देशकै दुर्गम जिल्ला बाजुरा। बाजुराको पनि विकट क्षेत्र जुकोटमा जन्म लिइयो। जुकोटबाट विकास हेर्न कोल्टी आयौँ। कोल्टीबाट मार्तडी। त्यसपछि धनगढी, नेपालगन्ज हुँदै काठमाडौँ आउँदा विकासका अनेक बान्की र पहेली देख्यौँ।
कोल्टीमा हवाईजहाज उडेको देख्दा त्यसैलाई विकास भन्यौँ। गोरेटो बाटोलाई खच्चर हिँड्न सक्ने बनाउँदा पनि विकास आयो भनेर हामी कम्ता खुसी भएनौँ। गाउँको विद्यालयमा एकजना आईएस्सी गरेको शिक्षक विज्ञान र गणित पढाउन पाउँदा पनि हाम्रो दर्जा बढेको नै ठान्यौँ। सदरमुकाममा बिजुली बलेको र टेलिभिजनमा हिरो–हिरोइन नाचेको देखेर पनि दंगै पर्यौँ।
सायद हामीले आधुनिक विकासका यी किस्ताहरूसँग साक्षात्कार भइरहँदा दक्षिण कोरिया, सिंगापुर, मलेसिया लगायत मुलुकको अवस्थामा पनि धेरै अन्तर थिएन। कम्तीमा हाम्रा आमाबाहरूको समयमा ती मुलुकको अवस्था र हाम्रो अवश्य तुलनायोग्य थियो।
तर, आज हामी कहाँ? ती मुलुक कहाँ?
सन् १९६० अगाडिसम्म दक्षिण कोरियाको अवस्था विपन्न अफ्रिकी मुलुकजस्तो थियो भनेर पढ्न पाइन्छ। अझ १९७० को दशकसम्म नेपालबाट खाद्यान्न सहयोग प्राप्त गर्थ्यो । अहिले त्यही कोरियाको समृद्धिमा पसिना चुहाएर रोजीरोटी चलाउन पाए कस्तो हुँदो भनेर नेपाली युवा श्रम कार्यालयमा भिड लाग्नुपरेको छ। वर्षौँ कोरियाली भाषा घोक्दै परीक्षा दिएर उडान मिति कुरी बस्नुपरेको छ।
मैले आम नेपाली युवाले जसरी वैदेशिक रोजगारीको सपना देख्नुपरेन। खासमा यो पनि संयोगबाहेक केही होइन। किनभने, नेपालमै धेरै संघसंस्थामा काम गर्दै गएँ। केही समय एयरलाइन्ससँग आबद्ध भएर अनुभव बटुलेँ। समय बित्दै गएपछि करारको जागिरमा स्थायित्व देख्न छाडेँ।
२०६९ माघ १९ गते मध्यमाञ्चलबाट लोक सेवा परीक्षा उत्तीर्ण गरी धादिङलाई कर्मक्षेत्र बनाएर सेवा गर्ने सौभाग्य पाएँ। यसले आम नेपाली युवाले जस्तै मेरो वैदेशिक रोजगारीका नाममा बेहोर्नुपर्ने भुक्तमानको सम्भावित ढोका बन्द गरिदियो।
यसै सिलसिलामा म विगत ६ वर्षदेखि गणेश हिमालको सुन्दर आँगन, सिंगलाको पवित्र भूमि खनियाबास गाउँपालिकालाई कार्यक्षेत्रका रूपमा पाएर हाल सामाजिक विकास शाखाको अधिकृतको जिम्मेवारी सम्हालेर काम गर्दै छु।
गाउँमा काम गर्नुको मज्जा के भने धेरै अग्ला सपना र होचा विपनाको खाडलमा छट्पटिएर बस्नुपर्दैन। सहरमा जस्तो सुविधा र विलासिताका लागि कसैसँग प्रतिस्पर्धा गर्नुपर्दैन। तर, यो मनमा सधैँ नयाँ ठाउँ घुम्ने र नयाँ समाजसँग परिचित हुने लालसा जागिरहन्छ। त्यसैले भ्याएसम्म यात्रामा निस्कन मन लाग्छ।
यात्राको अम्मली भए पनि त्यो नेपाल र भारतसम्मै सीमित थियो। विकसित मुलुकको सम्पन्नता आफ्नै आँखाले हेर्न त कसलाई पो मन हुन्न होला र। तर नेपालीमा कमाएर डलरमा विदेश घुम्ने सपना कम्तीमा हामी शाखा अधिकृतसम्मका कर्मचारीले रुखो कमाइबाट देख्न सक्दैनौँ।
यसपालि नसोचेकै कुरा भयो।
एक साँझ म कार्यरत गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको फोन आयो। उहाँले भन्नुभयो, ‘दुर्गा सर, तपाईं र उपाध्यक्ष सेक्केमान तामाङलाई अक्टोबर ३० देखि नोभेम्बर ३ तारिखसम्म हुने द ट्वान्टी फर्स्ट सेन्चुरी ह्युमन भ्यालुज् फोरम-२०२४ सेमिनारको लागि सिफारिस गरिएको छ। तपाईंसँग राहदानी छ कि छैन? तयार भएर बस्नूस्। अनि यो तालिम दक्षिण कोरियाको पुरातात्विक र ऐतिहासिक सहर आन्दोङ सिटीमा हुन्छ।’
यो खबरपछि मैले पुष्ट्याइँका लागि प्रमुख प्रशासकीय अधिकृत नवराज (श्रेष्ठ) सरलाई फोन गरेर सोधेँ। उहाँले ‘ल बधाइ तपाईंलाई’ भनेपछि म खुसीले गदगद भएँ।
कार्यालयका अन्य साथीहरूले पनि बधाइ दिनुभयो। यो मेरो लागि नित्तान्त नौलो थियो। यो सेमिनारका साथसाथै विदेश भम्रण हुने र अनुभव पनि सँगाल्ने सुअवसर थियो। त्यसैले म थप तयारी गर्ने थालेँ।
केही दिनको तयारीपछि म काठमाडौँ हिँडेँ। परिवार काठमाडौँमै भएकोले ३/४ दिनअगावै कार्यालय प्रमुखसँग बिदा लिएँ। हाम्रो यात्रा नेपालमा तिहार रौनक सुरु हुन थालेका बेला परेको थियो। अर्थात्, कात्तिक १३ गते राति ९:०० बजे हाम्रो यात्राको थालनी हुँदै थियो।
यात्रामा नेपालको प्रतिनिधित्व गर्दै हामी ३ वटा स्थानीय तह विराटनगर महानगरपालिकाबाट मेयर नागेश कोइराला, काठमाडौँ महानगरपालिकाबाट वैदेशिक विभाग प्रमुख बलराम त्रिपाठी र खनियाबास गाउँपालिकाबाट उपाध्यक्ष सेक्केमान तामाङ र म स्वयंले गर्दै थियौँ।
यात्रा सुरू हुने दिन मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै पुग्नु थियो। त्यसैले म सबै तयारीसहित बेलुकाको करिब ५:०० बजेतिर घरबाट प्रस्थान गरेँ।
टिकट अनुसार हाम्रो उडान राति ९:०० बजे हुने भयो। त्यो उडान काठमाडौँदेखि लाहुरेहरूको सहर भनेर चिनिने हङकङसम्मको थियो र यात्रा अवधि करिब ४ घण्टा ३० मिनेट। यात्रामा हाम्रो ३ जनाको टिम थियो, जसमा खनियाबास गाउँपालिकाबाट उपाध्याक्ष सेक्केमान तामाङ र म, अनि काठमाडौँ महानगरपालिकाका वैदेशिक विभाग प्रमुख बलराम त्रिपाठी।
हामी ३ जनाको भेट विमानस्थलमै भयो। एयरपोर्टको हिमालय जाभामा कफी पिएपछि हामी सबैजना टिकट चेकजाँचको लागि अघि बढ्यौँ। एयरपोर्टमा हामीलाई शुभयात्रा भन्नका लागि गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य र परिवारका शुभचिन्तकहरू पुग्नुभएको थियो। केही थान सम्झनाका तस्बिरहरू कैद गरेपछि सुरक्षा जाँचको सबै प्रक्रिया पूरा गरी हामी विमानमा चढ्यौँ र यात्रा सुरू भयो।
करिब ४ घण्टा ३० मिनेटको यात्रापछि क्याथे प्यासिफिकको विमानद्वारा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यौँ।
ओहो, जता हेर्यो, उतै झिलिमिली। अग्लाअग्ला आकाशलाई चुम्लान् झैँ देखिने भवन, समुद्रमाथि मानवनिर्मित विश्वका व्यस्तमध्येको एक हङकङ विमानस्थल देखेरै मन रोमान्चित भयो।
हामी त्यहाँ पुग्दा मध्यरात भइसकेको थियो। स्थानीय समय अनुसार बिहानको ९:०० बजे इन्चोन (दक्षिण कोरिया)को उडान भएकाले आवश्यक सुरक्षा जाँचको सबै प्रक्रिया सकेर बचेको ४ घन्टाको समय हामीले एयरपोर्टभित्र केही घुमेर आराम गर्ने निधो गर्यौँ। विमास्थलभित्र ट्रान्जिट भएर विभिन्न मुलुक जाने, आउने हजारौँ यात्रुको भिडभाड थियो। तैपनि, विमानस्थलभित्रको सरसफाइ, चुस्त सुरक्षा व्यवस्था, अध्यागमनका कर्मचारीहरूको बोली र शालीनताले त मनै जित्यो। अनि हजारौँ यात्रुको व्यवस्थापन पक्ष पनि उस्तै लोभलाग्दो देखिन्थ्यो। हङकङ सहर र विमानस्थलको व्यवस्थापन देखेर नेपालमा नेताहरूले गरेको भाषणको याद आयो।
त्यहाँको रमझम हेर्दै बिहान ८:१५ बजे हाम्रो इन्चोन जाने फ्लाईटको चेकिङ काउन्टर खुल्यो। हामी पनि लामबद्ध भएर आफ्नो पासपोर्ट र बोर्डिङ पास हातमा लिएर लाइनमा समावश भयौँ। तोकिएकै समयमा हाम्रो विमानले हङकङको जमिनलाई छोडेर इन्चोनको यात्रा थाल्यो। करिब ३ घण्टा ३० मिनेटको यात्रापछि हामी इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ।
विमानस्थलमा ओर्लेपछि त्यहाँको अध्यागमनमा चेकजाँचको सबै कानुनी प्रक्रिया सकेर केही थान फोटो खिच्यौँ र हामी तिनैजना आफ्ना लगेजहरू लिएर विमानस्थलबाहिर निस्कियौँ। अनि हामीसँग भएको डलर एक्सचेन्ज गरेर कोरियन ओन साट्यौँ।
विमानस्थलमा कार्यक्रमस्थलसम्म लैजानको लागि आन्दोङ सिटीबाट एकजना कर्मचारी हामीलाई स्वागत गर्न तयार भएर बस्नुभएको थियो। उहाँसँगको परिचयपश्चात् टर्मिनलमा रहेको कफिसपमा केहीबेर पर्खिनुपर्ने भयो। किनकि, इटालीबाट कार्यक्रममा सहभागी हुने २ जना काउन्सिलरको उडान १० मिनेट ढिला भएको रहेछ। आधा घण्टापश्चात् उहाँहरू आइपुगेपछि हामी गाडीमा इन्चोनबाट आन्दोङ सिटीका लागि निस्कियौँ।
जता हेर्यो उतै गगनचुम्बी भवनहरू, सफा, फराकिला र चिल्ला सडक, लेन अनुशासन उस्तै, जतिसुकै लामो जाम भए पनि कोही कसैले हर्न नबजाउने, लस्करै गुड्ने गाडीका ताँतीले सडकको झन् रौकन बढाएको देख्दा लामो हवाइजहाज यात्राको थकाइ र निन्द्रा नै हरायो।
३८७ किलोकिमिटरको यात्रा गरेर कार्यक्रमस्थल पुग्दासम्म कहीँकतै वन फँडानी भएको, प्राकृतिक स्रोतको दोहन भएको देखिएन। त्यसबीचमा झन्डै २३ वटा त सुरुङहरू नै छिचोलियो। खेतीयोग्य जमिनको व्यवस्थित संरक्षण, चिटिक्क परेका बस्तीहरू, सफा बाटो र झिलिमिली बिजुलीले सुनमा सुगन्ध थपेको आभास हुने। गाडी चालकले यात्राको सुरुवात गर्दा भनेझैँ बाटोमा देखिने चिटिक्क परेका बस्तीहरू, हरियाली जंगल, फराकिला सडक र छेउमा ढकमक्क बनाएर सजाएका फूलबारीहरूको तारिफ गर्दै बेलुकाको ठिक ५:०० बजे हामी कार्यक्रमस्थल पुग्यौँ।
झमक्क साँझ परिसकेको, चिसो मौसम, बाहिर चारैतिर बिजुली बत्तीको झिलिमिलीसँगै हामी गाडीबाट ओर्लिनासाथ आन्दोङ सिटीको मेयर केवन गिचाङलगायत अन्य कर्मचारीले पुष्पगुच्छासहित न्यानो स्वागत गर्नुभयो। केही विदेशी पाहुनाहरू हामीभन्दा अगाडि नै कार्यक्रमल पुगिसक्नुभएको थियो भने केही पाहुना पुग्ने क्रम जारी थियो। केहीबेरको स्वागत कार्यक्रमपश्चात् स्थानीय रेस्टुराँमा हामी सबै विदेशी प्रतिनिधिमण्डलका लागि परिचयात्मक कार्यक्रम तथा स्वागतभोजको आयोजना गरिएको रहेछ। कार्यक्रमको विभिन्न स्थानीय तथा राष्ट्रिय टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण भइरहेको थियो।

कार्यक्रमको समापनपश्चात् हामी १३ देशका आगन्तुकलाई २ घण्टा सहरका विभिन्न ऐतिहासिक ठाउँहरू घुमाउने कार्यक्रम रहेछ। त्यही क्रममा नाकदोङ नदीमाथि बनेको नवनिर्मित पुललाई झिलिमिली बत्ती र रंगीन पानीको फोहोराले दुलहीझैँ सिँगारिएको दृश्य मनमोहक थियो।
नगरले संरक्षण गरेका अन्य पुरातात्विक महत्त्वका संरचनाहरू घुमेर रातिको करिब १० बजे हामी बस्ने पाँचतारे रिचेल होटेल पुग्यौँ। बिहान ८:३० बजे होटेलको लबीमा भेट्ने वाचासहित आ-आफ्नो रुमतर्फ लाग्यौँ। बिहान ७:०० कफी र नास्ता खाएर हामी नियमित कार्यतालिकाअनुसार होटेलबाट करिब ३० मिनेटको यात्रापछि कार्यक्रम आयोजना हुने आन्दोङ सिटीको अन्तर्राष्ट्रिय सभा हलमा पुग्यौँ। त्यही दिनदेखि ३ दिने सेमिनार सुरू भयो।
सेमिनारमा १३ वटा देश गरी जम्मा ३५ जनाको सहभागिता थियो। जहाँ नेपाल, न्यु ताइपेई, इटाली, भियतनाम, जापान, इन्डोनेसियालगायत देशका सहभागी हुनुहुन्थ्यो। सेमिनार विषयवस्तु तथा समय तालिकाअनुसार ३ दिनसम्म सञ्चालन भयो, जहाँ नयाँनयाँ कुरा सिक्ने, सिकाउने र अनुभव आदानप्रदान गर्ने सुनौलो मौका थियो। ३ दिनको नियमित कार्यक्रम अनुसार नोभेम्बर २ तारिख बिहान ११:०० बजे पुनः आन्दोङ सिटीका मेयर केवन गिचाङले मायाको चिनोसहित समय मिले कुनै दिन नेपाल घुम्न आउने वाचासहित हामी सबैलाई बिदा गर्नुभयो।
भोलिपल्ट अर्थात् नोभेम्बर ३ मा हामी नेपाल फर्किने टिकट थियो। त्यसैले त्यही दिन न्यानो आतिथ्यका लागि होटेलका म्यानेजर र अन्य सहयोगी कर्मचारीलाई धन्यवाद दिँदै बिदा मागेर इन्चोनका लागि यात्रा तय गरियो।
इन्चोन पुगेर होटेलमा सामान छोडेर हामी ३ भाइ ट्याक्सीमा दक्षिण कोरियाको राजधानी सिओल घुम्न हि हिँड्यौँ। सिओलमा हामीलाई घुमाउन नुवाकोटका प्रिय भाइ रन्जन पाठक अगाडि नै पुगेर कुरिरहेका थिए। रन्जनले भनेको लोकेसनमा नै भेट भएपछि हाम्रो रात्रिकालीन सिओल घुम्ने यात्राको सुरुवात भयो।
सिओल सहरको झिलिमिली, माथि फर्केर हेर्दा टोपी खस्ने अग्लाअग्ला गगनचुम्बी भवन, फुटबल मैदान जत्रा चौडा र फराकिला सडक, जति सडक चौडा छन् त्यति नै चौडा र फराकिला आकासे पुल, सडकको दायाँबायाँ नदेखिएको मान्छेको घुइँचो त जमिनमुनि पो हुने रहेछ।
व्यवस्थित ट्राफिक बत्ती र संकेत चिन्हहरू उस्तै लोभलाग्दो, विश्वको छैटौँ अग्लो लोट्टे टावर, लोट्टे मल, तोङ्डेमुनको दर्शन नमस्ते थकाली भान्सा घरको नेपाली खानाको स्वाद लिँदै रमाइलो कुराकानीका साथ त्यहाँको स्थानीय समय अनुसार रातको १२:०० बजेको पत्तै भएन। भोलिपल्ट बिहानै एयरपोर्ट जानुपर्ने भएकोले रन्जनलाई धन्यवाद भन्दै फेरि मौका मिले भेट्ने वाचासहित हामी ट्याक्सीमा इन्चोन फर्कियौँ।
सिओल र इन्चोनका गल्लीहरू घुम्दै गर्दा त्यहाँको भूगोल देखेपछि ठ्याकै मैले मेरो जन्मस्थल बाजुरा र जुकोट सम्झिएँ। बिहानीपख इन्चोनका सडकमा झरेको तुषारो देखेपछि पुस–माघको खुट्टा ठिहिर्याउँदो तुषारोमा नांगै खुट्टामा दाउरा लिन पारि पातल जाँदाको बालापन सम्झिएँ। बाजुराको जस्तै मिल्दोजुल्दो भूगोल भए पनि कोरियाको भूमिगत रेल गुडेको देखेँ। हाम्रोमा अझै पनि खच्चडले धुलो उडाएर हिँड्दा हेर्नेको ताँती लाग्छ।
सिओलको हाङगाङ नदीमाथि लस्करै देखिने पक्की पुल र पुलमुनि गुड्ने पानीजहाज हेर्दै गर्दा यता कर्णालीको किनारमा रहेका बस्तीसँग अझै वारपार गर्ने गतिलो झोलुंगे पुल नबनेको सम्झिएर मन अमिलो भयो। आन्दोङबाट सिओल फर्किँदा बीच बाटोमा लटरम्म फलेका स्याउ देख्दा जुकोटको जेबाले, जोरु, सैदेओतिर बजार र मूल्य नपाएर यत्तिकै खेर गएका स्याउबारी झलझली आँखा अगाडि आएर जिस्क्याए।
गतिला शासक र इमान्दार कर्मचारी भइदिएको भए बाजुरा र जुकोटको अनि सिंगो देशको मुहार फेरिन्थ्यो होला। कर्णाली, कोसी, नारायणी र गण्डकी नदीमा हाङगाङ नदीमा झैँ पुल बन्थे होलान्। मुनि मोटरबोटको घुइँचो लाग्थ्यो होला।
प्रकृतिले सबै कुरा दिएको छ तर हामीलाई लि क्वान यु, मोहम्मद महाथिर र पार्क चुङ हीजस्ता दूरदृष्टि, इमान र प्रतिबद्धता भएको शासक हामीले पाएनौँ। नत्र मार्तडीदेखि कोल्टी आउने ४ लेनको सडक र चुथीदेखि पाण्डुसेन निस्किने सुरुङमार्ग बन्थ्यो होला। अनि त १० मिनेटमै कोल्टी बजार। आहै कैलेकाहीँ कल्पनामा डुब्दा पनि गज्जबको आनन्द र रमाइलो हुने रहेछ।
बाजुराको विकटता र सिओलको भूगोल उस्तैउस्तै छ तर बाजुरा अझै अशिक्षा, गरिबी र अन्धविश्वासमा रुमल्लिरहँदा सिओलले विकासका नाममा गर्न र देखाउन कुनै चिज नै बाँकी छैनजस्तो लाग्यो। मात्र ३४ वर्षको छोटो अवधिमा विश्वलाई आश्चर्यचकित पार्ने विकासको अनुपम नमूना पेस गरेको छ।
हाम्रो नेतृत्व भने अझै बस्ती नहुने ठाउँमा पुल बनाउन व्यस्त छ। हामी युवाहरू विभिन्न दलका झोला र झण्डा बोकेर कहिले आपसमा लड्दैछौँ, कहिले माइतीघरको दुबो माड्दै छौँ। क्याम्पस र विश्वविद्यालय आफ्नो पार्टीको उपकुलपति नभएवापत् तालाबन्दी गर्न व्यस्त छौँ। १२० तलामाथि बसेर लोट्टे ओल्ड टावरबाट इन्चोन र सिओल निदाल्दा रमाइलोभन्दा बढी आफ्नै माटो र देशको चिन्ताले सताइरह्यो।
नोभेम्बर ३ तारिख। कोरियामा हाम्रो यात्राको अन्तिम दिन। बिहान १०:०० बजे इन्चोन, हङकङ हुँदै काठमाडौँ फर्किने उडान थियो। र, म एक्लै फर्किनु थियो। त्यसैले हामी होटलबाट बिहान ६:३० बजे चेक आउट भएर एयरपोर्टतिर लाग्यौँ।
विमानस्थल पुगेपछि भने एक्लोपनको महसुस नै भएन। नेपाल फर्किने थुप्रै नेपालीसँग भेट भयो। पराईको भूमिमा नेपाली भेट्दा कम्ता खुशी लाग्दोरहेनछ। टिकट चेक गराएर हामी टर्मिनल नं ४१ को गेटतिर हानियौँ।
हाम्रो उडानको समय अझै बाँकी थियो। केही डलर बचेकोले हल्का घुमफिर तथा डिउटी फ्रीमा किनमेल गरियो। उडानको घोषणा भएपछि हामी विमानतर्फ सोहोरियौँ।
करिब ३ घण्टा ३० मिनेटपछि हामी हङकङ विमानस्थल आइपुग्यौँ। हङकङको विमानस्थलबाट त्यहाँको समयअनुसार ३ बजेतिर उडान भयो, नेपालको लागि। करिब ४ घण्टा ३० मिनेटपछि रातिको ८.०० बजे विमानले नेपालको भुईं छोयो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। काठमाडौँको एक दिनको बसाइँपछि थुप्रै काम भएकाले आफ्नै कार्यस्थल खनियाबास गाउँपालिकातिर लागियो।
पहिलो विदेशयात्रामा दुई फरक देशको भूमि टेक्न पाइयो। दक्षिण कोरियाले थोरै समयमा गरेको चामत्कारिक विकास प्रत्यक्ष देख्न पाइयो, जहाँ मानव निर्मित संरचनाहरू निर्माण गरेर नै उनीहरूले वर्षमा करोड पर्यटक भित्र्याउने रहेछन्। हामीसँग समुद्रबाहेक अथाह प्राकृतिक स्रोतहरू हुँदा पनि त्यसको दीर्घकालीन योजना र सही उपयोग गर्न नसकेकामा ग्लानिबोध पनि भयो।
त्यहाँको विकास, देशप्रति नागरिकको माया र कोरियाली जनताको शालीनता र अनुशासन सबै कुराले मन लोभियो। नेतामा दीर्घकालीन सोच र योजना, राष्ट्रसेवक कर्मचारीमा कामप्रतिको निष्ठा र इमानदारिता अनि जनतामा अनुशासन। यी ३ वटा कुराको सम्मिश्रण भयो भने देश बन्न धेरै समय नलाग्ने रहेछ भन्ने कुरा व्यक्तिगतरूपमा महसुस भयो।
र, लाग्दै छ– अहिलेको चेतना र सोच बदल्न सकेनौँ भने भावी पिँढीले हामीलाई धिक्कार्नेछ, सराप्नेछ।
Shares

प्रतिक्रिया