हजारौँ मानिसले काठमाडौँको सडकमा ओर्लेर गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतले नेपालको वर्तमान राजनीतिक परिदृश्यको एउटा महत्त्वपूर्ण पक्षलाई उजागर गरेको छ। गहिराइमा विश्लेषण गर्दा निश्चित रूपमा नेपालको राजनीतिक दलहरूको अकर्मण्यता, भ्रष्टाचार र अनैतिक गतिविधिहरूको परिणामस्वरूप यो घटना भएको देखिन्छ। जनता एकपटक राजतन्त्रलाई अस्वीकार गरेर गणतन्त्रमा प्रवेश गरेको भए पनि अहिलेको राजनीतिक अस्थिरता र नेताहरूको व्यवहारले धेरैलाई निराश बनाएको छ।
नेपालका मुख्य राजनीतिक दलहरूले विगत दुई दशकमा मुलुकलाई स्थिरता दिन र जनताको आवश्यकतालाई सम्बोधन गर्न असफल भएको आरोप छ। गणतन्त्र स्थापना भएपछि नेतृत्वले जनताको आकांक्षा पूरा गर्नुपर्ने थियो, तर निरन्तर असफलता र शक्ति संघर्षले राजनीतिक नेतृत्व कमजोर बनेको छ। विकास योजनाहरू कार्यान्वयन गर्ने र जनताको जीवनस्तर सुधार गर्ने दिशामा अपेक्षाअनुसार काम हुन नसक्दा जनतामा निराशा व्याप्त छ।
नेपाली राजनीति विगत केही वर्षयता व्यापक भ्रष्टाचार र अनैतिक कार्यले आक्रान्त छ। सरकारी अधिकारी र नेताहरूले जनताको कल्याणमा भन्दा व्यक्तिगत स्वार्थमा ध्यान दिएर मुलुकको समृद्धिलाई बाधा पुर्याएका छन्। विकासका काममा ढिलाइ, सरकारी स्रोतको दुरूपयोग, र पारदर्शिताको अभावले गर्दा जनतामा सरकारप्रति गहिरो अविश्वास पैदा भएको छ। यही भ्रष्टाचारले गर्दा जनतामा राजनीतिक दलप्रति वितृष्णा बढ्दै गएको देखिन्छ।
नेपाली जनताले आजको राजनीतिमा देखिएको अस्थिरता र अनैतिकताको विकल्प खोजिरहेका छन्। ज्ञानेन्द्र शाहको स्वागत कुनै पार्टी वा विशेष राजनीतिक उद्देश्यभन्दा पनि जनताको असन्तोषको अभिव्यक्ति हो।
केहीले वर्तमान प्रणालीले काम नगरेको र नेताहरूले जनताको समस्यालाई सम्बोधन नगरेको महसुस गरेका छन्। यस्ता परिस्थितिमा उनीहरू आफनो विगततर्फ फर्कने र राजतन्त्रलाई वैकल्पिक व्यवस्थाको रूपमा हेर्ने मनोवृत्तिमा पुगेका छन्। ज्ञानेन्द्र शाहलाई समर्थन गर्नेहरूको विश्वास छ– राजतन्त्रमा बढी स्थिरता र पारदर्शिता थियो, वर्तमानको तुलनामा कम भ्रष्टाचार र दण्डहीनता थियो।
तर के यो सत्य हो त?
नेपालमा राजतन्त्रविरुद्धको तर्क
नेपालको राजतन्त्रलाई लामो समयसम्म मुलुकको राजनीतिक प्रणालीको आधारका रूपमा स्थापित गरियो। तर, समय र परिस्थितिको परिवर्तनसँगै राजतन्त्रको प्रभावकारिता र औचित्यप्रति गम्भीर प्रश्नहरू उठ्यो। आजको युगमा जनता नै सम्पूर्ण सत्ताका स्रोत हुन्। त्यसैले राजतन्त्रको अस्तित्व एक अवरोधकका रूपमा देखापर्यो र नेपालमा गणतन्त्र स्थापना भयो। त्यसपछि पनि ठूला राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन भइसकेको छ।
नेपालले राजतन्त्र उन्मूलन गर्नुपर्ने केही कारणहरू थिए। ती यसप्रकार छन् :
१. निरंकुशता र जनताको अधिकार हनन
नेपालको राजतन्त्र, विशेषगरी शाह वंशको शासनको सम्बन्ध निरंकुशतासँग जोडिएको छ। सयौँ वर्षसम्म नेपालमा राजाहरूले देशलाई चलाए, तर यस अवधिमा आम जनताको हक र अधिकारलाई निरन्तर उपेक्षा गरियो। निरंकुश शासन प्रणालीले राजाहरूलाई सर्वसत्तावादी बनायो, जसले गर्दा उनीहरूमा जनाताप्रति कुनै प्रकारको जवाफदेहिता थिएन। नेपालमा एक समय यस्तो पनि थियो, जब राजा, उनको परिवार र केही निकट शाही व्यक्तिहरूको समूहले देशको सबैभन्दा महत्त्वपूर्ण निर्णयहरू एकलौटी रूपमा गर्थे।
राजा महेन्द्रद्वारा २०१७ सालमा प्रजातान्त्रिक प्रणालीलाई बलपूर्वक हटाएर पञ्चायत लागू गर्नु त्यसको एउटा उदारण हो। यस कदमले प्रजातन्त्रको पक्षमा रहेका सबै आवाजहरूलाई दबायो र देशलाई पुनः निरंकुशतातर्फ फर्कायो। यस प्रकारका घटनाले जनताको सार्वभौम अधिकारलाई लत्याएर व्यक्तिगत र परिवारगत स्वार्थलाई राष्ट्रभन्दा माथि राखेको स्पष्ट देखिन्छ।
२. राजतन्त्रको असमान प्रणाली र विभेद
राजतन्त्रले स्वाभाविक रूपमा वर्गीय असमानताको प्रवर्धन गर्दछ। राजा र शाही परिवार विशेषाधिकारका स्रोत हुन्, उनीहरूको हैसियत वंशीय आधारमा तोकिन्छ। लोकतन्त्रले जनतालाई प्रतिनिधित्व र समता दिन्छ, तर राजतन्त्र भने समानताको विरोधी प्रणाली हो। यो एक यस्तो संरचना हो, जहाँ राज्यसत्ता परिवारभित्रै रहने परम्परा कायम हुन्छ र त्यो योग्यता, क्षमता या जनताको इच्छाबाट निर्देशित हुंदैन।
नेपालजस्तो विविध जाति, भाषा, धर्म, र संस्कृतिले भरिएको समाजमा यस्तो असमानताले थप सामाजिक विभाजनलाई बढावा दिन्छ। राजतन्त्रले जनताबीच विभाजनको सिर्जना गरी एक विशेष वर्गलाई शक्तिको नजिक राखेर बाँकी जनतालाई द्वितीय श्रेणीको नागरिकमा परिणत गर्यो।
३. भ्रष्टाचार र गैरजवाफदेहिता
राजतन्त्रको प्रमुख समस्या भनेको गैरजवाफदेही संरचना हो। निर्वाचित पदाधिकारीहरूले जनताको प्रश्नको सामना गर्नुपर्छ। तर राजा र शाही परिवारले भने कहिल्यै जवाफदेही बन्नुपर्ने दबाब महसुस गरेनन्। यसले गर्दा शाही परिवार र तिनका निकटवर्तीहरूले राष्ट्रका स्रोतहरूको व्यापक दुरूपयोग गर्ने अवसर पाए। गायक प्रवीण गुरुङको हत्याविरुद्घ पारस शाहलाई छानबिनको दायरामा ल्याउन नसक्नु यसको ज्वलन्त उदाहरण हो।
राजा ज्ञानेन्द्रको शासनकालमा यस प्रकारको भ्रष्टाचारको स्पष्ट दृष्टान्त देख्न सकिन्छ। यस्तो गैरजवाफदेहिता लोकतान्त्रिक मूल्यहरूको अपमान हो, जसमा जनताका शासकहरूलाई पारदर्शी र उत्तरदायी बनाउनुपर्छ।
जनता–राजतन्त्र टकराव र जनआन्दोलनको विजय
नेपालको आधुनिक इतिहासले देखाएको छ– नेपाली जनताले राजतन्त्रलाई अस्वीकार गरेका छन्। माओवादी जनयुद्घ र २०६२/६३ सालको जनआन्दोलनले नेपालको राजनीतिक भविष्यलाई परिवर्तन गर्यो, जहाँ लाखौँ नेपाली जनताले सडकमा उत्रिएर राजतन्त्रविरुद्धको आफनो असन्तुष्टि व्यक्त गरे। यस आन्दोलनले नेपाली जनताको दृढ इच्छाशक्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई देखायो।
त्यसपछि नेपालले गणतन्त्र स्थापना गरेर नयाँ युगमा प्रवेश गर्यो। यो विजय नेपाली जनताको हो, जसले शताब्दीयौँको निरंकुश राजतन्त्रलाई अन्त्य गर्यो। यो संघर्ष केवल राजनीतिक परिवर्तनका लागि मात्रै थिएन, यो एक लामो समयदेखि थिचोमिचोमा पारिएका जनताको अधिकार पुनःस्थापनाको लडाइँ थियो।
भविष्यको बाटो : लोकतन्त्रको सुदृढीकरण
गणतन्त्र स्थापनापछि नेपालले धेरै ठूला राजनीतिक परिवर्तनहरू देखेको छ, जसमा संघीय प्रणाली र विभिन्न सामाजिक सुधारहरू समावेश छन्। यद्यपि केही चुनौतीहरू बाँकी छन्। राजतन्त्र फर्काएर ती चुनौतीहरू समाधान गर्न सकिन्न। त्यसका लागि नेपालले भविष्यमा थप स्थिरता र विकासको लागि लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्नुपर्छ, जसमा पारदर्शिता, समानता र समावेशिता प्रमुख आधार हुनुपर्छ।
राजतन्त्रको पुनरागमनले मुलुकको प्रगतिमा ठूलो अवरोध खडा गर्छ, किनकि यो प्रणालीले न जनताको प्रतिनिधित्व गर्छ, न उनीहरूको चाहना पूरा गर्न सक्छ। नेपालको विविध समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्षम, जवाफदेही र पारदर्शी शासन प्रणाली लोकतन्त्र नै हो।
नेपालले शाही शासनको लामो कालखण्ड पार गरिसकेको छ र गणतन्त्र स्थापना भएपछि देशले नयाँ मार्गमा पाइला राखेको छ। आधुनिक नेपालको भविष्यको परिकल्पनामा राजतन्त्रको कुनै स्थान छैन। यदि वर्तमान राजनीतिक दलहरूले जनताका समस्यालाई गम्भीरतापूर्वक लिन सकेनन् र भ्रष्टाचार, अनैतिकता, तथा अकर्मण्यतालाई अन्त्य गर्न आवश्यक कदम चालेनन् भने जनता राजतन्त्रप्रति थप आकर्षित हुने सम्भावना रहन्छ।
तर जनताको सच्चा हित लोकतान्त्रिक प्रणालीमा निहित छ, जहाँ शक्ति जनताको हातमा रहन्छ, न कि शाही सिंहासनमा।
Shares

प्रतिक्रिया