ब्लग


भर्जिनियामा सोधियो– हैन, सगरमाथा आरोहण गर्ने सबै तिमी जस्तै ‘इनलाइटन्ड’ हुन्छन्?

जंगलमा लुक्न मिल्छ, जंगल लुकाउन मिल्दैन
भर्जिनियामा सोधियो– हैन, सगरमाथा आरोहण गर्ने सबै तिमी जस्तै ‘इनलाइटन्ड’ हुन्छन्?

जुनिता सुब्बा मिश्र
असार १९, २०८२ बिहिबार ७:३६, सान डिएगो, क्यालिफोर्निया

धेरैजना सोध्छन्, ‘जुनिता तिम्रो कविताको किताब कहिले आउँछ?’

सन् २००९ मा सफल सगरमाथा आरोहणको अनुभव यात्रा संस्मरण लेख्नेभन्दा फुटकर कविता लेखिरहेको हुनाले मेरा शुभेच्छुकहरू सँग्रह कहिले आउँछ भनेर सोध्न बाध्य भएका होलान्। यो प्रश्नको उत्तर मैले दिन सकेको छैन। तर, लेख्दै नलेखेको पनि होइन।

किताब निकाल्न रुचि नै नभएको पनि होइन। कुनै समय (सन् २०१२/२०१३) अमेरिकाको एउटा कार्यक्रममा पहिलोपल्ट मैले कविता वाचन गर्ने मौका पाएँ। त्यहाँ भएका लगभग सबैले मेरो कविता रुचाए र मलाई मेरो किताब वा कविता सँग्रहका बारेमा सोधे। त्यति बेला मलाई अनौठो लाग्यो। किनकि त्यो मेरो पहिलो कविता थियो। किताबको सोचबाट त कोसौँ टाढा थिएँ। 

म त भर्खर कविताको संसारमा चिहाउन थालेको हुँ। जति लेखिन्थ्यो, सबै सामाजिक सञ्जालमा पोस्ट गर्न थालियो। सबै जम्मा गर्दा दुई सय जति भएका रहेछन्। 

अब सँग्रह प्रकाशित गर्दा यिनीहरूलाई नै जम्मा गर्नुपर्ने होला। र, आफ्नो फेसबूकभरि छरपस्टिएका, खोज्न सकिने जति खोजेँ। तर अहिले मेरो मनमा एकप्रकारको संकोच छ। यी कविताहरू एकपटक सामाजिक सञ्जालमा गइसकेपछि ती मेरा मात्र रहेनन्। 

कविताका कति अंश कसैको किताबको अंग बने, कति हरफहरू भिडिओको ‘क्लिप’ बनेर टिकटकमा भाइरल छन्। कतिका शब्द चाहिँ पूरै फरक तर भाव जस्ताको तस्तै दुरुस्तै कहीँ छापिएको छ। यस्तो गर्नेहरूमध्ये कतिपय नाम चलेका स्थापित कविहरू छन्। अहिले मलाई आफैले लेखेको कविता मेरो हो भनेर छाप्ने आँट छैन। कविताको शब्द र हरफ चोरेकोमा प्रतिलिपि कानुन बर्खिलाफ गरेको सजाय होला, त्यो ठूलो कुरा रहेन। तर कविताको भाव, मर्म, मुटु चोरेको कुरा कसले प्रमाणित गर्ने? यसलाई बौद्धिक चोर भन्न सकिएला। तर भन्ने गरिन्छ, ‘देयर इज नो कपिराइट इन स्टाइल’। शताब्दियौँदेखि यो प्रतिलिपि कानुनको बर्खिलाफ जाने यत्न जारी छ। 

संसाररूपी यो प्राकृतिक ‘स्टुडियो’मा आठ अर्ब मान्छे जीवित छन्। तर कसैको तस्बिरको ‘नेगेटिव’ कसैसँग मिल्दैन। अहिलेको डिजिटल दुनियाँमा पुरानो जमानाको तस्बिरको ‘नेगेटिव’ वा ‘फिल्म’ पुरातात्विक भइसक्यो। जसरी अनुहार मिल्दैन, त्यसैगरी उनीहरूको सोच, शैली र अभिव्यक्ति पनि एकअर्कासँग कदापि मिल्दैन। जाने एकै ठाउँ र हिँड्ने एउटै बाटो भए पनि पद्चाप सबैको फरकफरक ठाउँमा पर्छ, त्यसको नाप फरक हुन्छ। स्थुल उदाहरणको साटो अवचेतानाकै कुरा गर्ने हो भने पनि रचना, अनुभव र त्यसलाई व्यक्त गर्ने व्यक्तिको भाव पनि अर्को रचनाकारसँग नमिल्नु पर्थ्यो। हरेक मान्छे आपनो मौलिकताको धनी हुन्छ। हरेक मान्छेले आपनो व्यक्तिगत पहिचान दिन्छ। हरेकको मस्तिष्कमा आफ्नै ब्रह्माण्ड गतिशील छ। 

मान्छे आफ्नो अनुभवबाट विमुख भएर प्रभाववादी हुनथालेपछि रचनाको चित्र विचित्र हुन्छ। मौलिकता गुमाएको रचना बजारमा बेचिन राखिएका ‘ब्रान्डेड’ उपभोग्य वस्तु हुन थालेपछि रचनाको के अर्थ? तर भावको कपिराइट लाग्दैन। सिर्जनाको स्थान कानुनभन्दा माथि हुन्छ। सिर्जनालाई राज्यको कानुनमाथि हस्तक्षेप गर्ने अधिकार छ। तर सिर्जना कानुनको अधीनस्थ हुँदैछ, राज्य ‘प्रतिलिपि कानुन’को हतियार लिएर सर्जकहरूको न्यायाधीश हुने अवस्था उत्पन्न हुनुमा प्रभाववादी (चोर नभनिहालौँ) सर्जकको भूमिका छ। 

केही उदाहरणहरू– मैले यो हरफ (सन् २०१२/१३ मा)मा लेखेको थिएँ– ‘उसले भन्यो– तिमी लडेछौ! फेरि भन्यो– तिमी लडेछौ।’

अब यही भाव अर्को कविले नक्कल उतार गर्नु पर्‍यो भने यस्तो हुँदो रहेछ (सन् २०१९/२० मा सुनेको)– ‘तिम्रो त्यो आँखा साँच्चिकै सागर हो, डुब्यो कि डुब्यो।’

यहाँ लडेछौ फेरि लडेछौमा जुन भाव छ, त्यही भाव डुब्यो कि डुब्योमा छ। 

यसमा प्रतिलिपि कानुन आकर्षित हुँदैन। तर भन्न खोजेको भाव एकै छ। शब्द भने फरक छ। यसलाई बौद्धिक चोरी भन्ने कि भावनाको साझा भण्डार? 

त्यस्तै अर्को प्रसंग, मैले लेखेको यो हरफ (सन् २०१२/१३ मा)– ‘तिमीले फर्केर हेरेको मात्र के थियौ, म तिमी भएछु!’

दोस्रो कविले लेख्यो (सन् २०१७/१८ मा)– ‘बिहानको सुन्दर दृश्य प्रकृतिमा बिलाएर म तिमी भएछु!’

यसरी ‘पन्च लाइन’मा ढाड भाँच्ने गरी हान्नु र आफ्नो मौलिक बनाउनुलाई के भन्ने? सरासर हरफ वा शब्द चोरेको भए चोर भन्न सजिलो हुन्छ। तर यसरी घुमाएर चतुर चलाखीपूर्ण भावको चोरीलाई के भन्ने? पाठक वर्गलाई छोडिदिएँ। 

यी कविहरूको नाम लेख्न मन लागेन। तर यति भनेपछि उहाँहरूलाई मनमनमा थाहा भइसकेको हुनुपर्छ। मेरो उदेश्य पनि यति नै हो। तर यति हुँदाहुँदै मेरो कवितासंग्रह बजारमा आउँदा म चोर हुन्छु कि हुन्नँ? यहाँनेर म अन्योलमा छु। अल्झिँदै छु। सकेसम्म पुनर्लेखन गर्ने कोसिसमा छु। तर नयाँ लेख्न सजिलो, पुनर्लेखन गर्न धेरै गाह्रो। दुई सय हाराहारीको कविता पुनर्लेखन अल्छी लाग्दो त छँदैछ, नयाँ लेख्न पनि केही वर्षबाट समय मिलिरहेको छैन। तर चाँडै समय मिल्नेछ। लेख्ने मन भएको मान्छेलाई समय मिले कुनै बेर लाग्दैन। 

मान्छेको अनुहार जसरी कसैसँग मेल खाँदैन, त्यसरी नै संसारमा भावना पनि थोकको भाउमा मेल खाँदैन। यस्तै आकस्मिक ‘भाइरल’ साहित्यको बाढीका कारण म मेरा सारा रचनाहरूलाई फेरि घोत्लिएर हेर्न र लेख्न बाध्य हुँदैछु। 

८ अर्ब मान्छेको रूप कहीँ मिलेको छ? छैन। ८ अर्ब मान्छेको सोच मिल्छ? मिल्दैन। ८ अर्ब मान्छेको स्वभाव मिल्छ? मिल्दैन। ८ अर्ब मान्छेको भाव मिल्छ? मिल्दैन। तर यहाँ चाहिँ मिल्यो। किनभने नक्कल उतार भएको छ। 

दुई वर्षजति फेसबुक वालमा दैनिक पोस्ट गरे पनि एक दशक भयो मैले सामाजिक सञ्जालमा आफ्ना ताजा कविता पोस्ट नगरेको। कतिपय प्रभाववादी कविहरूलाई त मैले ‘ब्लक’ गर्ने प्राविधिक सुविधाको उपयोग गर्दै टाढा बनाएकी छु। एकदुईजना छन्। जोसँग लामो भावनात्मक सम्बन्ध छ। जसलाई मैले ‘ब्लक’ गरेको छैन, उनीहरूले आफै बुझ्नेछन्। म धोका बिसाउने चौतारी हुँ। चाहे त्यो विश्वका सात अग्ला चुचुरा आरोहण गर्ने कल्पना गर्दा होस् वा सगरमाथा आरोहणको प्रमाणपत्र लिँदा होस्! मेरो जीवनमा धोकाका खात छन्। यस्तै घटनाहरूले मलाई अलोकप्रिय सत्य बोलिरहन ऊर्जा मिल्छ। 

हरेक मान्छेले फेर्ने श्वास र श्वास फेर्ने तरिका एउटै हो। हावा एउटै हो। तर एउटा मान्छेले फेरेको श्वास, उही समयमा अर्को मान्छेले फेर्न सक्दैन। त्यसकारण कविता, कृति दर्शन त त्यसको भाव हरेक समय ‘फुर्न’ सक्छ। तर त्यो जुम्ल्याहा सन्तान जस्तो हुन सक्दैन। अनुभव र अनुभवको अभिव्यक्ति राष्ट्र बैंकले छापेको नोट जस्तो दुरुस्तै हुनै सक्दैन। चिन्तनको गहिराइ र उचाइ एउटै नहुन सक्छ। 

अनुभव एउटै आकारको साँचोमा ढालेर पोलेको इँटा होइन। सबैको अनुभव एउटै आकारको बाकसमा अट्ने वस्तु पनि होइन। यदि यस्तो हुन्छ भने त्यो आफूले आफैलाई छक्याउँदै पाठकहरूलाई पनि छक्याउने दाउ हुनजान्छ। शताब्दियौँदेखिका ज्ञान, दर्शन पढेर शाब्दिक भुलभुलैयाको रचनाव्यूहद्वारा पनि मान्छे अहिले ‘दार्शनिक’, ‘बौद्धिक’, ‘ज्ञानी’का रूपमा प्रकट हुनसक्छ। यति हुँदाहुँदै पनि मान्छेको मौलिकता आफ्नै हुन्छ। इमान्दारीको पराकाष्ठा नाघेपछि मात्र सबै मान्छेमा देखिन्छ आपनो मौलिकता! 

क्षणिक आनन्दमा रमाउने बानीले मान्छेलाई कृत्रिम बनाउँछ। विशुद्ध प्राविधिक!

आजको सामाजिक सञ्जालले यस निम्ति सहज मार्ग प्रशस्त गरिदिएको छ। मान्छेको कल्पनाशीलता साँघुरो हुँदैछ। कम यत्न र छोटो समयमा चर्चा, मानसम्मान, नाम ‘कमाउने’लालसा बढेको छ। ‘बदनाम होऊ, तर नाम कमाऊ’ को मन्त्र जपेर सामाजिक सञ्जालको दुरूपयोग गर्नेहरू के वास्तवमा श्रष्टा नै हुन्? श्रष्टा नै हुन् भने पनि द्रष्टाको बारेमा मनन गरे होलान्? कि द्रष्टा नि हुन्छन् भन्ने थाहा नै छैन?

यो प्रश्नले उत्तरको आशा मात्र होइन, चित्कार गर्दैछ। तर के यो स्थिति आज मात्रै अचानक उत्पन्न भएको हो? हामीले विद्यालयमा पढ्नै पर्ने कृतिहरू सबै मौलिक थिए? वा चोरिएका रचना पढेर हामी स्नातक/स्नातकोत्तर भएका हौँ? हरेक पाठकलाई हरेक नयाँ वा पुराना रचना पढ्ने र सत्यान्वेषण गर्ने फुर्सद नै कहाँ छ र? वा पढ्नै नपाइएका (चर्चामा नआएका) ज्ञान कति छन् भन्ने हेक्का होला? थाहा पाएका पनि सबै बोल्छन् र? 

त्रिभुवन विश्वविद्यालयमा पुराना पाठ्यक्रम खारेज गरेर नयाँनयाँ सामग्रीले प्रवेश पाएको समाचार पढेकी थिएँ। यो संस्थाका एकजना उपकुलपति आफैलाई विद्यावारिधि गर्दा अर्काको मेहनत चोरेर आफ्नो हक दाबी गरेको आरोप लागेको थियो। यसको तार्किक निष्कर्ष नआउँदै उनी सेवानिवृत्त भए। तर ‘सिन्डिकेट’ कायम छ। राजनीतिक र आर्थिक प्रभावमा परेर चोरिएका कृतिहरू पाठ्यक्रममा समावेश भएको आरोप मुखर हुँदैछ। यदि यो आरोपमा सत्यता छ भने कस्तो संस्कारको विकास र कस्तो परम्पराको अभ्यास गर्दैछ अहिलेको समाज? 

ज्ञानको अभ्यास र अनुभव गर्ने क्षमता मान्छेमा सधैँ एकनासको नहुन सक्छ। एउटै वस्तु र स्थितिलाई पनि मान्छेले समय र परिस्थिति अनुसार फरक ढंगले व्याख्या वा आत्मसात गर्न सक्छ। प्रस्तुत गरिएका कुरा ग्रहण गर्ने क्षमता मान्छे अनुसार भिन्न हुनसक्छ। मान्छेको मौलिकता भनेकै सायद यही हो। मान्छेको मस्तिष्कले जे खपत गर्छ, त्यही आपूर्ति गर्ने हो। यसको मापदण्ड उसको लेखनशैली हो। दैनिक जीवनमा उसको स्वभाव हो। मौलिकताहीन स्वभाव अभिनय हो। 

यसै प्रसंगमा म सगरमाथा आरोही भएको कारण एउटा अनुभव जोड्न मन लाग्यो। सगरमाथाको चुचुरो यस्तो ठाउँ हो, जहाँ पुगेपछि मान्छे जे बन्न चाहन्छ, ऊ त्यही बन्न सक्छ, आत्मिक रूपले। त्यो ठाउँ नै त्यस्तै हो। त्यो आत्मिक वा भौतिक उचाइजन्य अवस्थाको पराकाष्ठा हो। समर्पण र साहसको अन्तिम विन्दु हो। भौतिक र आत्मिक सफलताको अगाडि आरोहीहरूले संवेदना गुमाउने सम्भावना उच्च रहन्छ। घमण्ड अहंकारका निम्ति त्यहाँ कुनै ठाउँ हुँदैन। तर त्यो चुचुरोले धेरैको परीक्षा लिएको छ। आरोहीको भौतिक शरीर आधार शिविरमा ओर्लिए पनि घमण्ड र अहंकारले शिखर छोडेन भने सफलता व्यर्थ छ। शिखरले दुईवटा कुरा पक्का महसुस गराउँछ। अहंकार र शालीनता! घमण्ड कि बुद्धत्व! शालीन, भद्र मौन, झन् पहिलेभन्दा सानो अथवा विनयभाव। सगरमाथा जति नै प्रसिद्ध भए पनि आरोही त्यो चुचुरोभन्दा एक अर्थमा पक्कै बलशाली छ। सगरमाथासँग छनोटको सुविधा छैन, आरोहीसँग छ। 

कुनै समय भर्जिनियाका एकजना अग्रजले प्रश्न र आग्रह गर्नुभयो, ‘म त सगरमाथा जान सम्भव छैन, आरोहण गरेर फर्केको मान्छे आगाडि छ। म तिमीलाई तीनपल्ट घुम्छु है?’ उहाँ मेरो वरिपरि घुम्न थाल्नु भयो। म हाँसे मात्र। त्यसपछि उहाँले बडो जटिल प्रश्न गर्नु भयो। ‘हैन, सगरमाथा आरोहण गर्ने सबै तिमी जस्तै ‘इनलाइटन्ड’ हुन्छन्?’

मलाई यो प्रश्नले घोत्लिन बाध्य पार्‍यो। मैले भनेँ, ‘म सबैको जिम्मा लिन त सक्दिनँ।’ अनि उहाँलाई प्रतिप्रश्न गरेँ, ‘के पृथ्वीमा जन्मेको सबै मान्छे ‘इनलाइटन्ड’ हुन्छन्?’ उहाँ ‘हो हो’ भन्दै मरीमरी हाँस्नु भयो। यो प्रसंग निकाल्नुको अर्थ हो, हरेक मान्छे आफ्नै बुझाइ र त्यस अनुरूपको अनुभव सहितको जीव हो। र, त्यो अनुभवलाई उसले कसरी लिन्छ। मान्छे आफू हुर्किएको समाजको प्रतिबिम्ब हो। हरेक मान्छेले आफ्नो परिचय पत्र आफ्नो व्यवहारले प्रस्तुत गर्दछ। अर्काको धारणाजन्य घृणा र प्रेम दुवै क्षणभंगुर हुन्। हामी अभिनयको साक्षी हुँदै गरेको समाजका एक सदस्य मात्रै हौँ। कृत्रिम र सतही! 

छलकपटबाट हासिल गरेको ज्ञान मौकामा काम लाग्दैन। अनुभूत नगरेको भावना कागजका फूल हुन्। शब्द चोर्नु चोर्नु हो, भाव आत्मसात गर्नु हार्दिक उदात्तता हो। तर भावको चोरी पनि त आखिर चोरी नै हो। पानीको मूल फुटेको जमिनलाई खडेरीको डर हुँदैन। किरा परेको बीजले बिरुवा दिँदैन। असल बीजले आफूभित्र जंगल लुकाएको हुन्छ। चोरेर जंगलमा लुक्न मिल्छ, जंगल लुकाउन मिल्दैन। 

(सगरमाथा आरोही जुनिता सुब्बा मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा व्यवसाय गर्छिन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad