँग जोड्ने नीति लिनुपर्छ। त्यसकालागि दलहरू सहजकर्ताको रूपमा रहनु उचित देखिन्छ। राजनीतिमा जोडिने या राजनीतिक दलका सदस्य सबै पूर्णकालिनरूपमा लाग्नुपर्छ भन्ने हुँदैन।
यसका अलावा राजनीतिक दलहरूले आफ्ना प्रत्येक कमिटीहरूमा विभिन्न पुस्ताको सहभागिता रहने गरी नीति बनाएर कार्यानवयन गर्नुपर्ने हुन्छ। यसको अभ्यास एमालेले आफ्नो विभिन्न तहको अधिवेशनहरूमा गरेर राम्रो सुरूवात गरेको देखिन्छ। निर्णय गर्ने ठाउँमा युवाको पहुँच मात्र होइन, राजनीतिक रूपले सक्षम रहेका युवाहरूको आफ्नो र पारिवारिक जीविकोपार्जनका लागि पनि दलहरूले प्रभावकारी रणनीति बनाउनुपर्छ भन्ने मेरो ठम्याइ छ। यसले युवाहरूको राजनीतिक विचारप्रति र समाजिक कार्यप्रति बिना स्वार्थ लगाव रहिरहन्छ। राजनीतिमा भ्रष्टाचार बढ्यो भन्ने विषय पनि यसले धेरै हदसम्म न्यूनीकरण गर्न मद्दत गर्दछ।
लोकतन्त्र आफैमा शान्तिपूर्ण माध्यमबाट वैध विकल्पको खोजी हो। त्यसकारण हामी राजतन्त्र, फासीवाद, तानशाहतन्त्र या कुनै किसिमको अराजकतावदको पैरवी गर्दैनौँ। लोकतन्त्र समस्यारहित नभए पनि लोकतान्त्रिक प्रक्रियाबाटै राजनीतिक शक्ति आर्जन गर्नुपर्छ भन्नुको तात्पर्य पनि यही हो। लोकतन्त्रका प्रमुख मान्यताहरूमध्ये एक बहुदलीय प्रतिस्पर्धा हो। अर्थात् दलहरूबिना लोकतन्त्र टिक्न सक्दैन। शक्ति पृथकीकरणको सिद्धान्त जति शासकीय स्वरूपमा लागू हुन्छ, त्यति नै बहुदलीय प्रतिस्पर्धामा पनि लागू हुन्छ। यदि कसैले दलीय आवश्यकताका विरुद्धमा आफ्ना राजनीतिक आवाज बुलन्द गरिरहेको छ भने यति बुझौँ कि उसले लोकतन्त्रको विरुद्ध आफ्ना राजनीतिक गतिविधिहरू अगाडि बढाइरहेको छ।
लोकतान्त्रिक प्रणालीमा दलको विकल्प दल नै हो। विकल्पका रूपमा कुन दल स्थापित हुने भन्ने विषय गौण हो। त्यसको निर्क्यौल गर्ने जिम्मा जनतामा छाडिदिनुपर्छ। तर, केही व्यक्तिलाई कुनै दल या कुनै नेता मन नपर्दैमा विधि, पद्दति सबै मासेर लोकतन्त्रकै हुर्मत लिन पाइन्छ भन्ने कदापि हुँदैन। लोकतन्त्रमा दलीय विकल्प खोज्ने। नेपालमै पनि जनताले आफ्नो भोटका माध्यमबाट समय समयमा दलीय विकल्प खोजेकै छन्।
त्यसकारण समय सान्दर्भिक हुन नसकेको अवस्थामा लोकतन्त्रमा कुनै पनि दल हराउन सक्दछन् र कुनै नयाँ दलको उदय हुन सक्दछ। हाल नेपालका राजनीतिक दलहरूले हल गर्नुपर्ने चुनौती भनेको युवा पुस्तालाई पार्टीमा उचित स्थान दिने, उनीहरूको क्षमता अभिवृद्धिको नीति लिने र युवाहरूमाझ सकारात्मक राजनीतिको बहस सिर्जना गर्ने। अबको बाटो भनेको एजेन्डामा आधारित बहस र बहसमा आधारित राजनीति हो।
परम्परागत राजनीतिक संरचनाहरूले युवा ऊर्जालाई पूर्ण रूपमा समेट्न सकिरहेको छैन। जेन जीहरूको विद्रोहले के देखायो भने नयाँ पुस्ताको आवाज सुन्ने, तिनका विचारहरूलाई गम्भीरतापूर्वक लिने र उनीहरूलाई नीति निर्माणको केन्द्रमा राख्ने बेला आइसकेको छ। यो जेन जीले जेन अल्फाका सन्दर्भमा र भविष्यमा अन्य पुस्ताले तत्कालीन अवस्थाका युवा पुस्ताका बारेमा पनि मनन गर्नुपर्ने हुन्छ।
यसको अर्थ यो होइन कि पुराना अनुभवहरूको मूल्य घटेको छ, तर निश्चित चाहिँ के हो भने आगामी बाटो युवा र अनुभवीको सहकार्य, साझेदारी र आपसी सम्मानमा आधारित हुनपर्नेछ। यो ऐतिहासिक पललाई बुझ्न नसक्ने राजनीतिक दलहरू इतिहासको पानामा सीमित हुन पुग्नेछन् र देशले आवश्यक परिवर्तनका लागि कुनै न कुनै माध्यम खोज्ने नै छ। गतिशीलता नै सत्य हो।
Shares

प्रतिक्रिया