ब्लग


ठेकीको मही छाडेर दोकानको ड्यु!

ठेकीको मही छाडेर दोकानको ड्यु!

शोबिता रिसाल
मंसिर ६, २०८१ बिहिबार ८:५५, काठमाडौँ

असोजको महिना, झिसमिसे साँझ। पहाडको ठाउँ, डाँडाको घर भएकाले हल्का चिसो छ। साबिकको भन्दा अर्कै बाटो घुमेर, अघिपछिको भन्दा दोब्बर समय लगाएर, थाकेर पुगियो। नभए काठमाडौँबाट ओखलढुङ्गाको सुनकोसी गाउँपालिका पुग्न बसमा ७ घण्टा यात्रा गरे पुग्छ। यसपालि दसैँको मुखमा आएको पानी र बाढीले बीपी राजमार्ग बिगारेपछि विकल्पमा हामीले जस्तै खोटाङ, सोलुखुम्बु, भोजपुर र उदयपुरतिरका यात्रुले लामो यात्रा तय गरे। 

दसैँ, दसैँको यात्रा, यात्राका कठिनाइको अब कुरा नगरौँ किनकि जसरी भए पनि यात्रा गरियो, गन्तव्यमा पुगियो, सकियो। गर्न खाजेको कुरा र उठाउन खोजेको विषय अर्कै छ। भनिहालेँ सिरसिरे बतास चलेको छ। जाडो नै भन्न नमिले पनि चिसोचिसो महसुस भयो। झोला बिसाएर टुसुक्क बसेपछि ममीले भन्नुभयो– ड्यु खाने? 

मैले भनेँ, ‘बरु काँक्रो खाने।’ घरमा टिपेर राखेको काँक्रो छ, हरियो (काँचो) पनि पहेँलो (पाकेको) पनि। थाङ्ग्रामा लहरिएको झ्यालमा थपक्कसँग अड्किएर बसेका पहेँला काँक्रा पनि छन्। घरबारीमा नै सुन्तला छन्, अम्बा छन्। गोठमा भैँसी छ, बिहान साँझै बाल्टिनभरि दूध हुन्छ, दही छ, मही छ। तर फलफूल टिपेर पनि नखाने। अनि ठेकीको दही महीको साटो बरू ड्यु खाने यहाँको चलनै जस्तो रहेछ। 

कोही थाकेर पुग्यो भने फलफूल, दही, मही सोध्नभन्दा बरू चिसो खाने भनेर सोधिने रहेछ। भोक लाग्यो होला, ड्यु खाने भनेर सोधिने। खानेले पनि दही, मोहीभन्दा चिसो नै रुचाउने, सोध्नेले पनि उही चिसो नै सोध्ने। खानेलाई पनि खाएजस्तो, दिनेलाई पनि सम्मान गरेजस्तो। 

‘घरमा आका पाहुनापाछालाई चिसो नदिए त हेला गरे जस्तो हुन्छ क्या यता त!’ ममी सुनाउनुहुन्छ।

बाह्रै मास यस्तै चलन, दसैँ तिहारमा त झन् विशेष। 

बाल्यकालपछिका धेरै दसैँ मैले काठमाडौँमै मनाएँ। सानो हुने बेलासम्म हाम्रो तिर (गोरखा) ड्यु, पेप्सी, कोकाकोला, फेन्टाजस्ता पेय पदार्थको चलन थिएन। सायद दशक, डेढ दशक अघिसम्म पनि पहाडी भूभाग कतै पनि यस्ता पेय पदार्थको चलन थिएन होला। गत वर्ष दसैँ मनाउन पहिलोपटक सुनकोसी गाउँपालिका वडा नम्बर–३ सिस्नेरी (श्रीमानको घर) पुग्दा ड्युलाई अत्यावश्यक खाद्यान्न जसरी, संस्कारकै रूपमा जताततै चलन चलाएको देखेर अचम्म लाग्यो। 

खेतबारीमा काम गर्दा होस् कि मेलापर्म गर्दा, गोठालो जाँदा होस् कि फुर्सद निकालेर घरमै बस्दा, चिसो त चाहियो चाहियो। बरु अरू मिष्ठान्न परिकार नभए पनि चल्छ। चिउरा, मासु, अचार, चट्ट मिलाएर खाजा नबनाए पनि हुन्छ, तर चिसो त अनिवार्य! 

मैले यति धेरै ड्यु खाने चलनमा चासो राखेको देखेपछि बुबाले भन्नुभयो– ‘चाडबाडमा त सामान्य नै भयो नि, यहाँ ड्यु नभए मकै गोड्ने खेताला त पाइँदैन!’ 

राज्मा छर्दा होस् कि गोड्दा, मकै छर्दा होस् कि गोड्दा, मकै थन्क्याउँदा होस् कि धान काट्दा चिसो अनिवार्य हो। खाजा जेसुकै होस्, बरू नभए पनि नहोस् तर एकदुईवटा जम्बो ड्युको बोत्तल नखोलेसम्म खेतालाले जाँगर चलाउँदैनन्। पहिलेपहिले जस्तो ठेकीमा दही साँचेर खेतालालाई खुवाउने चलन त ड्युले खाइदियो। 

काठमाडौँ फर्किएपछि साथीहरूसँग सुनाएँ, गाउँमा त दही, मोहीभन्दा चिसो पेय पदार्थको चलन बढेछ। एकजना साथीले सुनाइन्, ‘हाम्रोतिर त दसैँमा टीका लगाउन आउनेले पनि कोसेलीमा ड्युको बोतल ल्याउँछन्। पाहुना जाँदा पनि चियाको साटो त्यही नै दिन्छन्।’ उनको कुरा सुनेपछि लाग्यो, पहाडमा भन्दा तराईमा झन बढी रहेछ क्यारे यसको प्रयोग। 

पहाडका मानिसलाई ड्यु लगायत चिसो पेयपदार्थको लत बसेको मुस्किलले पाँच सात वर्ष भयो होला। ७८ वर्षकी हजुरआमालाई मैले सोधेँ– ‘तपाईंले पहिलोपटक ड्यु कहिले खानुभयो?’ 

हजुरआमा ठ्याक्कै भन्न सक्नुहुन्न, ‘कहिले खाएँ, कहिले खाएँ।’ 

अनि मीठो लागेको थियो? 

‘सुरुमा त मीठो लाग्यो नि जिब्रो पर्पर् पनि गर्‍यो, सरररर.. चिसो आयो मुखमा! कहिल्यै नखाएको चिज खाँदा त मीठै भयो नि,’ उहाँ भन्नुहुन्छ, ‘अहिले त धेरै खायो कि खोकी लाग्छ। जताततै यही खान्छन्, देख्यो खान मन लाग्छ। सबैले ल्याउँछन्, आफूले पनि नल्याइ भएन। पैसाकै सत्यानास झैँ लाग्छ, तर के गर्नु? 

बारीमा, जङ्गलमा, वनपाखामा, खोला, खोल्सीमा जताततै प्लास्टिकका बोतल देखिन्छन्। पाइलापाइलामा भेटिने यस्ता बोतलले गाउँमा बढिरहेको अनावश्यक खाद्यान्न खरिदको दर झल्काउँछ। यसले पर्यावरण त बिगारेको छ नै, गाउँको सुन्दरता पनि खोसेको छ। 

पैसा र स्वास्थ्य दुवै बर्बाद
सुरुसुरुमा रहरजस्तो भए पनि अहिले मानिसहरूलाई यसको लत लागेको छ। नखान चाहे पनि खानै पर्ने बाध्यता जस्तो भएको छ। दसैँमा माछामासु पचाउन भन्दै, तिहारमा सेल र मिठाइ पचाउन पर्‍यो नि भन्दै, सधैँ होइन, कहिलेकाहीँ त खानै पर्‍यो नि भन्दै। कसैको जन्मदिन आए पनि, कसैको खुसीको खबर भए पनि, अलिकति थकाइ लागे पनि, अझ कतिले त रक्सी खानभन्दा त यही ठिक भन्दै पनि खाने चलन आएछ। हुन त के खाने, के नखाने व्यक्तिगत विषय हो भन्न सकिएला। अनि आफ्नै पैसाले किनेर खाँदा पनि केको टाउको दुखाइ भन्ने पनि होलान्। तर पैसा र स्वास्थ्य दुवैसँग जोडिएको भएर यो सार्वजनिक सरोकारको विषय हो। 

स्थानीय युवा अर्जुन बुढाथोकी भन्नुहुन्छ, ‘ड्युभन्दा त घरकै दही, मही, फलफूल राम्रो हो भन्ने धेरैलाई थाहा छ, तर पनि नखाइ बस्न सक्दैनन् मानिसहरू। गाउँका सबैजसोका गोठमा लैनौ, बकेर्नो गाई, भैँसी हुन्छ। दूध, दही, मही टुट्दैन। तर मही खेर फाल्छन् अनि चिसो किनेर खान्छन्।’ 

अरू बेलाको हिसाब छोड्दिने हो र दसैँ, तिहारको मात्रै सरसर्ती हिसाब गर्ने हो भने एउटै गाउँबाट मात्रै चिसो खरिदको नाममा लाखौँ रकम बाहिरिन्छ। किनकि प्रत्येकका भान्छामा ड्युका आठदसवटा बोतल देखिनु सामान्य जस्तै रहेछ। 

गाउँमा सामान्य घुमघाम र कुराकानी गर्दा के देखियो भने चारपाँचजना मात्रै भएको एउटा परिवारमा दसैँको समयमा सरदर सातवटा जति ठूला बोत्तल ड्यु खपत हुने रहेछ। यो दर तिहारमा अझै बढ्ने रहेछ। किनभने तिहारमा उपहार लिनेदिने क्रम पनि बढ्छ। न्यूनतम हिसाबमा हेर्दा पनि दसैँ र तिहारको समयमा मात्रै एउटा परिवारमा सरदर कम्तिमा १२ वटा जति ड्यु खपत हुने रहेछ। एउटा ठूलो बोत्तल ड्यु गाउँसम्म पुग्दा दुई सय ५० रूपैँया पर्ने रहेछ। सबैतिरको छाडौँ, एउटा सानो वडालाई मात्रै आधार लिएर हेरौँ। 

सुनकोसी गाउँपालिका वडा नम्बर ३ मा पाँच सय ५४ घरधुरी छन्। मोटामोटी हिसाब गर्दा पनि एक परिवारले दसैँतिहारमा मात्रै तीन हजारको चिसो पेय पदार्थ खाने रहेछन्। यसअर्थमा एउटा मात्रै वडाले दसैँतिहारमा मात्रै सोह्र लाख ६२ हजार त चिसो पेय पदार्थ (ड्यु, पेप्सी, कोक, फ्यान्टा) खाएर सकाउने रहेछन्। जबसक घरमा उत्पादन भएको मही केही बाख्राको खान्की बन्छ, केही घुर्‍यानमा फालिन्छ। कुराकानीका क्रममा वडा अध्यक्ष गिर्बराज थापामगरले गाउँमा आयातस्त पेय पदार्थ खाने क्रम रोक्न नसकिएको स्वीकार गर्नुभयो। चाडबाडको समयमा यसको किनबेच यति धेरै हुन्छ कि, वडाअध्यक्ष थापा भन्नुहुन्छ– ‘यसलाई रोक्न सकिन्छ कि भनेर कार्यपालिकाको बैठकमा म आफैँले तीनपटक त कुरै उठाइसकेँ, हेरौँ अब केही गर्न सकिन्छ कि!’

यसैगरी नै देशभरिका कति वटा वडामा सर्बत, पानी, दही, महीको साटोमा अस्वस्थकर पेय पदार्थमा पैसा खेर गइरहेको होला? अत्यधिक रूपमा यो पेय पदार्थको कारोबार भएको र स्वास्थ्यमा हानि गरेको भन्दै ओखढुङ्गाको चम्पादेवी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र चिसो पेय पर्दाथको किनबेचमा यसैपालिदेखि प्रतिबन्ध लगाएको छ। 

अध्यक्ष नवराज केसीले भन्नुभयो– ‘मेरो पालिकाभित्र १० वटा वडा छन्, यसको बिक्री सबै वडामा समान स्तरमा त थिएन, तर हिसाब गरी हेर्दा दुईवटा वडाबाट मात्रै वार्षिक दुई करोड रूपैँया यसैमा खर्च हुने रहेछ। पालिकाभरिबाट वार्षिक तीन करोड हाराहारी यसमै खर्च भएको देखँे, त्यसैले यसैवर्षको भदौबाट किनबेचमा रोक लगाइएको हो।’ 

स्कुले केटाकेटीले अभिभावकसँग दिनकै चिसो माग गर्ने, नदिए स्कुलै नजाने, एकैछिनको मीठोमा भुलिएर चिसो ज्यादा खाने, अरू पौष्टिक खानेकुरा कम खाने गर्दा गर्भवती र बालबालिकामा कुपोषण देखिन थालेपछि सरोकारवाला सबैसँग छलफल गरेर गाउँसभाले नै यस्तो निर्णय गरेको केसीको भनाइ छ।  

अहिले देशका सबैजसो ठाउँमा आयातीत रसायनयुक्त पेय पदार्थ फेसन जस्तै बनेको छ। एकैछिनको लागि मुख मीठो भए पनि अत्यधिक खाएपछि त्यसले स्वास्थ्य बिगार्छ। यस्ता पेय पदार्थमा स्थानीय तथा राष्ट्रिय खाद्यान्न तथा स्वाद दुवै छैन। त्यो त छैन छैन, हामीले खर्च गरेको रकम समेत विदेशमा पुग्छ। पैसा तिरेर उल्टै आफ्नो स्वास्थ्य किन बिर्गानु? यो त पैसा खर्च गरेर रोग किने जस्तै होइन र? 

कुराकानीमा पोषणविद् डा. अरुणा उप्रेतीले भन्नुभयो– ‘यस्ता पेय पदार्थले नजानिदो तबरले स्वास्थ्य बिगार्छ, मानिसहरू चिनी चाहिँ नखाने भन्छन् तर चिनी नै चिनी भएको यस्ता पेय पदार्थ खान्छन्, जसले गर्दा कलेजोमा बोसो जम्मा हुँदै जान्छ।’ 

यस्ता पेय पदार्थले आजको भोलि नै रोग निम्त्याउँछ भन्ने होइन, तर सधैँ खाइरहनु भनेको मन्द विष सरह हो, यसले कलेजोमा असर पुर्‍याउँछ, रगतमा चिनीको मात्रा बढाउँछ, जसले गर्दा मुटु र मिर्गौलामा समेत असर पर्दछ। बालबालिको दाँत बिग्रन्छ, क्याल्सियम घटाइदिन्छ जसले गर्दा कुपोषण देखिन सक्छ– डा. उप्रेती भन्नुहुन्छ। मानिसहरू यस्ता पदार्थमा क्यालोरी हुँदैन भनेर खाइरहेका हुन्छन्, तर क्यालोरी हुन्छ। पोषण हुँदैन, फाइदाभन्दा हानि गर्ने भएकाले यस्ता पेय पदार्थका साटो स्थानीय उत्पादन दही, मोही, जुस र सर्वतलाई प्राथमिकतामा राख्न उहाँ सुझाव दिनुहुन्छ। 

पेय पदार्थ किनबेचमा रोक लगाउनेभन्दा पनि यसले स्वास्थ्यमा पार्ने असरबारे प्रशस्त जानकारी दिने गर्नुपर्छ। गाउँका स्थानीय उत्पादनहरूलाई व्यवस्थित र ब्रान्डिङ गर्न सकिन्छ। यसो भए नागरिक सचेत पनि बन्दै जाने, खपत घट्ने, स्वास्थ्य पनि जोगिने, पैसा पनि। हुन त कतिपय पालिकाहरूले यस्ता पेय पदार्थ रोक लगाउन मही, दहीलाई प्राथमिकतामा नराखेका होइनन्। उनीहरूको यो प्रयास अग्रणी छ, प्रशंसायोग्य छ। तर पर्याप्त छैन। फालाफाल हुने महीलाई उपयोग गर्न सके, मौसममा कुहिएर जाने फलफूलको जुस बनाएर राख्न सके, चाडबाड र बेमौसमका बेला काम लाग्छ। 

अहिले सुन्तला, भोगटे, जुनार, कागतीको मौसम छ। यो समयमा कतिका घरमा यस्ता फलफूल फालाफाल हुन्छ, बजारमा मूल्य घट्छ। कम मूल्यमा पनि बेच्नै पर्ने बाध्यतामा किसान हुन्छन्। बर्खामा अम्बा, नासपाती, आरु, आरुबखडा, आँप, लिची, मेवाजस्ता फलफूल त्यसै खेर जान्छन्। यस्ता फलफूल पर्याप्त उत्पादन हुने क्षेत्रभित्रका स्थानीय सरकारले आफ्नो क्षेत्रमा चिस्यान केन्द्र बनाउने, पेलेर जुस बनाउने, स्टोर गरेर राख्नेसम्मको उपाय लगाउन सके सबैलाई फाइदा। 

होइन भने त हामीले उत्पादन गरेका फलफूल, दही मही, मलखादमा कुहिने, हामी चाँही आयातीत हानीकारक पेय पदार्थ खरिद गर्न नछोड्ने हुँदा पैसा र स्वास्थ्य दुवैमा दीर्घकालीन असर पर्नेे निश्चित छ। 

(पन्ध्र वर्षदेखि पत्रकारितामा क्रियाशील शोबिता रिसाल नेपालखबरमा समसामयिक विषयमा लेख्छिन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad