ब्लग


पुरुषको भिडमा ओरेन्ज कोट लगाएर खटिँदै यी एक्ली महिलाले दाबी गरिरहेको ‘स्पेस’

पुरुषको भिडमा ओरेन्ज कोट लगाएर खटिँदै यी एक्ली महिलाले दाबी गरिरहेको ‘स्पेस’

प्रज्ञा ज्ञवाली
फागुन २४, २०८१ शनिबार १८:५९, काठमाडौँ

आज अन्तर्राष्ट्रिय महिला दिवस। बिहानदेखि सबैको सामाजिक सञ्जालमा एउटै नारा छ, ‘जय नारी’, ‘ह्याप्पी वुमन्स डे’, ‘सेलिब्रेटिङ वुमनहुड’ र अनि यस्तै-यस्तै संस्कृतका श्लोकहरू, नारीका गुणगानहरू।  

तर, एकपटक माथिको तस्बिर हेरौँ। देख्नुभयो नारीको प्रतिनिधित्व?

लगभग ८० प्रतिशत महिला विद्यार्थी भएको नेपाल ल क्याम्पसको तस्बिर हो यो। 

तपाईँ–हामीले देख्नु आवश्यक छ, यो प्रतिनिधित्व। 

गएराति (शुक्रबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुनु आवश्यक छ भनी सबै विद्यार्थी संगठन र विद्यार्थी समूह वार्ता गर्न बसेको बैठकको तस्बिर हो यो।

यही चैत ५ गते हुन गइरहेको स्ववियुको निर्वाचनका लागि नेपाल ल क्याम्पसमा गठित निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्न अथक प्रयास गर्दागर्दै पनि विद्यार्थी संगठनहरूबीच भएको असहमतिका परिणामलाई निर्वाचन समितिमाथि असहिष्णु व्यवहार भयो। त्यसप्रति खेद प्रकट गर्दै निर्वाचन समितिका सदस्यहरूले सामूहिक रूपमा फागुन २२ गतेदेखि लागू हुने गरी क्याम्पस प्रमुखसमक्ष राजीनामा बुझाए। 

नेपाल ल क्याम्पसको स्ववियु निर्वाचन प्रयोजनका लागि संगठन दर्ताको रोलक्रमको विषयमा असमझदारी भई संगठन दर्ता पटकपटक सरेको थियो। स्ववियुको समन्वयकारी भूमिकामा क्याम्पसमा स्ववियु पदाधिकारीहरू एवं क्रियाशील विद्यार्थी संघ–संगठनका प्रतिनिधिहरूसँग थप छलफल भयो। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने हेतुले संगठन दर्ताको रोलक्रमको विवाद समाधान गरियो। योसँगै निर्वाचन सम्पन्न हुने आधार तय पनि भयो।

यी शृंखलाबद्ध संवाद, भेला, छलफल, बैठक, बहस र समस्या समाधानका प्रत्येक पहलहरूमा देखिने त्यो ओरेन्ज कोट लगाएर बसेकी एक्ली महिलालाई हामीले नियाल्न आवश्यक छ। उनी को हुन् र यस उपस्थितिको अर्थ के हो भनेर?

को हुन् यी महिला?
सुदूरपश्चिम प्रदेशको अछामले जन्माएकी एक विद्यार्थी नेता हुन् प्रियंका साउद। उनी नेपाल ल क्याम्पसमा एलएलएम दोस्रो सेमेस्टरमा अध्ययनरत छिन्। उनी यसै क्याम्पसमा पाँच वर्षे बीएएलएलबी पूरा गरेर एलएलएम पढ्न थालेकी हुन्।

२०७९ चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा सर्वाधिक लोकप्रिय (६४७) मत ल्याई सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएर पर्सन अफ दि इलेक्सनसमेत भएकी थिइन् उनी। 

अनेरास्ववियुको विदेश विभाग सचिव हुनुका साथै यसभन्दा अगाडि उनी उपत्यका विशेष बागमती प्रदेश कमिटीमा सहसचिव पदमा रहेर पनि काम गरिसकेकी छिन्।

अर्थात्, उनले आफ्नो नेतृत्व क्षमता विभिन्न समिति र मञ्चहरूमा प्रमाणित गरिसकेकी छन्। 

विद्यार्थी नेता प्रियंका साउद

प्रियंकाले खोजिरहेको स्पेस
भनिसकियो, यस क्याम्पसमा ८० प्रतिशत विद्यार्थी महिला छन्। तर, अहिलेसम्म अध्यक्ष र अरू भाइटल पदहरूमा प्रायः पुरूषकै बाहुल्य छ।

तर, प्रियंकाको यस कार्यकारी उपस्थितिले पक्कै यसपालि विशेष स्पेस खोजिरहेको छ। त्यो स्पेस हो, अध्यक्षको। त्यो स्पेस हो, सम्पूर्ण कार्यसमितिको मूल नेतृत्वको। 

उनी महिला भएको कारण कसैले कृपा वा आरक्षणवापत् अध्यक्ष पदको टिकट दिनुपर्छ भन्ने होइन। उनी सुदूरपश्चिम पहाडबाट आएको भनेर पनि होइन।

उनी एक सक्षम र योग्य नेता भएका कारणले त्यो स्पेसको हकदार हुन्। कुनै सह र उप नजोडिकन सिधै अध्यक्ष पदका लागि दाबी गर्ने हक र योग्यता राख्छिन् उनी। 

आज नारी दिवस। धरैले यस दिवसमा सकारात्मक सन्देश दिएको पाइयो। प्रत्येक नेता, दल र सार्वजनिक पदाधिकारीले नारीका लागि यो मुलुक स्वर्ग नै बनाउन चाहेको देखियो। तर, हामी भन्छौँ– हामीलाई बेग्लै स्वर्ग चाहिएको छैन। स्वर्ग–नर्क जे भए पनि पुरुषकै समान भए पुग्छ। जेजस्तो होला, बराबर भोगौँला। सुखदुःख बराबर बाडौँला। निर्माण–विनिर्माणका प्रत्येक प्रयासमा समान इँट थपौँला। बस्, हामीलाई यत्ति चाहियो कि एउटा न्यायपूर्ण स्पेस। अहिलेसम्म पुरुषले चलाउँदै आएको संगठनको नेतृत्वमा महिलाको उपस्थिति। 

समानताको अपेक्षा गर्ने हामी महिलाले पनि एकपटक सोचौँ कि हाम्रो आवाजको सुनुवाइ र प्रतिनिधित्व यी पुरुषहरूले गर्लान् कि एक महिलाले, जो दिनरात महिला सशक्तिकरणका लागि आवाज उठाइरहेकी छिन्?

अनि सोचौँ, हाम्रो नेतृत्व गर्ने अवसर यी महिलालाई दिँदा उत्तम होला कि हामी महिलाको आवाज बन्नेछौँ भन्ने पुरुष नेताहरूलाई?

यी सबै प्रश्नको उत्तर हामीले आफैंलाई दिन जरुरी छ। आज महिला प्रतिनिधित्व उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष पदमा मात्र किन? 
कि हामी हिच्किचाइरहेका हौं, एक महिलालाई नेतृत्व गर्न दिएर उसको मातहतमा रही काम गर्न? 

हिजो हामीसँग महिला नेतृत्वको अभाव थियो होला तर आज एक सक्षम महिला नेता हुँदाहुँदै पनि उसको लागि आवाज किन उठेको छैन? उसलाई नेतृत्वको अवसर प्रदान गर्नुपर्ने आवाज हाम्रो किन छैन?

के हामी तयार छैनौं र नेतृत्व गर्न? के हामी सक्षम छैनौँ यो जिम्मेवारी बहन गर्न? 

हामीले अब नेतृत्व छान्ने समय आएको छ, न कि हाम्रो प्रतिनिधित्वका नाममा उप र सह पदमा सेटल हुने।

तसर्थ, आउँदो स्ववियु चुनावका लागि अध्यक्षको उम्मेदवारमा प्रियंका साउदलाई तपाईँहरू आफ्नै आवाज, हाम्रो आवाज र एक महिलाको बाहुल्य भएको नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष बनाउने सपनाका लागि साथ र सहयोग गरौँ त!

होइन भने फेरि पनि भन्नुपर्ने हुन्छ, मुखले समानता र नारी सहभागिताको कुरा गर्छौँ तर व्यवहारमा एक महिलालाई नेतृत्व गर्न दिएर उसको मातहतमा रही काम गर्न चाहँदैनौँ।

(प्रज्ञा ज्ञवाली स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसकी सदस्य हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad